Logo

गण्डकीको गन्तव्य पर्यटन

अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल मोडल ट्रेक, पुन हिल, मुक्तिनाथ मन्दिरलगायतका पर्यटकीय एवं धार्मिक क्षेत्र विश्वकै चर्चित पर्यटकीय गन्तव्यहरू गण्डकी प्रदेशमा भएकाले गर्दा यहाँ विश्वका जो कोही पर्यटकहरू आउन लालायित हुनु स्वाभाविक हो ।

प्रकृति र संस्कृतिको धनी प्रदेश गण्डकी, हिजो, आज र भोलि पर्यटनबाटै आफ्नो प्रदेशबासीको आर्थिक विकास र समृद्धि गाउने प्रयासमा रहेको छ । करिब चार दशकभन्दा लामो समयको प्रतिक्षापछि पोखराबाट सिधै अन्तर्राष्ट्रिय हवाई उडान हुने अन्तिम तयारी भइरहँदा यस क्षेत्रमा रहेका सडक कनेक्टिभिटि भने कमजोर भएकाले त्यसको तत्काल सुधार गरी हवाई र सडकमार्ग हुँदै प्रदेश आउने पर्यटकलाई स्वागत गर्न प्रदेशबासी आतुर भएका छन् ।

जनवरीबाट हालै निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न जडान उपकरणहरूको क्षमता परीक्षणका लागि गरिएको क्यालिब्रेसन उडान (फ्लाइट) सफल भएसँंगै अब पोखरादेखि पहिलो चरणमा भारतसम्म उडान हुने भएको छ । एक सातासम्म भएको फ्लाइटपछि एरो थाई कम्पनीले विमानको क्यालिब्रेसनको बखत विभिन्न यान्त्रिक परीक्षण सफलतापूर्वक पूरा गरिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । कम्पनीले प्रतिवेदन बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने उनले जनाए ।

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको जहाज पोखरा ल्याइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए । राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रूपमा हेरिएको छ भने गण्डकी प्रदेशबासीले आफ्नो विकासको इन्जिनको रूपमा लिएको पाइन्छ ।

हवाई उडान हुँदै प्रदेश भित्रिने पर्यटकहरूका लागि अब सडक मार्ग हुँदै पर्यटकीय गन्तव्यमा जानका लागि सहज यातायाताको व्यवस्थापनमा ध्यान दिन व्यवसायीहरूले माग गरेका छन् । अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल मोडल ट्रेक, पुन हिल, मुक्तिनाथ मन्दिरलगायतका पर्यटकीय एवं धार्मिक क्षेत्र विश्वकै चर्चित पर्यटकीय गन्तव्यहरू गण्डकी प्रदेशमा भएकाले गर्दा यहाँ विश्वका जो कोही पर्यटकहरू आउन लालायित हुनु स्वाभाविक हो । हिजो, आज र भोलि पनि यस प्रदेशबासीको आर्थिक विकास समृद्धिको आधार पर्यटन नै हुन्छ ।

सामान्यतया भन्ने गरिन्छ एक विदेशी पर्यटक नेपाल आउँदा ८, ९ जनाभन्दा बढी नेपाली त्यसबाट प्रभावित हुने गर्छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने मिति तय गरेसँगै निजी क्षेत्रको चर्चित वायुसेवा कम्पनी बुद्ध एयरले सो विमानस्थलबाट छिमेकी देश भारतमा उडान प्रारम्भ गर्ने तयारी गरेको हो । पोखरादेखि भारतको बनारस, दिल्ली र देहरादुनमा उडान भर्ने भएको हो । गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा रहेको अर्को राष्ट्रिय गौरवको योजना हो कोरोना त्रिवेणी सडक खण्ड ।

यो करिब चार सय किलोमिटर क्षेत्र रहेको उक्त सडक खण्डमा विभिन्न खण्ड खण्ड गरी सडक स्तरोन्नतिको कार्य तीव्र पारिएको छ । प्रदेशको उत्तरी नाका चीनको कोरोलादेखि दक्षिणी नाका भारतको त्रिवेणीसम्म सडक सञ्जाल सञ्चालन गर्नसके यस प्रदेशको आर्थिक विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुने दाबी गरिएको छ ।

