प्रदेश १ मा सरकार गठन गर्न आह्वान

प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको हो ।
पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी गरिएको पत्रमा उल्लेख छ । प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक प्रदेशसभा सदस्य छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ । प्रदेश १ सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेले शुक्रबारसम्ममा सरकार गठनका लागि दाबी पेस गर्ने जनाएको छ ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलबीच सहमति गरेर आउँदो शुक्रबारसम्ममा प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेस गर्ने बताए । उनले यस प्रदेशमा एमालेको नै नेतृत्वमा सरकार गठन हुने दाबी गरे । संघीय सत्ता समीकरणअनुसार यस प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी सरकारमा जाने देखिएको छ । प्रदेशमा प्रतिपक्षमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) रहने देखिएको छ ।
के भइरहेको छ अन्य प्रदेशमा ?
मधेस प्रदेशको पहिलो अधिवेशन पुस १८ गते सोमबार आह्वान भएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पहिलो अधिवेशन आह्वान गरेका हुन् । मधेशमा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोश्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी जसपा तेश्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् । बागमती प्रदेशसभाको अधिवेशन पनि पुस १८ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि एघारौं अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बागमती प्रदेशमा ११० जना सांसद छन् । मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट कांग्रेस ३७ सिट सहित सबैभन्दा ठूलो दल भएको छ । दोस्रो ठूलो दल एमालेको २७ र तेस्रो ठूलो दल माओवादी केन्द्रको २१ सिट छ ।
उता गण्डकी प्रदेशसभाको पनि अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभाका नवनिर्वाचित सांसदले पुस १४ गते शपथ खाइसकेका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ ।
मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । लुम्बिनी प्रदेशसभामा निर्वाचित नयाँ सदस्यहरुको आइतबार शपथ ग्रहण भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा शपथ ग्रहण भएको हो ।
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिती रहेकोमा यस पटक लुम्बिनी प्रदेशसभाका दलको संख्या १० पुगेको छ ।
कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । ४० सिट रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसले १४ सिट जितेको छ भने माओवादी केन्द्रको १३ सिट छ । नेकपा एमालेले भने १० सिट जितेको छ । यो प्रदेशमा एक जना स्वतन्त्र सांसद छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यसपछि उपसभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि बोलाइएको छ ।