Logo

पाँच दशकमा पूरा भयो सपना

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि सञ्चालनमा आउँदैछ । निर्माण कार्य सकिएलगत्तै विमानस्थल सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रम गौतमका अनुसार विमानस्थल उद्घाटनको जिम्मा पोखरा महानगरपालिकाले पाएको छ ।

महानगरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख गौतमले विमानस्थल सञ्चालन गर्न आवश्यक प्राविधिक तथा अन्य तयारी पूरा भएको जानकारी दिए । अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न कम्पनीसँग छलफल भइरहेको बताउँदै उनले हालसम्म हवाई रुटको अनुमति नपाएका कारण तत्काल विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुने जानकारी दिए ।

विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए । गौतमले भने, “कति बिजेनस प्राप्त हुन्छ, त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो । हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौं ।”

जग्गा अधिग्रहणको चार दशकपछि निर्माण सुरु
-चिनियाँ एक्जिम बैंकको २२ अर्ब ऋण र अनुदान
-दुई प्रतिशत ब्याजदर र अन्य सेवा शुल्क, २० वर्षमा २६ किस्ता तिर्नुपर्ने
-कुल क्षेत्रफल ३ हजार ८ सय ९९ रोपनी
-दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य
-बुद्ध एयर, जजिरा, थाई, हिमालय, कतार एयरवेजलगायतको चासो

हाल सञ्चालनमा रहेको विमानस्थलबाट भने साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट उडानमात्र हुनेछ । बाँकी सबै उडान नयाँ विमानस्थलबाट गरिनेछ । बुद्ध, यतीलगायतका एयरलाइन्स कम्पनीहरूले नयाँ विमानस्थलबाट परीक्षण उडान गरिसकेका छन् ।

बुद्ध एयरले पोखरा–बनारस उडानको तयारी गरे पनि भारतबाट अनुमति पाएको छैन । पोखराबाट ४–५ घण्टाको उडान हुने गरी जजिरा, थाई, हिमालय, कतार एयरवेजलगायतका कम्पनीहरूले चासो दिएको र अन्य एयरलायन्स कम्पनीसँग पनि कुराकानी भइरहेको प्रमुख गौतमले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ खर्च भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । सन् २०२१ को जुलाई १० अर्थात् गत असार २६ भित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुनेगरी चीनको सीएएमसी कम्पनीले जिम्मा लिएकोमा कोरोना महामारीका कारण समयभित्र नसकिएपछि कम्पनीले ६ महिना समय थप गर्न प्रस्ताव गरेको थियो ।

पोखरा विमानस्थलको करिब ३ हजार ८ सय ९९ रोपनी जग्गा छ, जसमध्ये ९९ प्रतिशत आयोजनाको नाममा आएको छ । २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै स्थानीयले जग्गा अधिग्रहण गरी ३१ सय ६ रोपनी जग्गा व्यवस्थापन गरेका थिए । अन्य थप जग्गा आयोजनाले चरणबद्ध रुपमा अधिग्रहण गरेको हो ।

यो परियोजनाका लागि २ प्रतिशत ब्याजदरमा २० वर्षमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ वर्ष (ग्रस अवधि) मा कुनै किस्ता तिर्नु पर्दैन भने त्यसपछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ । लगानीको ७५ प्रतिशत रकममा मात्र २ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । १३ वर्षसम्म २६ किस्ता तिर्नुपर्दा ६÷६ महिनामा ब्याज र साँवा गरी करिब ४७ करोड तिर्नु पर्नेछ । वार्षिक रुपमा ब्याजमात्रै करिब ३२ करोड लाग्नेछ ।

महानगरको यस्तो छ तयारी

सरकारले विमानस्थल उद्घाटन गर्ने जिम्मा पोखरा महानगरपालिकालाई दिएको छ । विमानस्थल उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । महानगरका मेयर धनराज आचार्यले ४७ वर्षपछि बनेको पोखरा विमानस्थलको आइतबार भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

महानगरले आइतबार सार्वजनिक बिदा दिँदै सम्पूर्ण पोखरेलीलाई उद्घाटन कार्यक्रममा आमन्त्रण गरेको छ । मेयर आचार्यले पर्यटन सम्बद्धसहित अन्य विभिन्न संघ–संस्था तथा सम्पूर्ण पोखरेलीलाई समारोहमा सहभागिताका लागि आग्रह गरे । पोखराको अमरसिंह चोकमा बिहान १० बजे भेला भई विभिन्न जातजातिको भेषभुषामा झाँकीसहितको र्‍याली पोखरा विमानस्थल उद्घाटन समारोहस्थलमा पुग्नेछ ।

उद्घानटन सत्र बिहान हुने र साँझ आतिसबाजी, फेसन शो तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने तय भएको छ । महानगरले केही दिनदेखि पोखरा सफाइ अभियान कार्यक्रमसमेत चलाइरहेको छ । महानगरको पहलमा पुरानो विमानस्थलदेखि नयाँ विमानस्थलको मूल गेटसम्म करिब १२ सय मिटर दूरीमा ३–३ मिनेटमा बस छुट्ने गरी व्यवस्था मिलाइएको छ भने मूल गेटबाट करिब १० मिनेटमा छुट्ने गरी लेकसाइडसम्म जाने–आउने बसको व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा तत्कालीन अञ्चलाधीश तथा पोखरा निर्माणमा अग्रणि भूमिका खेलेका एवं विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई विषेश सम्मान गरिनेछ । विमानस्थल सञ्चालनमा समस्याका रुपमा देखिएको पोखराको पुरानो ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न रोकिएको जानकारी दिँदै मेयर आचार्यले यसको विकल्प खोजिने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्नेमा आफूहरू सचेत भएको बताउँदै त्यसको लागि आवश्यक पहल गर्ने बताए ।

काठमाडौंपछि दोश्रो धेरै पर्यटक भित्रिने सहरको रुपमा रहेको गण्डकी प्रदेशको राजधानी पोखराले सिधा अन्तर्राष्ट्रिय उडान गर्ने अवसर प्राप्त गरेको बताउँदै उनले क्षेत्रको विकासका लागि पहिलो आधार नै विमानस्थल हुने उल्लेख गरे । अन्तर्राष्ट्रिय उडानमा आकर्षण बढाउन र पर्यटक बढाउन विषेश प्याकेज तथा छुटका कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्