योसँगै प्रदेशमा कृषि, ऊर्जा, जडिबुटी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा उत्तिकै सम्भावना रहेको प्रदेश हो । यस प्रदेशको अबको गन्तव्य भनेकै मुख्य रूपमा पर्यटन नै हुन आउँछ । पर्यटनबाटै यस प्रदेशको समग्र विकास र समृद्धि हासिल गर्न सकिन्छ । गण्डकी प्रदेशमा साहसिक खेल गतिविधिले पनि लाखौं पर्यटक आकर्षण गर्न सकिन्छ ।

गण्डकी प्रदेशमा रहेका ११ जिल्लामध्ये कुन जिल्लामा कुन विषय वस्तु वा कृषि उत्पादनका हिसाबले महत्व राख्छ, त्यसको राम्रोसँग बजार प्रवर्द्धन गरी विभिन्न जिल्ला, प्रदेश हुँदै विदेशसम्म पुर्‍याउन सडक सञ्जाल र अन्तर्राष्ट्रिय हवाई उडानले महत्वपूर्ण भूमिका खेल्ने भएको छ । पोखरा गण्डकी प्रदेशको राजधानी हुनुले यस प्रदेशको करिब बीच भाग रहेकोले अन्य जिल्लासंँगको कनेक्टिभिटिसमेत विस्तार गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशको हालको अवस्था कस्तो छ केही तथ्यांक

गण्डकी प्रदेशमा हाल १४.९१ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि, २६.१ प्रतिशत जना मानवीय गरिबीको रेखामुनी र १४.२ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको गण्डकी प्रदेशको अर्थ मन्त्रालयले हालै प्रकाशन गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । २०७८/०८० को उक्त सर्वेक्षणमा गण्डकी प्रदेशमा २०७८/७९ को चैत मसान्तरसम्मको तथ्यांकअनुसार कालोपत्रे गरिएको सडक ६ सय ८० किलोमिटर, ग्राबेल सडक १ हजार २ सय ५८ किलोमिटर, कच्ची सडक ९ हजार ५ सय ९६ किलोमिटर गरी कुल ११ हजार ४ सय ९४ किलोमिटर रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा गण्डकी प्रदेशको प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर १ हजार ४ सय ३७ पुगेको छ यसमा नेपालको समग्र हेर्दा प्रतिव्यक्ति आम्दानी भने १ हजार ३ सय ७२ रहेको छ । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरे पनि अझै ३.३ प्रतिशत साक्षर बनाउनु पर्ने अवस्था छ । प्रदेशका ११ वटै जिल्लामा हेर्दा ९६.५७ प्रतिशत साक्षरत भएको सर्वेक्षणमा जनाइएको छ । प्रदेशमा २ वटा विश्व विद्यालय, १६ आंगिक क्याम्पस, ८३ सामुदायिक क्याम्पस, ५२ वटा निजी गरी कुल १ सय ५२ उच्च शैक्षिक संस्थाहरू रहेका छन् भने प्रदेशमा ३ हजार ९ सय ८७ वटा विद्यालय रहेका छन् ।

गण्डकी प्रदेशमा पनि स्वास्थ्य बिमा लागू भएको छ । करिब २ लाख २० हजार ८ सय २२ घर परिवारको ६ लाख ४६ हजार २ सय ५९ जनाको बिमा गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । कोभिड–१९ का कारण प्रदेशमा १ हजार ४ सय ६७ जनाको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीमा ६ सय ४० सबैभन्दा धेरै र मनाङमा सबैभन्दा कम २ जनाको ज्यान गएको हो । प्रदेशमा १ लाख ४ हजार ६ सय २७ जना शंक्रमित भए ।

