Logo

‘जलवायु परिवर्तनले कृषि जैविक विविधतामा ह्रास’

जलवायु परिवर्तनका कारण कृषि जैविक विविधता ह्रास हुने क्रम निरन्तर बढ्दै गएको भन्दै सरोरकारवालाले चिन्ता जनाएका छन् । राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा सरोकारवालाहरुले जलवायु परिवर्तनको असरका कारण कृषि जैविक विविधताको हस हुुँदै गएको भन्दै समाधानको लागि पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

आव २०७९/०८० को बजेट वक्तव्यमार्फत नेपाल सरकारले विसं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । उक्त घोषणा बमोजिम जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता नाराका साथ विभिन्न कार्यक्रमहरु गरि यो वर्ष मनाइएको छ । जैविक विविधताको हिसाबले नेपाल धनि भए पनि वासस्थान विनाश, मिचाहा प्रजातिको प्रवेश, आधुनिक खेति प्रणालीका कतिपय गलत अभ्यास, जलवायु परिवर्तनले कृषि जैविक विविधता संरक्षणमा असर पुगेको सरोकारवालाको भनाइ छ ।

यसको संरक्षणको महत्वबारे आम कृषक र सरोकारवालालाई जागरुक गराइ यस दिशामा लाग्न उत्प्रेरित गर्ने उद्देश्यले दिवस मनाइएको हो । प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय अनुसार यस दिवसको अवसर पारेर माघको पहिलो साता भरि देशव्यापी रुपमा विविध कृयाकलाप आयोजना गरी यो दिवस मनाइँदै छ ।

‘उपयोग मार्फत संरक्षण’ को मूल मन्त्रलाई व्यवहारमा लागू गर्न कृषि जैविक विविधता र विभिन्न समुदायको मौलिक खाद्य संस्कृति र कन्दमूल सहितको खाद्य परिकारबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने कृयाकलाप सप्ताहव्यापी रुपमा सञ्चालन गरिँदै छन् ।

राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा कृषि विभाग आयोजित कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साहले कृषि जैविक विविधता र रैथाने बालीका उपजको प्रदर्शनीसहित मूल समारोहको उद्घाटन गरेकी छन् । मन्त्री साहले नेपालको हिमाल, पहाड र तराई कृषि जैविक विविधतामा धनी रहेको र यसको उचित संरक्षण र उपयोग गरेर खाद्य पोषण सुरक्षाको अवस्था सुधार गर्न सकिने बताएकी छिन् ।

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र डा. दिपककुमार खराल तथा नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. दिपक भण्डारीले कृषि जैविक विविधताको महत्व र यसको संरक्षणमा भएका सरकारी प्रयासहरुबारे प्रकाश पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्