Logo

कानुनबिनै वार्षिक एक खर्बको सुनचाँदी किनबेच

उपभोक्ताले धेरै प्रयोगमा ल्याउने वस्तुमध्ये सुन सबैभन्दा महँगो धातु हो । तर, यसैको कारोबार कानुनी मापदण्डभन्दा बाहिरबाट हुने गरेको छ । व्यवसायीहरूका अनुसार नेपालमा नयाँ र पुरानो गरी सुनको कारोबार वार्षिक करिब १ खर्ब रुपैयाँसम्मको हुन्छ । तर, यसको कारोबारका लागि अहिलेसम्म कुनै कानुनी मापदण्ड, कार्यविधि तथा निर्देशिका बनाइएको छैन ।

यसबाट व्यवसायीहरूले मात्र फाइदा उठाउने गरेका छन् । वर्षमा अर्बौं रुपैयाँको खरिद–बिक्री हुने सुनचाँदीको कारोबार व्यवसायीको इच्छाअनुसार भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । कानुनी मापदण्ड नहुँदा आम नागरिक सुनचाँदी खरिद गर्दा दैनिक ठगिँदै आएको महर्जनको भनाइ छ । उनका अनुसार सुन खरिद–बिक्रीमा व्यापारीले मनलाग्दो हिसाबले ज्यालाजर्ती लिने गर्छन् ।

कुनै पनि व्यवसायीबीच यसमा एकरुपता छैन । गुणस्तरमा पनि उपभोक्ता सधैं ठगिँदै आएको उनको तर्क छ । अन्य मुलुकहरूमा सुनको शुद्धता र स्वच्छ बजार व्यवस्थापनका लागि गुणस्तर मापन गर्ने मापदण्ड र निर्देशिका बनाइएको हुन्छ । सुनको कारोबारमा यिनै मापदण्ड र निर्देशिका लागू हुने उनले बताए । अध्यक्ष महर्जनका अनुसार सुन, चाँदी, प्लाटिनम र प्यालाडियमको शुद्वता र गुणस्तर निर्धारण गर्न विदेशमा हलमार्किङ सेन्टर खोलिन्छ ।

त्यहाँबाट प्रमाणितलाई मात्र बजारीकरण गरिन्छ । सुन बजारलाई नियमन गर्न भारतलगायत अन्य मुलुकले ‘गोल्ड हलमार्किङ’ कानुन र निर्देशिका बनाएका छन् । व्यापारीले सुन बिक्री गर्दा ज्यालाजर्ती कति लिनुपर्छ भन्ने मापदण्ड बनाउनुपर्छ । तर, यहाँ मनोमानी रुपमा चल्दै आएको अध्यक्ष महर्जनले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले हालसम्म सरकारसँग बहुमूल्य धातु सुनचाँदीसम्बन्धी कानुन नरहेको बताए । तर, स्वच्छ र गुणस्तरीय बजारका लागि कानुन हुनु अति आवश्यक रहेको उनको भनाइ छ । सुन, चाँदीजस्ता बहुमूल्य धातुका लागि कार्यविधि नभएर व्यवसायलाई नियमन गर्न ऐन नै आवश्यक भएको महानिर्देशक भट्टराईको भनाइ छ ।

बहुमूल्य धातु सुनचाँदीको गुणस्तर मापदण्ड नभएकै कारण आमनागरिक दैनिक ठगिनुपरेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । संविधानको धारा ४४ (१) मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हकको सुनिश्चित गरिएको छ । सरकारले उक्त मौलिक हकको बेवास्ता गरेका कारण आम नागरिक बहुमूल्य धातु खरिद–बिक्री गर्दा दैनिक ठगिन बाध्य भएको अध्यक्ष तिमल्सिना बताउँछन् ।

सम्पत्तिसम्बन्धी कानुनले सुनचाँदीलाई चल सम्पत्तिको मान्यता दिएको छ । उनले भने, “आर्थिक समस्या पर्दा सुन बैंकमा धितो राखी कर्जा लिन सकिन्छ । तर, यसको गुणस्तर सुनिश्चित छैन ।” दैनिक करोडौंको कारोबार हुने वस्तुमा गुणस्तर मापदण्डसम्बन्धी राज्यले कानुन निर्माण नगर्नु लाचारीपन भएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

