Logo

पूर्वतयारीमा राज्यको लगानी न्यून, तीन दिन चिसो बढ्ने

शीतलहरका कारण ११ वर्षमा १ सय १६ ले गुमाए ज्यान

शीतलहरका कारण ११ वर्षको अवधिमा करिव १ सय १६ ले ज्यान गुमाएका छन् । शीतलहरको जोखिम भएको क्षेत्रहरुमा बाक्लो लुगाको बन्दोबस्त गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउनका लागि पर्याप्त तयारी नहुँदा ज्यान गुमाउनु परेको हो ।

शीतलहर जस्ता विपत व्यवस्थापनका कार्य गर्ने अधिकार स्थानीय तहलाई दिए पनि उनीहरुको क्षमता अभिवृद्धि, पूर्वसूचनामा बेवास्ता, अन्य कार्यलाई बढी प्रथामिकता दिँदा शीतलहरजस्ता विपत व्यवस्थापनको कार्य प्रभावकारी हुन सकेको छैन । राज्यले पनि कम प्रथामिकतामा राख्दा पूर्वतयारीमा लगानी न्यून रहेको सरोकारवालाको गुनासो छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वि.सं. २०६८ देखि हालसम्म शीतलहरका कारण सबैभन्दा बढी रौतहट जिल्लामा मृत्यु बढी भएको देखिन्छ । शितलहरका कारण रौतहटमा मात्रै ६३ जनाले ज्यान गुमाएका छन् । यसैगरी ११ वर्षको अवधीमा सप्तरीमा १९ जना, महोत्तरीमा १५ जना, सिराहामा ११ जना, धनुषमा ४ जना, बारामा २ जना र झापा र नवलपरासीमा १÷१ जना गरी ११६ को मृत्यु भएको छ ।

२०६८ साल वैशाखदेखि चैतसममको अवधिमा मात्रै ६६ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यसैगरी वि.सं २०७४ भने ४८ जनाको शीतलहरको कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ । २०६८ र ०७४ बाहेक अन्य वर्षहरुमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो ताप्दा, हिटर ताप्दा भने सर्वसाधरणहरुको मृत्यु भएको पाइन्छ ।

प्राधिकरणको अनुसार बढी प्रभावितः सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा पर्सा नवलपरासी पश्चिम र कपिलवस्तु गरी ११ जिल्ला रहेका छन् भने झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्ला भने कम प्रभावित जिल्लामा पर्छन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले शीतलहरको जोखिम भएका जिल्ला र कम जोखिम भएको जिल्ला पहिचान गरेर रकम पठाउने, स्थानीय तहलाई सवल बनाउने, सूचना प्रवाह गर्ने काम भइरहेको बताएका छन् ।

सम्भावित प्रकोप, त्यसको प्रभाव क्षेत्र, प्रभावित परिवार तथा जनसंख्याको पहिचान गरी खाध्यान्न, न्यानो कपडा, कम्बल, दाउरा काठ उपलब्ध गराउँदै आएको गहृ मन्त्रालयको भनाइ छ । अध्ययानले तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्ने र यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ ।

प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुने विज्ञको भनाइ छ । विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले शीतलहरबाट मानविय क्षति कम गर्नका लागि शीतलहर प्रतिकार्य योजना बनाए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए । चिसो तथा शीतलहरबाट कसरी बच्ने भन्ने सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

दाउरा र हिटर बाल्दा आगोलागीको डर

पछिल्लो २४ घण्टामा मात्रै ८ स्थानमा आगलागीका घटनाहरु भएको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चिसोको समयमा हिटर बालेर सुत्ने, दाउरा तथा कोइला बाल्दा आगलागीका घटनाहरु बढ्ने गरेको छ । विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले चिसोको समयमा दाउरा तथा कोइला ताप्दा हुने आगलागीका घटनाहरु बढिरहेको भन्दै जनचेतना जगाउन आवश्यक रहेको बताए ।

तीन दिन चिसो बढ्ने

आगामी तीन दिनसम्म देशभर अत्यधिक चिसो बढ्ने विज्ञहरुको भनाइ छ । पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन उनीहरुले आग्रह गरेका छन् ।

“पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ, आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आवश्यक छ,” विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती भन्छन्, “पश्चिमी वायुका कारण चिसो बढिरहेको र अब मंगलबारसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भएकाले सावधानी अपनाउन आवश्यक छ ।”

उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए । उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए ।

उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढिरहेको बताए । न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढाउने भएकाले ४ जनवरीसम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्