Logo

मुख्य पेसा अझै कृषि तर अधिकांश वस्तु आयात

कुल जनसंख्याको ५७ प्रतिशत कृषिमा आश्रित भएको मुलुकको अधिकांश कृषिउपज आयातमा निर्भर छ । पछिल्ला जनगणनाका तुलनमा कृषिमा आश्रित जनसंख्या कम भए पनि आधाभन्दा धेरै नेपालीको मूल पेसा अझै कृषि नै छ । तर नेपालीका भान्सामा आयातीत कृषिउपजको हिस्सा धेरै हुने गरेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनअनुसार अझै पनि ५७.३ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आश्रित छन् । यो पछिल्लो गणनाका तुलनामा ८.३ प्रतिशतले कम हो । तर यति धेरै जनसंख्या कृषिमा आबद्ध भए पनि मुलुक कृषिमा क्रमशः परनिर्भर बन्दै गएको छ । सेवा र उद्योग क्षेत्रमा आकर्षण बढ्दै गएको तर कृषिमा नाफा कम भएका कारण आबद्धता घट्दै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुख्य खाद्यान्न बालीहरू धान, मकै, गहुँको आयात चुलिएको छ । यो अवधिमा चामलमात्र २६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यस्तै ११ अर्ब तीन करोडको मकै र एक अर्ब २२ करोड रुपैयाँको गहुँ ल्याइएको छ । यस्तै मासुजन्य वस्तु ५९ करोड ३३ लाख र माछा ४९ करोड ४८ लाख रुपैयाँको आयात भएको छ ।

विभागका अनुसार यो वर्ष आलु ६ अर्ब ११ करोड, प्याज चार अर्ब ६६ लाख, गोलभेडा ३८ करोड ८७ लाख रुपैयाँ तिरेर ल्याइएको छ । फलफूलमध्ये केरामात्र ४७ करोड ५४ लाख रुपैयाँको आयात भएको छ । कृषिजन्य वस्तुको आयात यो वर्षमात्र बढेको होइन गत आर्थिक वर्षमा पनि आयातको दर यस्तै थियो ।

विभागका अनुसार गतवर्ष धान/चामल ४५ अर्ब ५७ करोड रुपैयाँको आएको थियो । यस्तै मकै १९ अर्ब ६४ करोड, गहुँ ६ अर्ब ३२ करोड र आलू आठ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात गरिएको थियो । यस्तै केरा एक अर्ब ६३ करोड, प्याज ६ अर्ब ४४ करोड, स्याउ ७ अर्ब १५ करोड तिरेर ल्याइएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा धान/चामल ५० अर्ब ७७ करोडको आएको थियो ।

प्रतिवेदनले कुल जनसंख्याको सबैभन्दा धेरै हिस्सा जुन क्षेत्रमा आश्रित छ त्यही क्षेत्रको विकास पछाडी परेको देखिएको छ । यसले सरकारले आफ्ना नीतिमा परिमार्जन गर्नुपर्ने देखिन्छ । प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ । प्रतिवेदनअनुसार ११० वर्षमा नेपालको जनसंख्या दुई करोड ३५ लाख २५ हजार ८२९ जनाले बढेको छ । यो ०६८ को तुलनामा १०.०८ प्रतिशतले बढी हो ।

पहिलो जनगणना भएको वर्ष १९६८ मा नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७४९ रहेको थियो । यो वर्ष २०७८ मा गरिएको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । ११० वर्षमा जनसंख्या २ करोड ३५ लाख २५ हजार ८२९ जनाले बढेको हो । यसबीचमा सरकारले १२ पटक जनगणना गरेकामा २ पटक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको थियो भने अन्य समयमा वृद्धिदर धनात्मक रहेको थियो ।

सरकारले गरेको जनगणनाअन्तर्गत १९७७ र १९८७ मा जनसंख्या घटेको देखिएको थियो । २०२८ को जनगणनामा नेपालको जनसंख्या एक करोड पुगेको हो । २०२८ मा जनसंख्या एक करोड १५ लाख पुगेको थियो । तथ्यांक कार्यालयका अनुसार अहिलेसम्म कुनै पनि वर्ष जनसंख्या वृद्धिदर तीन प्रतिशत पुगेको छैन । २०२८ पछि जनसंख्या थपिनेक्रम केही बढेको थियो ।

यसअघि प्रत्येक १० वर्षमा थपिने जनसंख्या करिब २० लाख थियो भने २०२८ पछि एकै पटक करिब ३५ लाख जनसंख्या थपिएको देखिएको छ । सबैभन्दा बढी २०४८ को जनगणनामा ४६ लाख जनसंख्या थपिएको थियो । प्रतिवेदनअनुसार पुरुषभन्दा महिलाको संख्या करिब डेढ प्रतिशतले बढी छ । पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ पुगेको छ ।

