नेपाली श्रमिकको सुरक्षा प्रत्याभूति दिएर फर्के इस्माली «

नेपाली श्रमिकको सुरक्षा प्रत्याभूति दिएर फर्के इस्माली

मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले मलेसियामा कार्यरत नेपाली श्रमिकको सेवासुविधा र सुरक्षाको प्रत्याभूति गरेका छन् । गृहमन्त्री इस्मालीसहितको टोली बिहीबार नेपालको तीन दिने भ्रमणमा नेपाल आएको थियो ।

भ्रमणका बेला भएका उच्चस्तरीय छलफलमा गृहमन्त्री इस्मालीले मलेसियामा कार्यरत नेपाली श्रमिकको सेवासुविधा र सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै नेपाली पक्षलाई आश्वस्त पारेका थिए । टोली शनिबार मलेसिया फर्केको छ ।
पछिल्लो समय मलेसियामा नेपाली श्रमिकको माग बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुका अनुसार गृहमन्त्री इस्माली नेतृत्वको टोलीसँग भएको वार्ता र छलफल नेपाल र मलेसियाको श्रम कूटनीतिमा बढी केन्द्रित थियो । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रममन्त्री तथा नेपाली उच्च नेतृत्वसँग भेट गरेको थियो ।

मलेसियन टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेको बताए ।

यसैगरी शुक्रबार श्रममन्त्री डीपी अर्यालसँग भएको छलफलमा गृहमन्त्री इस्मालीले दुई देशबीच भएको श्रम समझदारी कार्यान्वयन गर्ने प्रतिबद्ध जनाए । श्रममन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सेवाशर्त, स्वास्थ्य सुविधा तथा कार्य वातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी कामदारहरुबीच समान व्यवहारका लागि अनुरोध गरे ।

यसैक्रममा मन्त्री अर्यालले नेपाल सरकार र मलेसिया सरकारबीच सम्पन्न द्विपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गरी श्रमसम्बन्धी सवालहरुको द्विपक्षीय निराकरणका लागि अनुरोध गरे । श्रम मन्त्रीसँगको छलफलमा फेयर एण्ड इथिकल रिक्रुटमेन्ट पोलिसीको प्रभावकारी कार्यान्वयन गर्न, सम्झौताबमोजिमका सेवा शर्त तथा सुविधा नेपाली श्रमिकहरुलाई उपलब्ध गराउने विषयमा केन्द्रित रहेको थियो ।

छलफलमा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा प्रणाली (सोक्सो) मा पूर्ण रुपमा आवद्ध गराउन, सुरक्षा गार्डमा खटिने नेपाली श्रमिकहरुलाई खटिएको समय र क्षमताअनुसार सम्मानयोग्य तलब प्रदान गर्ने विषयमा कुराकानी भएको थियो । यसैगरी औपचारिक माध्यमको प्रयोग गरी रेमिटेन्स नेपाल पठाउने कार्यमा मलेसियास्थित बैंक तथा वित्तीय संस्थाहरुलाई सहजीकरण गर्ने विषयमा छलफल भयो ।

छलफलमा ३ महिनाभित्र दुई देशको प्राविधिक टोलीले श्रम सम्झौता परिमार्जन गर्ने विषयमा केन्द्रित रहेर बैठक आह्वान गर्ने सहमति भएको श्रम मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले जानकारी दिए । मलेसिया सरकारले हालै ल्याएको विदेशी श्रमिक राहत योजना र अलेखबद्ध विदेशी श्रमिक पुनस्र्थापना कार्यान्वयनमा सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ । सचिव घिमिरेले मलेसियाका गृहमन्त्री नेतृत्वको टोलीको भम्रण दुई देशबीचको श्रम सम्बन्धमा केन्द्रित हुन सकारात्मक रहेको बताए ।

“पछिल्लो समय रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या बढिरहेको बेला भएको भ्रमणले मलेसिया जाने र त्यहाँ रहेका श्रमिकको सुरक्षाका लागि सकारात्मक काम हुने अनुमान छ,” उनले भने, “मलेसियाले नेपाली श्रमिकको अधिकार र सुरक्षाका विषयमा धेरै सुधार गर्ने प्रतिद्धता जनाएको छ ।” गृहमन्त्री इस्माली मलेसियाका भावी प्रधानमन्त्री हुन सक्ने भएका कारण पनि नेपाली श्रमिकको अधिकारका लागि भविष्यमा थप काम हुन सक्ने मन्त्रालयको भनाइ छ ।

छलफलमा नेपालको प्रस्ताव स्वीकार्दै नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा, स्वास्थ्य लगायतका अन्य सेवा शर्त सुधारका लागि मलेसियाले प्रतिवद्धता जनाएको छ । द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउन यसै वर्षको पहिलो चौमासिकभित्र नेपालमा संयुक्त कार्यसमितिको बैठक राख्नसमेत मलेसियाले अनुरोध गरेको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो ।

मलेसिया सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकको केही समयअघि मासिक तलब वृद्धि गरेको थियो भने १ वर्षअघि मलेसियाको सामाजिक सुरक्षामा नेपाली श्रमिकलाई आबद्ध गराउन सुरु गरेको थियो । मलेसिया सरकारले त्यहाँ कार्यरत नेपालीको तलब २५ प्रतिशत बढाएर १ हजार ५ सय रिंगिट बनाएपछि त्यहाँ जानेको संख्या विगत वर्षको तुलनामा बढेको देखिन्छ । हाल मलेसियामा कार्यरत नेपालीको न्यूनतम पारिश्रमिक मासिक ४५ हजार रुपैयाँभन्दा बढी रहेको छ ।

लेसियामा साधारणतया दैनिक २ घन्टा ओभरटाइम काम पाइने हुनाले हाल त्यहाँ कार्यरत नेपालीको तलब ६० देखि ७० हजार रुपैयाँसम्म हुने गरेको व्यवसायीको भनाइ छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मलेसिया जाने नेपालीको संख्या लगभग ४ गुणाले वृद्धि भएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो संख्या गत वर्षको पुससम्म २८ हजार ३४२ रहेकोमा चालू आवको सोही अवधिमा ३८० प्रतिशत बृद्धि भएर १ लाख ७५ हजार पुगेको छ । पछिल्लो समय साउदी अरब र कतार जाने नेपाली युवा हाल मलेसिया जान थालेका छन् ।

पछिल्लो समय मलेसियाले त्यहाँको श्रम कानुनलाई आप्रवासी श्रमिकमैत्री बनाउँदै सेवासुविधा, सामाजिक सुरक्षा राम्रो र अन्य सुरक्षाको प्रत्याभूत गर्दै लगेको छ । यस्तो व्यवस्था अन्य श्रम गन्तव्यमा हालसम्म लागू गरिएको छैन । नेपालले मलेसिया सरकारलाई नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बिमा सुविधाको व्यवस्थाबारे नेपाल र मलेसियाबीच छलफल हुँदै आएको छ । मलेसियामा वर्षेनी औषत चार लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेकोमा यो वर्ष बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्