Logo

क्होम्रे डाँडामा टावर विनाकै भ्यु प्वाइन्ट र पिकनिक स्थल

लमजुङको क्होलासोँथार गाउँपालिका–६, क्होम्रे डाँडामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि पर्यटकीय संरचना निर्माण गरेका छन् । प्राकृतिक दृष्यावलोकनका लागि उपयुक्त र गुरुङ समुदायको ऐतिहासिक महत्व बोकेको सो स्थानमा दृष्यावलोकन र वनभोजका निम्ति संरचना निर्माण भएको हो ।

गुरुङ बाहुल्य रहेको पर्यटकीय गाउँ पसगाउँ पुगेका पर्यटकलाई उत्कृष्ट दृष्यावलोकनका निम्ति स्थानीयले क्होम्रे डाँडामा संरचना निर्माण गरेका हुन् । क्होलासोँथार गाउँपालिका र देश विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगमा वनभोज तथा दृष्यावलोकनका लागि आवश्यक संरचना निर्माण गरेका हुन् ।

ऐतिहासिक क्होम्रे डाडामा गाउँपालिकाको सहयोगमा खानेपानी टंकी, शौचालय, भान्छा घरलगायतका संरचना निर्माण गरेका हुन् भने सोही ठाउँमा भूपू सैनिक समिति पसगाउँको पहलमा कार्यक्रमका लागि मञ्च, शत्तललगायतका अन्य संरचना निर्माण गरेका छन् । पसगाउँको क्होम्रेडाँडा गाउँपालिका भरिमै पर्याप्त सम्भावना भएको पर्यटकीयस्थल भएकोले सो ठाउँको प्रवर्द्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए ।

विशेषगरी पसगाउँ आएका पर्यटकलाई प्राकृतिक दृष्यावलोकनसँगै वनभोज तथा अन्य मनोरञ्जनका लागि उपयुक्त ठाउँ भएकोले उक्त ठाउँलाई प्रवर्द्धन गर्दा भोलिका दिनमा पर्यटकको संख्या अझै बढ्नसक्ने अध्यक्ष गुरुङको विश्वास छ । “पसगाउँ विकट भए पनि अब सडक सञ्जालले जोडिएको छ, अब यहाँ पर्यटक आगमन पनि बढ्न थालेको छ,” अध्यक्ष गुरुङले भने, “गाउँमा आएका पर्यटकलाई केही दिन भुलाउन आकर्षक पर्यटकीय संरचना निर्माण गरेका हौं ।”

पर्यटकीय संरचना बनाउने क्रममा स्थानीयले क्होम्रे डाँडामा रहेको टापुलाई सम्याएर चारैतिर दृष्यावलोकन गर्न सकिने बनाएका छन् । सोबाहेक अन्य संरचनासँगै त्यहासम्म पुग्ने कच्ची सडक, खेल खेल्न मिल्नेगरी मैदान र सवारी साधनका निम्ति पार्किङको समेत व्यवस्था रहेको स्थानीयले बताएका छन् ।

“सबैतिर भ्यु टावर बनेका छन्, विरोध पनि त्यत्तिकै हुँदै आएको छ,” पसगाउँ सामूहिक होमस्टे समितिका अध्यक्ष बलराम गुरुङले भने, “क्होम्रे डाँडा आँफैमा भ्यु टावर भएकाले कुनै कृत्रिम टावर नबनाई टाकुरालाई व्यवस्थित बनाएका छौं ।” सशस्त्र द्वन्द्वबाट प्रभावित पसगाउँमा २०६० सालबाट महोत्सव गरेर पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएको थियो ।

जिल्लाकै विकटमा रहेको पसगाउँमा १० वर्षे द्वन्द्वको बेला माओवादीले सेल्टरको रूपमा प्रयोग गरेपछि भिडन्तको अवस्थासमेत सृजना भएको थियो । गाउँको विकास र पर्यटन प्रवर्द्धनका निम्ति सोही स्थानमा जन्मिएर हाल प्रवासमा रहेकाले पनि त्यत्तिकै सहयोग गर्दै आएका छन् । प्रवासीले रकम संकलन गरी गाउँमा पर्यटकीय संरचना निर्माणमा सहयोग गर्दै आएका छन् ।

“हामी प्रवासमा भए पनि हामीलाई हाम्रो जन्मभूमिको माया बढी लाग्छ,” अग्रज एकेन्द्र गुरुङले भने, “हामीले हाम्रो गाउँ र देशका लागी जति सक्छौँ सहयोग गरिरहन्छौँ ।” सशस्त्र द्वन्द्व सकिएपछि मात्रै पसगाउँमा पर्यटकिय गतिविधि बढ्न थालेको हो । गुरुङको बाहुल्य रहेको पसगाउँमा हाल २१ घरमा होमस्टे सञ्चालन भएको छ ।

पसगाउँमा सात घरबाट होमस्टे सुरु भएको थियो । गुरुङ संस्कृति, स्थानीयको न्यानो आतिथ्यता, लोकल खानपान र प्राकृतिक दृष्यावलोकन पसगाउँको पर्यटकीय विशेषता हुन् । सोबाहेक गाउँनजिकै रहेको चियाबगानमा पनि आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्