यस्तै अन्य लिंगीको संख्या दुई हजार ९२८ छ । जनगणनाले नेपाली समाज पनि विदेशी मुलुकमा जस्तै एकल परिवारमा बस्न चाहेको देखाएको छ । देशभरमा परिवार संख्या ६६ लाख ६६ हजार ९३७ छ । आवासीय घर भने कुल ६६ लाख ६० हजार ८४१ रहेको छ । सबैभन्दा धेरै जनसंख्या काठमाडौंको २० लाख ४१ हजार ५८७ छ । सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा छ ।

कार्यालयका अनुसार हिमाल पहाड र तराइमध्ये हिमाली क्षेत्रको जनसंख्या १७ लाख ७२ हजार ९४८ मात्र छ । यस्तै पहाडको एक करोड १७ लाख ५७ हजार ६२४ र तराईको जनसंख्या एक करोड ५६ लाख ३४ हजार ६ पुगेको छ । प्रदेशअनुसार कोसीमा ४९ लाख ६१ हजार ४१२, मधेसको ६१ लाख १४ हजार ६ सय, बागमतीमा ६१ लाख १६ हजार आठ सय ६६, गण्डकीमा २४ लाख ६६ हजार ४२७, लुम्बिनीमा ५१ लाख २२ हजार ७८, कर्णालीमा १६ लाख ८८ हजार ४१२ र सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या पुगेको छ ।

कार्यालयका अनुसार ९२.२ प्रतिशत परिवारमा बिजुली पुगेको छ भने मोबाइल फोन हुने परिवारको संख्या ७३ प्रतिशत पुगेको छ । यस्तै मोटरसाइकल हुने परिवार २७, शौचालय प्रयोग गर्ने परिवार ९५.५ प्रतिशत पुगेको छ । यस्तै पाँच वर्ष वा सोभन्दा बढी उमेरका जनसंख्यामा साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । यसमध्ये पुरुष८३.६ र महिला ६९.४ प्रतिशत साक्षर छन् ।

कार्यालयको तथ्यांकअनुसार अहिले विदेशमा बस्ने नेपालीको संख्या २१ लाख ९० हजार ५९२ रहेको छ । यो कुल जनसंख्याको ७. ५१ प्रतिशत हो । यस्तै विगत १० वर्षमा विदेश जानेको संख्या एक लाख ७० हजारले बढेको छ । पछिल्लो १० वर्षमा निजी सवारीसाधन प्रयोग गर्ने घरधुरीको संख्या बढेको छ । आफ्नै कार/जिप/भ्यान हुने घरको हिस्सा ३.१ प्रतिशत पुगेको छ ।

यस्तै, २७.२६ प्रतिशतले मोटरसाइकल र सबैभन्दा बढी ३५.२४ प्रतिशतले साइकल प्रयोग गर्ने गरेका छन् । ३.९ प्रतिशत घरधुरीमा कुनै पनि साधन छैनन् । यस्तै मोबाइल प्रयोगकर्ताको संख्या ७३.२ प्रतिशत पुगेको छ । जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको छ । तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ छ ।

मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबर जनघनत्व रहेकोमा काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार १६९ बराबरको छ । सरकारले स्वच्छ ऊर्जाको विकास र विस्तारमा जोड दिएको भए पनि खाना पकाउनका लागि अझै पनि परम्परागत ऊर्जामा निर्धर रहने जनसंख्याको हिस्सा ठूलो छ । देशका कुल परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन काठदाउरा प्रयोग गर्ने गरेका छन् ।

खान पकाउन एलपी ग्यासका प्रयोग गर्नेहरू ४४ दशमलव तीन प्रतिशत बराबर छन् । बिजुलीको प्रयोग गर्ने शून्य दशमलव पाँच, गुइँठा प्रयोग गर्ने दुई दशमलव नौ, बायोग्यास प्रयोग गर्ने एक दशमलव दुई, मट्टीतेल प्रयोग गर्ने शून्य दशमलव शून्य पाँच र अन्य इन्धनको प्रयोग गर्नेहरू शून्य दशमलव एक प्रतिशत बराबर छ । सबै घरपरिवारमा बिजुली पु¥याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । कुल ९२ दशमलव दुई प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुली पुगेको छ ।

कार्यालयका अनुसार घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा छ । कर्णाली प्रदेश घरेलु उद्योगमा समेत कमजोर अवस्थामा छ । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार ९.४ प्रतिशत छ । साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग एक लाख ३७ हजार ६४४ बराबर छ । व्यापार व्यवसायमा तीन लाख १० हजार ६५१, यातायातमा ३४ हजार ६५६, सेवा क्षेत्रमा ६९ हजार १७७ र अन्य व्यवसायमा ७५ हजार ५५९ बराबर छ ।

साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत छन् । यस्तै थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा आठ दशमलव एक प्रतिशत, अन्य सेवामा तीन दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादनमा तीन दशमलव आठ प्रतिशत जनसंख्या संलग्न छन् । दश वर्ष वा सोभन्दा बढी उमेर समूहमा आर्थिक लाभ हुने गरी काम नगर्ने ४६.नौ प्रतिशत छन् । यसमध्ये विद्यार्थी धेरै देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्