प्रभु बैंकको २१औं वार्षिक साधारणसभा

प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको हो ।
बैंकको साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्ने गरी उक्त बैंकलाई प्राप्ति (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतिबाट पारित/अनुमोदन गरेको छ ।
यस्तै बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारण सभाले ६.५० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।