Logo

बैंकको नाफा : कसको बढ्दा कसको घट्यो ?

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले मिश्रित नाफा आर्जन गरेका छन् । बैंकहरूले जारी गरेको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार केही बैंकहरूको नाफामा उल्लेख्य वृद्धि हुँदा केहीको भने उल्लेख्य गिरावट पनि आएको छ । बैंकहरूको नाफालाई विशेषगरी खराब ऋणले प्रभावित गरेको देखिएको छ ।

अर्थतन्त्रमा गत आर्थिक वर्षको अन्त्यदेखि नै आएको सुस्तता र चालू आर्थिक वर्षको असोजपछिको उच्च ब्याजदरका कारण अर्थतन्त्र सुस्ताउँदा बैंकहरूको खराब ऋण बढ्न पुगेको छ । अर्थात् ऋणीहरूले बैंकहरूको ऋण चुक्ता गर्न सकिरहेका छैनन् । जसकारण ऋण उठाउन बैंकलाई नै हम्मेहम्मे परिरहेको छ । यसको असर बैंकको नाफामा समेत देखिएको हो । केही बैंकहरूले डुबेको ऋण उठाउन सकेको देखिएको छ ।

केहीले ऋणमा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड दर) बढाएर पनि नाफामा सुधार गरेका छन् । वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिभिल बैंकको नाफा बढेको छ । प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकको नाफा भने घटेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नाफा वृद्धि गर्ने वाणिज्य बैंकमा सबैभन्दा अगाडि एभरेष्ट बैंक देखिएको छ । यस बैंकले ८५.२५ प्रतिशत नाफा बढाएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ८ करोड नाफा आर्जन गरेको थियो । यस्तै, नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले ५६.६७ प्रतिशत बढी नाफा आर्जन गरेको हो । कृषि विकास बैंक भने यस अवधिसम्म १२ करोड रुपैयाँ नोक्सानमा रहेको छ । केही बैंकको भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन हुन बाँकी छ ।

तालिकाः बैंकहरूको वित्तीय विवरणबाट

प्रतिक्रिया दिनुहोस्