Logo

८५ प्रतिशत योजना सम्झौता

पूर्वाधार विकास कार्यालय स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । आर्थिक वर्ष २०७९/०८० का २ सय ६८ योजनामध्ये २ सय २५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो । चालू आर्थिक वर्षका लागि संघीय र प्रदेश सरकारबाट २ सय ६८ योजना निर्माण गर्न एक अर्ब ३१ करोड ८४ लाख ३८ हजार विनियोजन भएको थियो ।

५५ योजना सम्पन्न गरेर विनियोजित रकमबाट कार्यालयले ४२ करोड ७६ लाख ७९ हजार ९ सय १७ रुपैयाँ भुक्तानी गरिसकेको छ । “योजना निर्माण गर्न विनियोजित कुल बजेटमध्ये हालसम्म ३२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएका छौं,” कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले भने, “कुल योजनामध्ये सम्झौता हुन ४३ योजनालाई तत्काल सम्झौता गरी निर्माण कार्य थालनी गर्न लागेका छौं ।”

करिब एक महिनाको अवधिमा बाँकी १ सय ५० योजना निर्माण सम्पन्न गरी पुँजीगत खर्चलाई ६० प्रतिशत पुर्‍याउने कार्यालयले लक्ष्य लिएको छ । योजना सम्झौतामा ढिलाइ, महंगीलगायतका कारणले समयमै पुँजीगत खर्च गर्न नसके पनि वार्षिक लक्ष्यअनुसार योजनाका काम सुरु भएको कार्यालयले जनाएको छ ।

सम्झौता भएका योजनाको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । पूर्वाधारतर्फ सडक, पुल, भवन तथा अन्य योजनालाई वार्षिक लक्ष्यअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको निमित्त प्रमुख अर्यालले बताए । कार्यालयको वार्षिक लक्ष्यअनुसार पुँजीगत खर्च गरिने अर्यालले दाबी गरे ।

आर्थिक वर्ष २०७९/०८० का लागि २ करोड ११ लाख ६२ हजार विनियोजित चालू खर्चमध्ये कार्यालयले ७८ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालू खर्चतर्फ ३७ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा पूर्वाधार कार्यालयको तयारी राम्रो रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । हालसम्म ३२ प्रतिशत र करिब एक महिनाभित्र झण्डै ६० प्रतिशत पुर्‍याउने लक्ष्यलाई राम्रो भन्न सकिने कोलेनिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्