केन्द्रीय तथ्यांकक विभागअनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालको कुल गार्हस्थ उत्पादन प्रचलित मूल्यमा ४८ खर्ब ५१ अर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको छ भने गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ मा कुल ग्रार्हस्थ उत्पादन प्रचलित मूल्यमा ४ खर्ब ३१ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालको कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको ८.९ प्रतिशत योगदान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७ सय ४५ जना बसोबास गर्छन् । गण्डकी प्रदेशमा ५ सय ६५ मेगावाट जलविद्युत उत्पादन हुने गरेको छ । नेपालमा २ हजार २३ मेगावाट जलविद्युत् उत्पादन हुने गरेको तथ्यांक आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख भएको छ गण्डकी प्रदेशमा पर्यटन लक्षित घरबास (होमस्टे) कार्यक्रम पछिल्लो समयमा निकै प्रभावकारी र आर्थिक चलायमान बनाउदै आएको दाबी गरिएको छ । प्रदेशमा कास्कीमा ४० सहित २ सय ८१ वटा होमस्टे संचालन भएको प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पदयात्रा पर्यटनको हवको रुपमा रहेको गण्डकी प्रदेशमा नेपाल आउने पदयात्री पर्यटकहरूमध्ये करिब ५२ प्रतिशत प्रदेशमा आउने गरेको तथ्यांकमा उल्लेख छ । २०५८/५९ देखि २०७७/७८ सम्ममा पदयात्राका लागि नेपाल आएका २ लाख ११ हजार ७ सय ५३ विदेशी पर्यटकहरूमध्ये ५२ प्रतिशतले १ लाख १० हजार ३ सय ४९ जना पदयात्री गण्डकी प्रदेशको विश्वकै प्रख्यात अन्नपूर्ण पदमार्गलगायतका क्षेत्रमा घुमघाममा निस्केको उल्लेख गरिएको छ ।

गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रको जनसंख्या २४ लाख १३ हजार ९ सय ७ जना रहेको छ भने यस प्रदेश २१ हजार ५ सय ४ बर्ग किलोमिटर फैलिएको छ । गण्डकी प्रदेश सरकार स्थापना वर्ष २०७४/०७५ मा १ अर्ब २ करोड बजेट विनियोजन भएकोमा चालू आर्थिक वर्ष २०७९/०८० मा आउँदा ३५ अर्ब ९० करोड ९० लाखको बजेट विनियोजन भएको छ ।

योजना आयोगका उपाध्यक्ष डा. काफ्ले

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना भएकाले गुणस्तरीय भौतिक पूर्वाधार निर्माणले गुणस्तरीय पर्यटक भित्राउँदै पर्यटकको बसाइ अवधि बढाउनुको साथै पर्यटकले खर्चसमेत बढी गर्ने वातावरण सिर्जना गर्न सके यसैबाट प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने दाबी गरे ।

विश्वकै दुई ठूला मुलुक चीन र भारतको कनेक्टिङ सडक सञ्जाल प्रभावकारी बनाउन सकेको खण्डमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न सहज हुने र नेपालमा संचालन हुने उद्योग धन्दालाई आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्नसमेत सहज हुने उनले बताए । राम्रो सडक पूर्वाधार निर्माण भएको तथा प्रभावकारी रुपमा सडक कनेक्टिभिटि भएको अबस्थामा नेपालको पर्यटन प्रबद्र्धनसँगै यहाँको व्यापारसमेत प्रवर्द्धन हुने उपाध्यक्ष डा. काफ्लेको भनाइ छ ।

उनले भने, “गण्डकी प्रदेश, प्रदेश र नेपालको मात्र नभई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेकोले हामीले यहाँ दुई छिमेकी मुलुक चिन र भारतबाट कम्तीमा एक प्रतिशत मात्र पर्यटक भित्र्याउन सकेको खण्डमा मात्रै हाम्रो आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ ।” भूकम्प र कोभिड–१९ भन्दा पहिला पोखरा क्षेत्रमा करिब वर्षमा १० लाख पर्यटक भित्रिएको तथ्यांक भए पनि त्यसमा ४० प्रतिशत मात्र विदेशी पर्यटकहरू भएकोले अब त्यो संख्या दोब्बर पार्ने गरी हामीले पर्यटन पूर्वाधार निर्माण पर्यटनमैत्री वातावरण, लगानी भित्राउनका लागि लगानी मैत्रि वातावरण समेत बनाउनुपर्ने भएको उपाध्यक्ष काफ्लेले जनाए ।

