पर्यटकको रोजाइमा ‘अर्गानिक खान्की’

उत्पादन घट्दै गएको जुम्ली रैथाने बालीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्ली रैथाने अन्नबाली परेको हो । माग बढ्दो भए पनि आपूर्ति न्यून छ ।
उत्पादन वर्षेनी घट्दै गएको छ । खेतीयोग्य जमिन बाझिने क्रम बढ्दो छ । युवा पलायन रोक्ने सरकारको ठोस नीति छैन । जसका कारण उत्पादन वर्षेनी घट्दो । यद्यपि जुम्ली रैथाने उत्पादनको माग भने थेगी नसक्नु छ । जुम्लास्थित चन्दननाथ मिनी मार्केटले दुई वर्षमा झण्डै एक करोड १५ लाख बढीको जुम्ली रैथाने अन्नबाली बिक्री गरेको छ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीबाट सञ्चालित मिनी मार्केटले एक वर्षमा एक करोड १५ लाख १० हजारको रैथाने अन्न मार्सी चामल, सिमी, चिनो, कागुनो, फापर, स्याउका चाना, महलगायतका विभिन्न वस्तु निर्यात भएको मिनी मार्केटका इन्चार्ज इश्वरीनन्द उपाध्यायले बताए । उनले भने, “रैथाने वस्तुको माग थेगी नसक्नु छ । सिजनमा एकै दिनमा डेढ लाख बढीको सामान बिक्छ । फाटफुट प्रतिदिन ५० देखि ६० हजारको सामान बिक्री भइरहेको छ ।”
मिनी मार्केट सञ्चालन गर्दा एक करोड ९५ लाख ६ हजार ५ सय ६० रुपैयाँको रैथाने अन्न खरिद गरिएकोमा हालसम्म एक करोड १५ लाख १० हजारको सामान बिक्री भएको हो । मिनी मार्केटमा अब ८० लाख ४२ हजारको सामग्री मौज्दात छ । बजारको भन्दा प्रत्येक वस्तुमा पाँचदेखि १० रुपैयाँ छुट दिने गरेका छाैं ।
जुम्लामै लेबलिङ प्याकेजिङ गरेर बिक्री हुन्छ भने अर्डरअनुसार सुर्खेत नेपालगन्ज, काठमाडाैं, विराटनगर, बुटवल धनगढीलगायतका सहरमा निर्यात हुँदै आएको चन्दननाथ सहकारीका प्रबन्धक रिसिराम पाण्डेले बताए । उनका अनुसार हालसम्म ३५ लाखको खरायोको टोपीमात्रै बिक्री भइसकेको छ । खरायो पालनमा वृद्धि नहुँदा मागअनुसार टोपी पु¥याउन नसकेको उनको भनाइ छ ।
२० लाखको सिमी, १० लाखको स्याउको चाना, १२ लाखको मार्सी चामल, घोडो मच्चो (अर्गानिक चिया) घ्यू, मह, फापरको पिठोलगायत अन्यवस्तु बिक्री भएको छ । मिनी मार्केटमा चन्दननाथ बहुउद्देश्यीय सहकारीका सदस्यले उत्पादन गरेको रैथाने अन्न खरिद गर्ने गरिएको छ । पहिला गाउँ गाउँमा पुगेर रैथाने अन्न खोज्नु पथ्र्याे ।
चन्दननाथ सहकारीका प्रबन्धक पाण्डे भन्छन्, “सुरुमा गाउँ पुग्थ्याैं, पछि सहकारीका सदस्यले मार्केटमै ल्याउन थाले । अहिले अर्डर दैनिक ८० जना किसानले रैथाने वस्तुअनुसार ल्याउँछन् भने आफ्नो आवश्यकताअनुसार पैसा लिने र बाँकी मिनी मार्केटमै बचत गर्छन् । मिनी मार्केट सञ्चालनपछि सहकारीका सदस्यहरू कृषिमा आकर्षित भएका छन् कृषि ऋण पनि दिएका छौं ।”
स्थानीय तहका कार्यक्रम उत्पादनमुखी केन्द्रित नहुँदा निर्यात प्रवर्द्धनमा समस्या भएको छ । प्रशोधन उद्योग सञ्चालनसँगै जुम्ली रैथाने अन्नबाली उत्पादन वृद्धि गर्ने र कृषिमा युवा आकर्षित गर्ने नीति ल्याएको खण्डमा जुम्ला कृषिबाटै समृद्ध हुने प्रशस्त सम्भावना रहेको वरिष्ठ किसान रामकृष्ण बुढथापाले बताए ।
उनले भने, “ठोस नीतिकै अभावले मार्सी फल्ने फाँटमा खण्डीकरण बढेको छ । मनपरि घरजग्गा कारोबार उस्तै बढेको छ । खेतीयोग्य जमिन मासिँदै जाँदा रोक्न स्थानीय तह मौन छ । कृषिमा प्राथमिकता र किसानलाई प्रोत्साहन तथा उत्पादनका आधारमा अनुदान छैन । जसका कारण रैथाने अन्न उत्पादन घट्दै गएको छ ।”
चारवर्ष यता उत्पादन घट्दै
कर्णाली समृद्धिको प्रमुख आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने अधिकतम सम्भावना छ । उत्पादन बढाउने नीति र उत्पादित वस्तुको बजारको अभावले कर्णालीका खाद्यान्न बाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५÷६ महिना नपुग्ने कर्णाली आयातकै भरमा निर्भर छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा जुम्लामा साढे १५ हजार मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । विगतको वर्षभन्दा तीन हजार मेट्रिकटन उत्पादन बढे पनि चार वर्षयता जुम्लाको रैथाने खाद्यान्न बाली उत्पादन घट्दै गएको छ । जुम्लामा गत वर्ष भएको बेमौसमी वर्षापछिको बाढीले क्षति गर्दा खेती विस्तार भए पनि उत्पादन वृद्धि हुन नसकेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।
उनका अनुसार आव २०७८/०७९ मा मार्सी र उन्नत जातको गरी ६ हजार ६७ मेट्रिकटन धान उत्पादन भएको छ । गहुँ ५ हजार ३ सय मेट्रिकटन, वर्षे मकै ११ हजार ११५ मेट्रिकटन, ३८ सय ८५ मेट्रिकटन, जौ ६ हजार ८० मेट्रिकटन, फापर ९९ मेट्रिकटन, उवा ३९ मेट्रिकटन, ६५ मेट्रिकटन, कागुनो १५ मेट्रिकटन उत्पादन भएको छ ।
त्यस्तै, जुम्लाको स्याउपछिको प्रमुख नगदे बालीमध्येको सिमी भने २९ सय मेट्रिकटन उत्पादन हुँदा, दलन बाली तोरी १ सय ३३ मेट्रिकटन उत्पादन भएको छ । सरकारी तथ्यांकअनुसार आव २०७७/०७८ मा जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको थियो । अघिल्ला वर्ष २०७४ देखि ०७६ सालसम्म २७ हजार १ सय १३ मेट्रिक टनभन्दा बढी रैथाने खाद्यान्न बाली उत्पादन भएको तथ्यांक छ ।
तर ३/४ वर्षयता भने लगभग १३ देखि १४ हजार मेट्रिकटनले उत्पादन घटेर पछिल्ला वर्षमा अधिकतम १५ हजार मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन हुँदै आएको छ । सरकारी तथ्यांक हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट छ । युवालाई कृषिमा प्रेरित गर्ने नीति नहुनु, तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले उत्पादन घट्नु र प्राकृतिक प्रकोप बालीमा क्षति गर्नुलगायतका कारणले खाद्यान्न उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।