त्रिशुलीमा चैत दोश्रो सातादेखि प्याराग्लाईडिङ

प्रकृति र संस्कृतिको धनि नेपालका धेरै क्षेत्रमा सम्भावना हुँदा हुँदै लगानी अभावले धेरै क्षेत्र अझै ओझेलमा परेका छन् । त्यो मध्यको एक हो त्रिशुली नदी । प्रकृतिले दिएको अथाह सम्भावना भएको त्रिशुली नदी (दासढुंगा, कविलास) र चितवन भरतपुर महानगरपालिका २९ को प्याराग्लाइडिङ उडान गर्ने चौकीडाँडा क्षेत्रको अब भने प्रचार प्रसार मात्र नभइ त्यस ठाँउमा हावामा कावा खाँदै आकाशमा साहसिक खेल प्याराग्लाईडिङदेखि जलमा हुने मोटरवोट र जमिनमा हुने एटिभि (चार पाङग्रे सवारी) को खेल गतिविधि हुने भएको छ ।
अकाश, जल र जमिनमा एकै थलोबाट आन्तरिक तथा बाह्य पर्यटकको आकषर्णको केन्द्र बनाउने लक्ष्यसहित यति बेला हिमालयन फन्टियर्स कम्पनी लागि रहेको छ । साहसिक खेल प्याराग्लाईडिङमा लामो समय काम गर्दै आएका सैलेन्द्र राउतसहितको १० जना युवा एवं उद्योगी व्यवसायीको करिब एक करोड ५० लाखको उक्त परियोजनामा रिसोर्टसमेत सञ्चालन गर्ने दीर्घकालीन तथा योजना रहेको बताएका छन् ।
कम्पनीले पहिलो चरणमा आगामी चैत १५ देखि व्यावसायिक रुपमा प्याराग्लाईडिङ (टेण्डम फ्लाइट) गर्ने भएको छ भने आगामी दसैैं तिहारको अवसरमा भने सहासिक खेल एटिभि (चार पाङग्रे सवारी) र मोटरवोट सञ्चालनमा ल्याउने तयारी गरेको राउतले बताए । आगामी दुई वर्षभित्र कम्पनीले रिसोर्टसहित बन्जी तथा वाकिङ स्थलको समेत परिकल्पना गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक भलाइको मात्र सोच बनाएको छैन ।
समग्र चितवन भरतपुर महानगरपालिका २९ क्षेत्रको बृहत विकास गराउने उद्देश्य अनुरुप मूर्ति स्थापनाको समेत परिकल्पना गरेको जनाएको छ । धार्मिक पर्यटक र साहसिक पर्यटकको संगमस्थल बनाउने उद्देश्यले आफूहरुले मुख्य राजमार्गदेखि नजिकको क्षेत्रलाई पहिचान गरी ठूलो लगानी गर्न लागेको राउतले बताए । पूर्व, पश्चिम, पोखरा, सौराह, काठमाडौं, लुम्बिनी, भैरहवालगायतका क्षेत्रबाट सवारी साधनहरु आवाज जावत गर्ने मुख्य राजमार्ग नजिक भएकाले साहासिक पर्यटकको भने खासै कमी नहुने राउतले जनाए ।
विभिन्न पहाडी क्षेत्रका डाँडा र शहर क्षेत्रमा प्याराग्लाईडिङ हुँदै आए पनि अब भने त्रिशुली नदी माथिको आकाशमा समेत प्याराग्लाईडिङ गर्न पाइने भएको छ । हिमालय फन्टियर्स प्याराग्लाईडिङ कम्पनीले विगत केही वर्षदेखि पोखरा क्षेत्रमा व्यावसायिक प्याराग्लाईडिङ गर्दै आएको भए पनि थप सेवा तथा शाखा बिस्तारको क्रममा उक्त क्षेत्रमा प्याराग्लाईडिङ गर्ने अनुमति प्राप्त गरेसँगै चैत १५ गतेदेखि भने व्यावसायिक (टेण्डम) उडान गर्ने भएको हो ।
त्रिशुली नदी क्षेत्रमा विष्णु कार्की, सागर जलारीलगायतका राष्ट्रिय खेलाडीले उडानको सफल परीक्षण गरेका थिए । प्रधान कार्यालय पोखरा रहने गरी आफ्नो शाखाको रुपमा त्रिशुलीमा उक्त कार्यालय रहे पनि कम्पनीले पोखरामा ६ र त्रिशुली नदी क्षेत्रमा १० प्याराग्लाईडिङ पाइलटको समेत अनुमति प्राप्त गरेको राउतले बताए ।
विगत एक वर्षदेखि उक्त क्षेत्रमा प्याराग्लाईडिङको सम्भावना देखेर परीक्षण उडानदेखि आवश्यक तयारी गरिएको उनले जनाए । केही समय पछि उक्त क्षेत्रबाटै आकाश, जल र जमिनमा खेल्न मिल्ने साहासिक तीन खेलको त्रिवेणीको रुपमा विकास गर्न खोजेको सञ्चालक राउतले बताए । समुद्री सतहदेखि १ हजार ८० मिटरको उचाइमा रहेको चितवन भरतपुर महानगरपालिका २९ को प्याराग्लाइडिङ उडान गर्ने चौकीडाँडाबाट करिब ६ किलोमटिर तल्लो भेग त्रिशुली नदी किनारामा पर्दछ ।
हाल पोखरामा प्याराग्लाईडिङ गरेको प्रतिव्यक्ति ८ हजार रुपैयाँ तिर्नुपर्छ भने त्रिशुली क्षेत्रमा प्याराग्लाईडिङ गर्दा भने करिब ६ हजार तिरे पुग्छ । सौराह आउने पर्यटकका लागि र पूर्व, पश्चिम तथा चितवन पोखरा, चितवन काठमाडौं जाने सडकखण्ड चितवन मुग्लिङ सडकखण्डको राजमार्गमा पर्ने भएकाले साहसिक पर्यटकको राम्रो गन्तव्य हुने राउतले विश्वास लिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चौकीडाँडादेखि एक नटिकल माइल (१.८५ किलोमिटर रेडिएस) मा प्याराग्लाईडिङ गर्न कम्पनीलाई अनुमति दिएको छ । कम्पनीले उक्त प्याराग्लाईडिङ गर्दा सुरक्षा र सेफ्टीको हिसावले त्रिशुली नदी किनारा र हरियो वन जंगल भएकाले त्यसलाई उचित ढंगले प्रयोग गर्ने भएको छ । प्याराग्लाईडिङको सुरक्षाको दृष्टिले जलाशययुक्त ताल तलैया, नदी किनार र हरियो घना जंगल हुनु स्वभाविक रुपमा राम्रो मानिने गरेको प्याराग्लनाईडिङ पाइलटहरुको भनाइ छ ।