सामान्यतया हाल पोखरा क्षेत्रमा आउने विदेशी पर्यटकले दैनिक ५० देखि ५५ डलर मात्र खर्च गर्ने र उनीहरूको ५ दिनको बसाइ अवधि भएको अवस्थामा हरेक हिसावले खर्च गर्ने र बसाइ अवधि लम्ब्याउने गरी पर्यटन क्षेत्रमा लगानी र पहिचानसहित प्रवर्द्धन गर्न आवश्यक भएको उनले बताए । उनले भने, “पर्यटकहरूको बसाइ अवधिसहित खर्च बढाउनका लागि उनीहरूलाई मनोरन्जन गराउने स्थलहरूको पहिचान, सूचना प्रविधिको पहुँच, शान्ति सुरक्षा, गोपनीयता जस्ता कुरामा विशेष ध्यान दिदा पर्यटकहरूको बसाई अवधि र उनीहरूले गर्ने खर्चमा समेत वृद्धि हुनेछ ।”

निजी क्षेत्रको अर्बौं लगानी भएको पर्यटन क्षेत्रमा राज्यको कम लगानी भएको बताउँदै उपाध्यक्ष डा. काफ्लेले पर्यटनका ठूला पूर्वाधारमा विस्तारै राज्यले लगानी बढाउन थालेको उल्लेख गरे । लगानीकर्तालाई प्रदेशमा गर्ने लगानीको सुरक्षाको राज्यले प्रत्याभूति गराउन सक्नु पर्ने उनको धारणा छ । गण्डकी प्रदेश पर्यटनसँगै कृषि, जलविद्युतमा समेत उत्तिकै सम्भावना भएको प्रदेश भएको दाबी गर्दै उपाध्यक्ष काफ्लेले मासु, अण्डा, दुध र आलुमा प्रदेश आत्मनिर्भर भएको उल्लेख गर्दै अब अन्य प्रदेश हुँदै विदेशसमेत निर्यात गर्न सक्ने गरी लगानी बढाउनुपर्ने दाबी गरे ।

गण्डकी प्रदेशमा सौर्य र बायु ऊर्जाको समेत उतिकै सम्भावना भएको प्रदेश भएको उनको बुझाई छ । प्रदेशमा अझै केही ठाँउमा विद्युत् ट्रासमिसन लाइन समेत विस्तार गर्नुपर्ने, प्रसारण लाइन अझै कमजोर भएको दाबी गर्दै उपाध्यक्ष डा. काफ्लेले लिफ्टिङ सिँचाइ योजना, आकासे पानी संकलन जस्ता कार्य गर्न सके धेरै ठाँउमा कृषि उत्पादनसमेत बढाउन सकिने दाबी गरे ।

कृषि र जडिबुटीबाट समेत प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने अर्को सम्भावना भएको उनले बताए । उत्पादनका पकेट क्षेत्रको रुपमा पहिचान गरी बढी मूल्यवान र बढी उत्पादन हुने फलफूल तरकारीदेखि अन्य वस्तुहरू उत्पादनमा विशेष जोड दिनुको विकल्प नभएको उपाध्यक्ष डा. काफ्लेले बताए ।

अर्थशास्त्री भट्टराई

अर्थशास्त्री लेखनाथ भट्टराईले प्रदेशको अबको बाटो प्रतिव्यक्ति आम्दानी बढाउने, रोजगारको सृजना गरी, उत्पादन बढाउने, ठूलो धन राषि खर्च भइरहेको आयात नीतिलाई प्रतिस्थापन गरेमा आर्थिक विकास र समृद्धि हुने उनको दाबी छ । नेपालको युवा शक्तिलाई विदेश पठाएर रेमिट्यान्सको भरमा देशमा आर्थिक विकासको कुरा गर्नु मिथ्या हुने उनको भनाइ छ ।

भूकम्प र त्यसपछि विश्वव्यापी महामारी कोभिड–१९ ले प्रभावित भएको उद्योगधन्दा, व्यापार व्यवसाय विस्तारै सामान्य अवस्थामा फर्किएको बताउँदै अर्थशास्त्री भट्टराईले भौतिक संरचना प्राप्त नभएकाले गर्दा भौतिक संरचना निर्माण गर्नुपर्ने बताए । उत्तरमा चिनको कोरोना नाका र दक्षिणमा भारतको त्रिवेणी नाका सडक खण्ड पूर्णरूपमा संचालन गर्न सके प्रदेशको लाइफ लाइन नै हुने उनको भनाइ छ । गण्डकी प्रदेशमा कृषि र पर्यटनको समेत उतिकै सम्भावना भएकोले यसबाट आम प्रदेशवासीले फाइदा लिन सक्नुपर्ने उनको बुझाइ छ ।

