सुन्तला खेतीबाट लाखौं आम्दानी

सल्यानमा पछिल्लो समय सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवाको व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गएको छ । जिल्लामा सुन्तला उत्पादन राम्रो हुने, थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले यहाँका युवाहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको बागचौर नगरपालिका–९ कोटमौला धामीढुङ्गाका वर्ष ३० का टम्फाराज डाँगीले गत वर्ष ८ लाख र यो वर्ष १२ लाख मा सुन्तला बिक्री गरे । उनले बबिसा नर्सरी फलफूल कृषि फर्म नामक फर्म दर्ता गरेर व्यावसायिक रुपमा १९ रोपनी जग्गामा ८ सय सुन्तलाका बोट लगाएका छन् । विगत सात दशकदेखि सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आएको डाँगीले बताए ।
उनले भने, “विगतका दिनमा घर खर्च चलाउन, छोराछोरी पढाउनलाई आर्थिक संकट हुने गरेकोमा सुन्तला खेती गरेदेखि आर्थिक रुपमा मेरो परिवार बलियो भएको छ ।” व्यवसायीहरु घरमै आएर सुन्तला लिने भएकाले बिक्रका लागि समस्या नभएको डाँगीको भनाइ छ । गत वर्ष प्रतिकेजी ६०/६५ रुपैयाँमा बिक्री हुने गरेको सुन्तला यो वर्ष ५०/५५ रुपैयाँमा बिक्री भएको उनले बताए ।
यता शारदा नगरपालिका–५ रातामाटाकी सरिता यरीले यो वर्ष २ लाखमा सुन्तला बिक्री गरेको बताइन् । गत वर्ष सुन्तला खेतीमा समयमा पानी नपर्नु, रोग प्रकोप कारण सुन्तला उत्पादनमा कमी आउनुका साथै आम्दानी घटेको थियो । तर यस वर्ष रोग किराको नियन्त्रण हुनु तथा समयमा पानी पर्नाले उत्पादन बढेको यरीको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयका सल्यान अनुसार यस वर्ष जिल्लामा करिव ८ हजार ३ सय ७६ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा ६ हजार ९ सय ८० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यो वर्ष झण्डै २५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कार्यालय जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ४ सय ८३ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । सुन्तला बिक्रीबाट यस वर्ष २८ करोड रुपैयाँ बराबरको कारोबार हुने सरकारी अनुमान छ । जिल्लाका शारदा नगरपालिका, बागचौर नगारपालिका, छत्रेश्वरी, सिद्धकुमाख र त्रिवेणी गाउँपालिका विभिन्न ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ ।
कार्यालयका अनुसार जिल्लाभर किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला लगाएका छन् । सल्यानमा उत्पादित सुन्तला दाङ, नेपालगन्ज, बुटवल, सुर्खेत, धनगढी, काठमाडौं, पोखरा मात्र नभइ भारतका विभिन्न शहरसम्म पुग्ने गरेको छ । सल्यानमा उत्पादित सुन्तलाको स्वाद मिठो हुने भएकाले अन्य ठाउँको सुन्तला भन्दा यहाँको सुन्तलाको बजार माग धेरै हुने गरेको सुन्तला व्यवसायी सुशीला गिरीको भनाइ छ ।