Logo

रावा बैंकबाहेक सबैको बढ्यो खराब कर्जा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा उल्लेख्य मात्रामा बढेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका २० वाणिज्य बैंकमध्ये १९ को खराब कर्जा बढेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले भने खराब कर्जा घटाएको छ ।

यद्यपि, खराब कर्जा झिनो प्रतिशतले मात्रै घटेको तथ्यांकले देखाएको छ । गत वर्ष ३.०६ प्रतिशत रहेको यस बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमासमा २.७९ प्रतिशत रहेको छ, जुन ०.२७ प्रतिशतको मात्र गिरावट हो । यसबाहेक अन्य वाणिज्य बैंकहरूले चालू आवको दोस्रो त्रैमाससम्ममा खराब कर्जा घटाउन सकेनन्, उल्टो बढाएका छन् ।

केही वाणिज्य बैंकहरूको खराब कर्जा गत आवको दोस्रो त्रैमासको तुलनामा अत्यधिक बढेको छ । चारवटा वाणिज्य बैंकको खराब कर्जा गत आवको तुलनामा चालू आवको दोस्रो त्रैमासमा दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी हिमालयन बैंकको खराब कर्जा बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.७२ प्रतिशत रहेको हिमालयन बैंकको खराब कर्जा चालू आर्थिक वर्षमा ३.७७ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा ३.०५ प्रतिशतले बढेको हो । यस्तै, सिद्धार्थ बैंकको पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस आर्थिक वर्षमा २.५ प्रतिशतले खराब कर्जा बढेको छ । गत आवको दोस्रो त्रैमासमा यस बैंकको खराब कर्जा ०.३७ प्रतिशत रहेकोमा चालू वर्षको ६ महिनामा २.८७ प्रतिशत पुगेको छ ।

कृषि विकास बैंकको खराब कर्जा गत आवको दोस्रो त्रैमासको तुलनामा २.४४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा यस बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको छ । गत आवको ६ महिनामा बैंकको खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको खराब कर्जा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षमा २.०३ प्रतिशतले बढेको छ । गत वर्षको ६ महिनामा ०.७८ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चालू आवमा २.८१ प्रतिशत पुगेको छ ।

वित्तीय विवरणअनुसार ९ वाणिज्य बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम नै छ । ती बैंकमा एनएमबि, प्रभु, लक्ष्मी बैंकलगायत छन् । बैंकले निश्चित समयका लागि कुनै ऋणीलाई दिएको कर्जा समयमा नै भुक्तानी हुन नसके त्यसलाई खराब कर्जाको सूचीमा राख्नुपर्ने हुन्छ । यस्तो कर्जालाई निस्क्रिय कर्जा वा खराब कर्जा भनिन्छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिन पछिसम्म पनि बैंकले ऋण उठाउन नसकेमा सो ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसलाई जोखिमयुक्त मानिन्छ ।

चिन्ताको विषय

बैंकहरूको खराब कर्जा बढ्दै जाँदा बैंकरहरू पनि तनावमा पर्न थालेका छन् । हरेक दिनजसो पत्रपत्रिकामा कर्जा असुलीका लागि सूचना जारी गरे पनि असुलीमा सुधार हुन नसकेको बैंकरहरू बताउँछन् । यसकै कारण ऋण असुली न्यायाधीकरणमा पनि बैंकहरु कर्जा असुलीका लागि जाने गरेका छन् । न्यायाधीकरणमा चालू आर्थिक वर्षमा मात्रै साढे २ अर्ब रुपैयाँभन्दा बढी कर्जा असुलीको माग गर्दैै बैंकहरूले मुद्दा दर्ता गराएका छन् ।

पूर्वबैंकर भुवन दाहाल वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै जानु चिन्ताको विषय भएको बताउँछन् । यद्यपि केही सुधार हुने संकेत भने देखिएको उनले बताए । “खराब कर्जा अर्थतन्त्रको ऐना हो । अर्थतन्त्र राम्रो हुँदा यो घट्छ भने नराम्रो हुँदा बढ्दै जान्छ,” उनले भने, “अहिले बैंकहरूमा तरलता सहज हुँदै गएको र ब्याजदर पनि घट्ने दिशामा गएको छ । यसबाट अर्थतन्त्र राम्रो हुन्छ भन्ने आशा गर्न सकिन्छ ।”

उनले अर्थतन्त्रमा गत वर्षदेखि आएको सुस्तता, बैंकहरूमा लगानीयोग्य रकमको अपयाप्तता तथा उच्च ब्याजदरका कारण व्यवसायीहरू समस्यामा परेको बताए । सोही कारण बैंकहरूको खराब कर्जा बढ्न गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्