संघीयताको पहिलो ५ वर्षमा गण्डकी प्रदेश सरकारले प्रदेशको संरचना निर्माण, प्रशासनिक संस्थागत विकासका लागि आवश्यक पर्ने कानुन संस्थागत गरिएको उनले बताए । प्रदेश सरकारले उज्यालो प्रदेश, एक घर एक धारा, पूर्ण साक्षण प्रदेश घोषणाजस्ता अभियानले आम प्रदेशवासी लाभान्वित भए । पोखरामा हाल निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अब अन्तर्राष्ट्रिय हवाई उडानको प्रबन्ध गर्नुपर्ने अर्थशास्त्री भट्टराईले बताए ।

उनले भने, “पोखराबाट सिधै चाइना, भारत हुँदै अन्य मुलुकबाट पोखरामा विदेश पर्यटक ओराल्न सके प्रदेशको आर्थिक विकास र समृद्धिको एउटा कोसेढुंगा सावित हुने छ ।” यदि समयमै विमानस्थल संचालन नगरी आलटाल गर्न लागियो भने २३ अर्बमा लगानी भएको उक्त विमानस्थलको ऋण कसरी तिर्ने प्रश्न उठ्न सक्छ ।

पोखरा पर्यटनपरिषद् अध्यक्ष श्रेष्ठ

गण्डकी प्रदेशको विकासको प्रमुख आधार भनेकै पर्यटन भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरा पर्यटनको राजधानीका रूपमा स्थापित हुँदै गर्दा पोखरा र पोखरा वरिपरिका क्षेत्र पर्यटनको भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्दै पर्यटकीय स्थलहरूको प्रमोशन गर्न जरुरी भएको उनले बताए ।

गण्डकी प्रदेशको लाइफ लाइनको रुपमा रहेको त्रिवेणी कोरोला सडकखण्ड दक्षिण तराईको त्रिवेणी नाकादेखि उत्तरी क्षेत्रको कोरोला नाकाको हिमालसम्म यही प्रदेशमा पर्नुले यहाँको विकासमा ठूलो महत्व र अर्थ राख्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । गण्डकी प्रदेशमा विकासको अर्को मुख्य आकषर्णको केन्द्रको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउनु यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा एउटा कोषेढुगा सावित हुने भएको श्रेष्ठको बुझाइ छ ।

छिमेकी मुलुक भारत र चाइना हुँदै एसियन मुलुकका विदेशी पर्यटकहरूलाई नेपालको पोखरामा सिधै हवाई उडान हुँदै ल्याउने वातावरण हुन सकेको खण्डमा यस प्रदेशसहित नेपालको आर्थिक विकासमा यसले धेरै टेवा पुर्‍याउने उनको दाबी छ । जनवरी १ तारिक देखि जसरी पोखरा विमानस्थलबाट सुरुवातमा भारतसम्म अन्तर्राष्ट्रिय हवाई उडान गर्ने तयारी गरेको अबस्थाले पनि आफूहरू निकै उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए ।

निजी एयरलायन्स कम्पनहीरूलाई सरकारले केही सहुलियतका प्याकेज दिएर तथा आगन्तुक पर्यटकहरूलाई समेत केही छुटसहितका प्याकेजसहित पर्यटकहरूलाई आकर्षण गर्नुपर्ने उनले जनाए । पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, निजी कम्पनीहरूको सहकार्यमा विभन्नि प्याकेजसहित विदेशसम्म जानुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

मन्त्री थापा

नवनिर्वाचित प्रदेशसभा सदस्य एंव गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले ५ वर्षमा गण्डकी प्रदेशको आधारभूत कुराहरूको व्यबस्थापन भई अब आर्थिक विकास र समृद्धिको बाटोमा लम्किने बताए । गण्डकी प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्यमशीलता र पूर्वाधार निर्माण गर्नु अबको गन्तव्य हुने उनले जनाए ।

सुशासन कायम गरी भ्रष्टचार नियन्त्रण गर्दै रोजगारको अवसर सिर्जना गर्नु प्रमुख दाहित्व भएको मन्त्री थापाको भनाई छ । शिक्षा र स्वास्थ्यलाई अब विस्तारै निःशुल्क सेवा उपलब्ध गराउने अभियान सुरु गर्नुपर्ने उनले बताए । विद्यालयहरूमा स्तरोन्नति गरी प्राविधिक र सिपमुलक शिक्षामा जोड दिने, उच्च शिक्षा हासिल गर्न विदेश जाने गरेको क्रमलाई यही प्रबन्ध गरी रोक्न सक्नुपर्ने उनको भनाइ छ ।

