स्वरोजगार कोषबाट सहुलियत ऋण प्रवाह सुरू

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषबाट व्यवसाय शुरुवात गर्नका लागि सहुलियत ऋण सहकारीमार्फत दिन थालेको छ । कोषका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको चार वर्षपछि सहकारीहरुलाई थोक ऋण प्रबाह गर्न शुभारम्भ गरिएको हो । पहिलो चरणमा दुई वटा सहकारीहरुले ४०/४० लाख रुपैयाँको पहिलो थोक ऋण पाएका छन् । उनीहरुलाई दोस्रो किस्तामा थप ४०/४० लाख रुपैयाँ थोक ऋण दिइने छ ।
ती सहकारीहरुले व्यवासाय गर्न ऋण लिने युवाहरु निश्चित गरेपछि एक कार्यक्रम आयोजना गरी सहकारीलाई चेक हस्तान्तरण गरिएको छ । थोक ऋण पाएका कैलालीको गोदावरी नगरपालिकाको मालाखेती कृषि सहकारी संस्थाले सो सरक २० र कञ्चनपुरको भीमदत्त नगरपालिकाको संकल्प कृषि सहकारी संस्थाले ३९ जना युवालाई व्यवसाय सुरु गर्न सहुलियत ऋण दिने छन् । व्यवसाय सुरु गर्न सहुलियत ऋण लिने युवाहरुले सहकारीमा धितोबापत् नागरिकता र शैक्षिक योग्यताको प्रमाण राख्नुपर्ने छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब रुपैयाँ कोषको लागि विनियोजन गरेको थियो । बजेट विनियोजन गरिसकेपछि कोष सञ्चालनका लागि ऐन, नियमावली, कार्यविधि, मोडालिटी बनाउन, कोषको सचिवालय स्थापना गर्न र सचिवालयमा कर्मचारी भर्ना गर्न चार वर्ष वितेको थियो । स्वरोगजार विकास कोष सचिवायलले कोषबाट थोक ऋण लिने सहकारीलाई १ प्रतिशत ब्याजमा ऋण दिने छ भने सहकारीहरुले बढीमा ४ प्रतिशत नाफा लिएर अधिकतम ५ प्रतिशतमा ऋण प्रबाह गर्नुपर्ने जनाएको छ ।
प्रदेशका युवालाई वैदेशिक रोजगारमा जान नपर्ने गरी प्रदेशमै रोजागरीको सिर्जना गर्ने उद्देश्यले कोष सञ्चालन गरी सहुलियत प्रवाह गर्न थालिएको कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले बताए । उनले युवालाई घरदैलोमै ऋण सुविधा दिनका लागि प्रदेशका सबै जिल्लाका सहकारीमार्फत व्यवसाय गर्नका लागि ऋण प्रवाह गरिने बताए । उनले सहकारीले लक्षित समुदायका व्यक्तिलाई अधिकतम तीन लाखसम्म, ५ वा सो भन्दा जनाले सामुहिक व्यवसाय गर्नका लागि १० लाखसम्म ऋण पाउने बताए ।
यसैगरी, सहकारीहरुले न्युनतम २० लाखदेखि अधिकतम ८० लाख रुपैयाँसम्म थोक ऋण पाउने छन् । थोक ऋण लिनका लागि अछामका ४, बैतडीका ७, दार्चुलाका ८, बझाङका ८, डोटीका १२, डडेल्धुराका १३, बाजुराका १३, कञ्चनपुरका ६८ र कैलालीका ६५ गरी जम्मा १९८ वटा सहकारीले कोषको सचिवालयमा थोक ऋण लिन प्रस्ताव पेश गरेका छन् ।
ती सहकारीहरुले थोक ऋण पाउनका लागि इच्छुक व्यक्तिको सूची र व्यावायिक योजनाको विस्तृत विवरण कोषको सचिवालयमा बुझाएपछि र कोष सञ्चालक समितिले स्वीकृत गरेका व्यक्तिलाई मात्र ऋण लगानी गर्नुपर्नेछ । कार्यकारी निर्देशक तिम्सिनाले सहकारीबाट आएको विवरण कोषले फिल्डमै गएर अध्ययन गरेर लगानीका लागि उपयुक्त ठहर गरेपछि मात्र सहकारीले लगानी गर्न पाउँछन् ।
यसले सहकारीले आफूखुशी लगानी गर्न पाउँदैनन् र लगानीको सही अर्थमा प्रतिफल प्राप्त हुने उनले बताए । चालु आर्थिक वर्षमा ४ हजार जनालाई ऋण प्रवाह गर्ने र तीमध्ये ५ सय जनालाई व्यावसायिक तालिम दिने लक्ष्य कोषले राखेको छ । १२० प्रकारका व्यवसाय गर्न ऋण गलानी गर्ने व्यवसाय सूचिकृत गरिएको छ । सुरुमा तरकारी खेती, व्युटीपार्लर, नास्ता पसललगायतका व्यवसाय गर्न प्रस्ताव आएको कोषका सचिवालयका अधिकृत माधवप्रसाद जोशीले बताए ।