Logo

बैंकिङ पहुँचसँगै इजरायलमा हुन्डी कम

इजरायलमा कार्यरत नेपालीहरूले लामो समयदेखि हुन्डीमार्फत नेपालमा पैसा पठाउने गर्दै आएकामा अहिले उनीहरूको माध्यम बैंकिङ प्रणाली बन्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाको पहुँच र सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विभिन्न सुविधा दिन थालेपछि हुन्डीको विकल्प बैंकिङ प्रणाली हुन पुगेको हो । सन्राइज बैंक इजरायलका प्रतिनिधि अभिमन्यु दाहालले अहिले इजरायलमा कार्यरत नेपालीमध्ये धेरैले बैंकमार्फत पैसा पठाउन थालेकोे जानकारी दिए ।

बैंकले इजरायलस्थित कार्यालयबाट दिँदै आएको सेवा विस्तार गरेपछि बैंकिङ माध्यमबाट पैसा पठाउने श्रमिकको संख्या बढेको हो । १० वर्षअघि कार्यालय खोलेको सन्राइज बैंकले पछिल्लो समय जीटुजी (सरकारी तह) मार्फत इजरायल गएका १ हजारभन्दा बढी श्रमिकलाई बैंकिङ प्रणालीमा ल्याउने काम गरेको छ । यीमध्ये अहिले बैंकमा ७ सय भन्दा धेरै आवद्ध भइसकेको जानकारी दाहालले दिए ।

“३ महिनायता जीटुजीमार्फत गएका ७ सयभन्दा धेरै श्रमिकले सन्राइज बैंक इजरायलमा खाता खोलेका छन,” दाहालले भने, “सेप्टेम्बरदेखि डिसेम्बरसम्म बैंकमार्फत कारोबार गर्ने नेपाली श्रमिकको संख्या १ सय २५ प्रतिशतले बढेको छ ।” उनका अनुसार बैंक, एनआरएनए तथा इजरायलस्थित नेपाली दूतावासको पहलमा पछिल्लो समय औपचारिक माध्यमबाट पैसा पठाउने सम्बन्धमा अभियान सञ्चालन गरिएको छ । यसको प्रभावस्वरुप हुन्डी कारोबार कम भएको छ ।

केही महिनादेखि इजरायलका नेपाली श्रमिकलाई लक्षित गरेर हिमालयन बैंकले पनि सेवा दिन सुरु गरेको छ । तर, बैंकले इजरायलमा कति नेपालीले खाता खोले भन्नेबारेमा जानकारी दिन नमिल्ने बताएको छ । बैंकले अन्य वित्तीय संस्थासँग मिलेर रेमिटेन्स सेवा सञ्चालन गर्दै आएको छ । स्नराइज बैंकले इजरायलमा लगानी तथा रेमिटेन्सको कारोबार गरिरहेको वल्र्डकम फाइनान्ससँग मिलेर रेमिटेन्स सेवा दिँदै आएको छ ।

यस्तै, एसटिबी यूनियनसँग केही दिनभित्र सहकार्य गरी सेवा दिने तयारी भएको बैंकले जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विभिन्न कम्पनीले सेयर जारी गर्दा आरक्षण दिनुपर्ने व्यवस्था गरेको छ । सेयरमा लगानी गर्न इजरायलमा कार्यरत एक हजारभन्दा धेरैले सन्राइज बैंकमा खाता खोलेको बैंकका प्रतिनिधि दाहालले जानकारी दिए ।

अझै रोकिएको छैन हुन्डी

इजरायलमा बैंकिङ सेवा पुगे पनि हुन्डी कारोबार पूर्ण रुपमा हटेको छैन । तेलअभिभ क्षेत्रमा मात्र ५० भन्दा बढी हुन्डी कारोबारी रहेको त्यहाँ काम गर्ने नेपालीहरू बताउँछन् । उनीहरूका अनुसार कतिपय हुन्डी कारोबारीले दैनिक लाखौं कारोबार गर्दै आएका छन् । हुन्डी कारोबारलाई निरुत्साहन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अध्ययन कार्यदल गठन गरेर काम गरिरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए ।

“वैदेशिक रोजगारीमा रहेका श्रमिकको कारोबारलाई बैंकिङ माध्यममा ल्याउन सामाजिक सुरक्षामा आबद्ध हुँदा अनिवार्य रुपमा औपचारिक माध्यमबाट पैसा पठाएको प्रमाण हुनुपर्ने नियम बनाइएको छ,” सहसचिव पोखरेलले कारोबारसँग भने, “हुन्डी कारोबार नियन्त्रण गर्न र श्रमिकलाई बैंकिङ माध्यम प्रयोगमा प्रोत्साहन गर्न श्रम मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा टोली गठन गरेर काम भइरहेको छ ।”

इजरायलस्थित नेपाली दूतावासले औपचारिक माध्यमबाट पैसा स्वदेश पठाउने सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । दूतावासले भने इजरायलबाट ३ वटा बैंकले रेमिटेन्स सेवा दिँदै आएको जानकारी दिएको छ । सरकारले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरेर हुन्डी कारोबारलाई थप कडाइ गर्ने तयारी गरेरको छ । यसका लागि संशोधन प्रस्ताव संसद्मा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्