पोखरा विमानस्थल संचालनमा केही बाधा अबरोध आए पनि त्यसलाई छिट्टै व्यवस्थापन गरी नियमित संचालनका लागि आवश्यक प्रबन्धन गर्नुपर्ने मन्त्री थापाले बताए । पोखरामा नयाँ विमानस्थल निर्माण भएसंगै विदेशमा हवाई उडानको लागि हवाई रुटको व्यबस्था गरी पोखरामा सिटि र क्षेत्रीय बसपार्क निर्माण गर्नुपर्ने उनले जनाए । प्रदेशको राजधानी पोखरामा सहरी जनघनत्व बढेका कारण पोखरामा चक्रपथसमेत निर्माण गर्नुपर्ने मन्त्री थापाले बताए ।

गण्डकी प्रदेशमा अब स्वास्थ्यमा सुधार गरी बिशिष्टिकृत अस्पताल स्थापना गर्नुपर्ने उनले बताए । क्यान्सर, किड्नी टान्सर्फरलगायतका रोगीका बिरामीहरूको भन्दा मुटु रोगीका बिरामीहरूको लागि पोखरामा बिशिष्टिकृत अस्पताल स्थापना गर्न आवश्यक भएको मन्त्री थापाले बताए । गम्भीर प्रकारका मुटुका बिरामीहरूले पोखराबाट हेलिकोप्टर चार्टर गरेर अन्यत्र उपचार गर्दा चर्को शुल्क अर्काेतर्फ ज्यानसमेत जोखिममा भएकोले त्यसको व्यवस्था हरेक प्रदेशमा हुनुपर्ने उनको भनाइ छ ।

पढ्दै कमाउँदै गर्ने अभियान जसरी विदेशीमा नेपालीहरूको आकषर्ण हुने गरेको छ त्यसलाई अब स्देशमा पनि लागु गरी विदेश जाने बिद्यार्थीलाई नेपालमै रोकी विदेशबाट समेत नेपाल आउने वातावरण मिलाउनु पर्ने मन्त्री थापाको भनाइ छ । नेपालको प्लस टु पढेर सकेको विद्यार्थी र १५ दिनको कफि बनाउने तालिम लिएको युवाहरू बजारमा जादा १५ दिने तालिम लिएको युवाले पहिला रोजगार पाउने वातावरण भएको मन्त्री थापाले बताए ।

कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न कृषिमा यान्त्रिकीकरण गरी विषादी रहित कृषि उत्पादनमा जोड दिनु आजको आवश्यक भएको उनले बताए । प्रदेशको लाइफलाइनको रूपमा रहेको कोरोना त्रिवेणी सडक स्तरो उन्नतीसंगै दुवै देशको नाका खुला गरी व्यापारीक र पर्यटक आगमनको लागि महत्वपूर्ण भूमिका खुल्नुपर्ने जसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

सांसद विद्या भट्टराई

गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा केही कुरामा मौलिकता भएको कास्की २ बाट नवर्निर्वाचित सांसद विद्या भट्टराइले बताइन् । गण्डकी प्रदेशमा असाध्यै धेरै प्राकृतिक स्रोत र सम्पदाहरू रहेको दाबी गर्दै उनले त्यसको संरक्षणसहित उचित ढंगले व्यवस्थापन गरी प्रयोगसमेत गर्न सक्नुपर्ने जसले आर्थिक विकास र समृद्धिमा एउटा इँटा थप्ने काम गर्ने उनको बुझाइ छ ।

प्राकृतिक स्रोत साधन तथा सम्पदाको संरक्षण सहित त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्दै हामीसंँग भएको सीमित श्रोत साधानलाई अधिक रुपमा प्रयोग गर्नु पर्ने सांसद भट्टराईको भनाइ छ । गण्डकीलाई हामीले समग्र पर्यटनको सम्भावना भएको क्षेत्र भनेर भनिरहेको अवस्थामा यसबाट प्रदेशवासीले अधिक फाइदा लिनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्