अनुदानमा आएको स्काभेटर अलपत्र

छ महिना अघि चिनियाँ अनुदानमा एउटा स्काभेटर दोलखाको गौरीशंकर गाउँपालिका आइपुग्यो । तर धमाधम स्काभेटरले काम गर्नु पर्ने बेला सडकमै स्काभेटर अलपत्र परेको छ । चीनसँग सिमा जोडिएका १४ जिल्लालाई सडक निर्माणमा सहयोग पुग्ने गरी चीन सरकारले अनुदानमा उपलब्ध गराएको थियो । त्यो स्काभेटर गत जेठ अन्तिम साता भन्सार छुटसहित रसुवा नाकादेखि गाउँपालिका आफैंले ल्यायो ।
गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तमाङका अनुसार जब साउनमा गौरीशंकर गाउँपालिका वडा नं. ५ सामलीमा बाढी र पहिरोले गाउँपालिका जाने सडक नै अवरोध भएपछि त्यही डोजर प्रयोग भयो । ४० घण्टा जति चल्दा काम सकियो । त्यही डोजर अन्यत्र सडक सफा गर्न भनेर पिखुती पुल तारेर वडा नं. २ पुगेपछि मेसिन चल्नै छाड्यो ।
स्काभेटर अघिपछि जान्छ तर अन्य पार्ट नचल्ने भयो । २ महिना जति पिखुतीमै राखेको स्काभेटर अहिले वडा नं. ३ मा राखिएको छ । लिन्कन नामक स्काभेटर बनाउन गाउँपालिकाले धेरै मिस्त्रीहरुलाई पनि देखायो तर भाषागत समस्या स्काभेटर कम्पनीसँगको समस्पर्कमा पुग्न नसक्दा अहिलेसम्म स्काभेटर चल्न सकेको छैन ।
गाउँपालिकाले स्काभेटर बनाउन आफ्नो पहुँचले भ्याएसम्म मेकानिकल इन्जिनियर र मिस्त्री बोलाए । सुरुमा धेरैलाई चिनियाँ भाषागत समस्या पनि भयो । चिनीया भाषा जान्ने मिस्त्री पनि ल्याए । तर अन्यत्र पनि आएको स्थानीय तहमा बुझ्दा पत्ता लाग्यो अन्यत्रको अवस्था पनि उस्तै रहेछ । एक करोड ३५ लाख पर्ने स्काभेटरका लागि सरकारले भन्सार छुट गरेर रसुवागढी नाकाबाट गाउँपालिकासम्म ल्याएको थियो । गुड्ने तर अरु पाट्स नचल्ने अवस्था छ ।
‘अहिले स्काभेटर निर्माता कम्पनी लिंकनमै सम्पर्क गर्ने कोसिस गरिरहेका छौं’ उपाध्यक्ष तमाङले भने ‘तर चिनियाँ सरकारले जुन कम्पनीसँग खरिद गरेर अनुदान दियो, त्यो कम्पनीले सरकारलाई कर नतिरेका कारण त्यसका उत्पादन सबैमा सरकारले नै लक गरिदिएको रहेछ ।’ कम्पनीले कर बुझाएपछि लक खुल्ने यहाँका स्थानीय तहले अनुमान गरेका छन् । अनुदानमा स्काभेटरका लागि आवश्यक केही पाट्सहरु पनि उपलब्ध गराएको छ ।
स्काभेटर पाउने स्थानीय तहमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, धादिङको रुबिभ्याली गाउँपालिका, गोरखाको चुमनुब्री गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका, मुस्ताङको नोमांथाङ गाउँपालिका, बझाङको तालकोट गाउँपालिका, डोल्पाको से फोक्सुण्डो गाउँपालिका, मुगुको मुगुम कार्मारोड गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका र दार्चुलाको मार्मा गाउँपालिका रहेका थिए ।