स्वच्छ, गुणस्तरीय र आम सर्वसाधारणमा विश्वासिलो व्यवसाय बनाउन सुनसम्बन्धी ऐन निर्माण गर्न सरकारसँग पटकपटक आग्रह गरेको व्यवसायी बताउँछन् । तर, सरकारले सुनचाँदी जस्तो बहुमूल्य धातुको कारोबार हुने व्यवसायलाई व्यवस्थित तथा नियमन गर्ने कानुन निर्माणमा बेवास्ता गरेको छ । यसले स्वच्छ व्यापार गर्न खोज्ने व्यवसायीसमेत पीडित भएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको गुनासो छ ।

उनका अनुसार सुनचाँदीको गुणस्तर मापदण्ड नहुँदा व्यवसाय नै असुरक्षित भएको छ । सुनचाँदीको कारोबार वर्षमा १ खर्ब रुपैयाँबराबरको हुने उनले जानकारी दिए । देशभर सुनचाँदी व्यवसाय गर्ने व्यवसायी २५ हजारभन्दा बढी छन् । बहुमूल्य धातु सुनचाँदी सम्बन्धी कानुनी मापदण्ड निर्माण गर्न सरकारसँग पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मोहनकुमार सुनार बताउँछन् ।

२०७३ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहोरा हुँदा राष्ट्रिय भेला गरी व्यवसायीका लागि कानुनी मापदण्ड निर्माण गर्न पहल गरेका थिए । तर, त्यसपछि सरकारले यसतर्फ कहिल्यै ध्यान नदिएको उनको भनाइ छ । सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न र व्यवसायीको लगानी सुरक्षित बनाउन कानुन अति आवश्यक भएको पूर्वअध्यक्ष सुनार बताउँछन् । कानुन नहुँदा आम उपभोक्तादेखि व्यवसायीसमेत पीडित भएको उनको गुनासो छ ।

कानुन अभावमा गलत रूपमा व्यवसाय गर्नेलाई कारबाही गर्ने आधार पनि नभएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्व महानिर्देशक योगेन्द्र गौचन बताउँछन् । सुन, चाँदीजस्ता बहुमूल्य धातुको कानुनी मापदण्ड नहुँदा आमनागरिक मूल्य, नापतौल र गुणस्तरमा समेत ठगिनुपरेको गौचनको भनाइ छ ।

२०५८ सालमा सुनको मूल्य प्रतितोला ७–८ हजार रुपैयाँ थियो । यसको २१ वर्षपछि एक लाख ५ हजार रुपैयाँ वरपर पुगेको छ । दुई दशकमा सुनको मूल्य करिब १५ गुणाले बढेको हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वदेशी बजारमा पनि सुनको मूल्य दैनिक परिवर्तन हुने गर्छ । त्यसअनुसार अहिले प्रतितोला १ लाख ५ हजार रुपैयाँ आसपास छ । एक महिना अघिमात्र सुनको मूल्य प्रतितोला १९ हजार रुपैयाँ कम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको २९ मंसिरमा छापावाल सुन प्रतितोला ८५ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो । माघमा आइपुग्दा प्रतितोला १ लाख ५ हजार वरपर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा स्थानीय बजारमा पनि यसको असर परेको महासंघ अध्यक्ष माणिकरत्न शाक्यले बताए । रुस र युक्रेनबीच भएको युद्धपछि विश्वका उद्योगी–व्यवसायी तथा लगानीकर्ताले सुन खरिद गर्न थालेकाले विश्व बजारमा मूल्यवृद्धि भएको उनको भनाइ छ ।

युद्धले अन्य उद्योग क्षेत्रमा लगानी असुरक्षित देखिएपछि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । यस्तै, विदेशी विनियमदर बढ्दै गएकाले पनि सुनको मूल्य वृद्धि भएको अध्यक्ष शाक्य बताउँछन् । सुनको मूल्य अझै पनि बढ्ने उनको भनाइ छ । माघदेखि सुनको मूल्य झनै बढ्दै गएको छ । यसअघि विश्व महामारीका रूपमा फैलिएको कोभिडकालमा प्रतितोला सुन १ लाख ३ हजार ९ सयसम्म पुगेको थियो । तर, पछि घटेर ८० हजार रुपैयाँसम्म झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्