Logo

५० किलोवाट बिजुली उत्पादन, उज्यालो गाउँ घोषणा

तिलाको पोखरीमा ३ करोडको सौर्य ऊर्जा

तिला गाउँपालिका–७ निवासी ५२ वर्षीय धर्मबहादुर रोकायाको पाँच दशक दियालो बालेरै बिते । उनको रातको सहारा भनेकै दाउराको झरो र टुकी नै हो । सल्लाको दियालो बालेर पाँच दशक काटेका रोकाया सौर्य ऊर्जाले गाउँ झिलीमिली भएपछि दंग छन् । गाउँमा बिजुली आउला, दियालो बाल्ने सास्तीबाट मुक्ति पाइएला भन्ने कल्पनासमेत नगरेका रोकाया आजभोलि चौबिसै घण्टा सौर्य ऊर्जाको बत्ती बाल्छन् र अध्याँरो गाउँ उज्यालिएपछि उनी निकै उत्साहित छन् ।

त्यस्तै पोखरी गाउँकै दलबहादुर रोकायाका दिन पनि सल्लाको झरो काट्दै रातहरू दियालो बाल्दै बित्थे । छोरा छोरीलाई दियालोकै सहारामा पठन पाठन गराउनु पर्ने बाध्यता थियो । उज्यालो भनेकै काठको दियालो र टुकी सम्झिने दलबहादुर सौर्य ऊर्जाले गाउँ धपक्क बलेपछि निकै खुसी छन् । विगतलाई सम्झिँदै छोरा नातिले दियालोको सहारा लिनु नपर्ने र आफूले उज्यालो देख्न पाएकोमा उत्साहित छन् ।

दलबहादुर र धर्मबहादुर जस्तै दुर्गम पोखरी शनिबार ‘उज्यालो पोखरीगाउँ घोषणा’ भएपछि त्यहाँका करिब १ सय १० घरधुरीका नागरिक खुसी भएका छन् । पोखरीको एक विद्यालय, स्वास्थ्य संस्थासँगै सिंगो पोखरी गाउँमात्र उज्यालो भएको छैन, दुर्गम पोखरीबासीको मनसमेत उज्यालिएको छ ।

“सल्लाको दियालोको भरमा अन्धकार रात काटिन्थ्यो, उज्यालो भनेकै दियालो लाग्थ्यो । बत्ती आउला भन्ने कल्पना पनि थिएन । स्थानीय ऐनबहादुर रोकाया भन्छन्, “गाउँ सौर्य ऊर्जाले झिलिमिली भएपछि कल्पना बाहिरको कुरा पूरा भयो । घरघरमा इलोक्ट्रोनिक सामान प्रयोग भएका छन् । ढुंगा काट्ने ४/५ मेसिन चलेका छन् । विद्यार्थीको पठन पाठनमा सहज भएको छ । वृद्धवृद्धाले दियालोको धुँवाबाट मुक्ति पाएका छन् । गाउँमा बत्ती बलेपछि सबैको मुहारमा खुसी छाएको छ ।”

चाँडै गाउँमा कुटानी पिसानी मिल सञ्चालन गर्ने समेत तयारी भइरहेको छ । जलविद्युत निकाल्ने स्रोत र सम्भावना थिएन । थोरै पैसा हुनेले सोलार किनेर बत्ती बाल्थे । विपन्न नागरिकको भरपर्दो उज्यालो दियालो थियो । तर अहिले गाउँमा बत्ती पुगेपछि मोबाइल चार्ज गर्न, टिभी हेर्न, इन्टरनेट चलाउनलगायत विद्युतीय सामग्री प्रयोग गर्न सहज भएको स्थानीय ऐनबहादुर रोकायाको भनाइ छ ।

३ करोड लगानीमा ५० किलोबाट बत्ती

दुर्गम पोखरी गाउँमा तीन करोड एक लाख लगानीमा ५० किलोवाट क्षामताको सौर्य ऊर्जा जडान भएको हो । कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा जुम्लाका सांसद नरेश भण्डारीको पहल र तिला गाउँपालिकाको समन्वयमा ५० किलोवाटको सौर्य ऊर्जा जडान भएको हो । जिल्लाकै ठूलो क्षामताको सौर्य ऊर्जाले पोखरी गाउँका नागरिकलाई राहत मात्र भएको छैन । बत्ती पुगैसँगै व्यवसाय, उद्यमशीलतामा जुट्ने आँटसमेत आएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

उनले भने, “गाउँपालिकाको ३० लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको दुई करोड ७१ लाख सहयोग गरी कुल तीन करोड एक लाखमा ५० किलोवाट सौर्य ऊर्जा जडान भएको हो । पोखरीगाउँमा पर्याप्त विद्युत छ । अब पालिकाले स्थानीयलाई विद्युतीय चुलो दिने तयारी गर्नेछ ।” उक्त सौर्य ऊर्जा जडानको ठेक्का गोर्खा कस्मेटिक कम्पनीले लिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको अथक पहल र संघर्ष पश्चात दुर्गम पोखरी गाउँमा सौर्य ऊर्जा जडानका लागि दुई करोड ७१ लाख लगानी जुटेको पूर्वमन्त्री नरेश भण्डारीले बताए ।

शनिबार सौर्य ऊर्जाको उद्घाटन तथा उज्यालो पोखरी गाउँ घोषणापछि पछि बोल्दै उनले भने, “द्वन्द्वको उद्गमस्थल पोखरीको विकासमा सौर्य ऊर्जा कोशेढुंगा सावित हुनेछ । गाउँमै साना उद्योग स्थापना गर्न सहज हुनेछ । विद्युतलाई रोजगारी सृजना नागरिकको जीविकोपार्जन सुधारमा रूपान्तरण गर्न पालिकाले ठोस नीति लिन आवश्यक छ ।”

नेता भण्डारीकै पहलमा गुठिचौरको गोठीगाउँमा पनि सौर्य ऊर्जा जडान भएको छ भने ९ सय ९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा छ । दियालोको घरमा अध्ययन गर्ने विद्यार्थी र अन्धकारमा अध्यापन गराउने शिक्षक सबैभन्दा खुसी छन् । विद्यालयमा पनि विद्युतको लाइन जोडिएको छ । अब विद्यालयमा पालिकाले सहयोग गरेमा कम्प्युटर कक्षासमेत सञ्चालन हुनेछन् भने दियालोको धुँवाले दमका बिरामी हुने पोखरीबासीले अब सुविस्था पाउने आशा छ ।

जुम्लामा राष्ट्रिय प्रशारण लाइनको बत्ती अझै भरपर्दो छैन । दूरी टाढा र भौगोलिक विकटताका कारण बत्ती आउने जाने समस्या उस्तै छ । त्यसैले दुर्गम गाउँमा उत्पादन भएको सौर्य ऊर्जाले स्थानीय उत्पादनको बजारीकरणदेखि स्थानीयको आयस्तरमामा समेत वृद्धि गर्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस्