Logo

लिखित निर्देशन चाहिन्छः निगम

नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिएका थिए । तर, पछिल्लो समय पेट्रोलियम पदार्थ कारोबार गर्दा केही नाफा देखिए पनि इण्डियन आयल कर्पाेरसनको ११ अर्ब बक्यौता र सरकारको १२ अर्ब रुपैयाँ ऋण बुझाउनुपर्ने आर्थिक भार अझै बाँकी भएकाले तत्काल मूल्य घटाउन नसक्ने अवस्था रहेको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

मिडियामा प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको समाचार आए पनि निगमलाई मूल्य घटाउनका लागि भनेर कतैबाट लिखित निर्देशन नआएको निर्देशक साहले जानकारी दिए । आईओसी र सरकारलाई मासिक ब्याजमात्रै २५ करोड रुपैयाँ बुझाउनुपर्ने उनले सुनाए । निगम अहिले केही नाफामा रहेको भए पनि १८ अर्ब ऋण तिर्न बाँकी भएको हुँदा तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने निर्देशक साहले स्पष्ट पारे । प्रधानमन्त्री कार्यालयबाट लिखित रूपमै निर्देशन आएको अवस्थामा भने निगमको सञ्चालक समिति बोर्डको बैठक बसी मूल्य घटाउने–नघटाउने निर्णय हुने उनले जानकारी दिए ।

निगमलाई आईओसीले १ जनवरीमा पठाएको पेट्रोलिय पदार्थको मूल्य सूचीअनुसार मासिक रूपमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा रहेको छ । पछिल्लो नयाँ मूल्य बढेर आए पनि हाल खाना पकाउने ग्यासबाहेक सबैमा नाफा छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ ।

पछिल्लो नयाँ मूल्यमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको हुँदा १५ दिनमा ग्यासमा ४६ करोड ४४ लाख घाटा व्यहोर्नुपर्ने निगमको भनाइ छ । पछिल्लो पटक आईओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा बढेर आएको छ । आईओसीबाट मूल्य बढेर आए पनि यसअघिको मूल्यलाई नै यथावत् राखेको निगमले जनाएको छ ।

निरन्तर ७ वर्ष नाफामा गएको निगम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि घाटामा गएको थियो । आर्थिक २०७१/०७२ देखि नाफा कमाउँदै आएको निगम २०७७ पुसदेखि घाटामा जान थालेको हो । गत भदौबाट भने निगमले नाफा गरिरहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा निगमले स्थानीय बजारमा मूल्य नघटाई कारोबार गर्दा १ अर्ब ९८ करोड नाफा कमाएको छ । खाना पकाउने ग्यासबाहेक पेट्रोल र मटीतेल तथा हवाई इन्धनमा निगम नाफामा छ ।

यसअघि प्रधानमन्त्री दाहालले विदेशबाट फर्कने नेपाली नागरिकले आफूसँग दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्न विमानस्थल भन्सार कार्यालयलाई निर्देशन दिएकोमा लिखित निर्देशन नआएको भन्दै भन्सारले निर्देशन कार्यान्वयन गरेको थिएन । आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएका थिए ।

मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन नीतिगत जटिलता भए त्यसलाई फुकाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोजनका मालवस्तुसम्बन्धी आदेशमा विदेशबाट फर्किने यात्रुले एउटामात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । त्यही व्यवस्थालाई देखाएर भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्