Logo

मलको असन्तुलित प्रयोगले उर्वरा शक्तिमा ह्रास

दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने काम गरी रहेको छ । माटोको परीक्षण बिना खेती गर्ने र असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषि विज्ञ बताउँछन् ।

मलको असन्तुलित प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम देखिने र उत्पादनमा ह्रास ल्याउने काम गरी रहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महराले बताइन् । कृषि उत्पादन बढाउने उद्देश्यले किसानहरुले युरिया, डिएपी लगायतको रासायनिक मलको अत्यधिक प्रयोग गर्ने र यसले वर्षेनी माटोको उर्वरा शक्तिमा कमी ल्याउने काम गरी रहेको उनको भनाइ रहेको छ ।

जिल्लामा किसानले धान, मकै, तोरी, मसुरो, गहुँलगायतका तरकारी बालीको उत्पादन बढाउनका लागि युरिया, डिएपीलगायतको मलसँगै किटनासक औषधी बढी प्रयोग गर्ने गरेका छन् । किसानले प्राङगारिक मलका रुपमा गाई वस्तुको गोबरसँगै केही उद्योगहरुले उत्पादन गरेको प्राङगारिक मलको प्रयोग गर्ने गरेपनि अधिकांश किसानहरुले रासायनिक मलको प्रयोग गर्ने गरेका छन् ।

जसले गर्दा माटोलाई चाहिने आवश्यक पर्ने तत्व परिपूर्ति हुन नसक्दा माटोको उर्वराशक्ति क्षीण बन्दै गरेको कृषि ज्ञान केन्द्र घोराहीमा माटो विज्ञका रुपमा काम गर्दै आएकी कृषि अधिकृत महराले बताइन् । ‘जिल्लामा केही किसानले प्राङगरिक मलको प्रयोग गर्ने गरेपनि अधिकांश किसानले रासायनिक मलको प्रयोग गर्ने गरेका छन्’, कृषि अधिकृत महराले भनिन् ,‘जसले गर्दा माटोको उर्वरा शक्तिमा वर्षेनी कमी आइरहेको छ ।’

तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदा २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनी ल्याव स्थापना भएको थियो । ल्याव स्थापनासँगै कार्यालयमा माटो विज्ञको दरबन्दी रहेको थियो । तर संघीयता लागूसँगै कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरबन्दी कटौती गरेपछि कृषि ज्ञान केन्द्र माटो विज्ञ विहीनसँगै वर्षेनी हुने माटो परीक्षणमा समेत कमी आएको अधिकृत महराको बताउँछिन् ।

‘कृषि विकास समिति हुँदा माटो परीक्षणका लागि प्रत्येक वर्ष शिविर हुने गरेको थियो’, उनले भनिने, ‘अहिले कोही किसानले कार्यालयमा माटो ल्याएर आए मात्रै परीक्षण हुन्छ । माटो परीक्षणका लागि गाउँमा शिविर हुन सकेका छैनन् ।’ उनका अनुसार कार्यालयमा माटो विज्ञको व्यवस्था हुँदा वार्षिक रुपमा करिब १२ सयसम्मको माटो परीक्षण हुने गरेपनि पछिल्लो समय वार्षिक रुपमा १ सय ५० जनासम्म किसानले ल्याएको माटो परीक्षण हुने गरेको छ ।

जिल्लामा माटो परीक्षण गरेर कृषि व्यवसाय गर्ने भन्दापनि कृषि व्यवसायमा समस्या देखिएपछि मात्रै परीक्षणका लागि आउनेहरु किसानहरु रहेको उनले बताइन् । ‘जिल्लामा अहिले पनि माटो परीक्षण गरेर कृषि व्यवसाय गर्नुपर्छ भन्ने किसानमा ज्ञान छैन’,उनले भनिन्, ‘जसले गर्दा धेरै किसानहरुको बालीमा समस्या देखिने गरेको छ ।’

माटो परीक्षणका क्रममा रासायनिक मलको प्रयोगका कारण नाइट्रोजन, फस्फोरस र पोटासक लगायतका तत्वमा ह्राउन आएको देखिने गरेको कृषि अधिकृत महराले बताइन् । जिल्लाको ६९ हजार ९ सय ५० हेक्टर खेती योग्य जमिन मध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमा ५८ हजार ६ सय ६७ हेक्टरमा सिंचाईको व्यवस्था भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्