Logo

आजदेखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने उद्देश्य राख्दै सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि भैरहवामा आयोजना हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ सुरु हुने भएको छ । लुम्बिनी महोत्सवको यो आठौ संस्करण हो ।

२०७६ सालमा कोरोना भाइरस संक्रमणपछि आयोजना हुन गइरहेको यो महोत्सवले थला परेको अर्थतन्त्रलाई केही भए पनि चलायमान बनाउने अपेक्षा रहेको मूल आयोजक समितिका संयोजक एवं सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए । “लुम्बिनी महोत्सव पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा अघि बढिरहेको छ र यसमा क्रेता तथा बिक्रेताबीच प्रत्यक्ष सम्पर्क, नयाँ वस्तुको प्रवर्द्धन साथै नयाँ उद्यम गर्ने एक प्लेटफर्म बन्ने छ,” अध्यक्ष न्यौपानेले भने ।

महोत्सव सिद्धार्थनगर (भैरहवा) वडा नम्बर ९ अञ्चलपुरस्थित मैदानमा आयोजना हुनेछ । संघले पहिलो पटक २०६१ सालमा सुरु गरेको महोत्सव अहिले आठौंं पटक सञ्चालन हुँदैछ । संघले अन्तिम पटक २०७५ सालमा महोत्सव आयोजना गरेकोमा त्यसपछि कोरोना भाइरस संक्रमणका कारण महोत्सव हुन सकेको थिएन ।

“महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्तालाई जानकारी दिने, स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्ने विश्वास हाम्रो छ,” अध्यक्ष न्यौपानेले भने ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न, यस क्षेत्रका विभिन्न जात जातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रवद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको वस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवर्द्धन गर्ने उद्देश्यसहितको यो एउटा व्यावसायिक एवं आर्थिक खुल्ला प्लेटफर्मसमेत रहेको संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीले भाग लिने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा २५० स्टल तयार गरिएकोमा त्यति नै संख्यामा स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन समितिका संयोजक एवं संघका वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

महोत्सवमा खाद्य, कृषि, छाला जुत्ता, पेय पदार्थ, अर्गयानिक कृषि उपज, अटो, किचन बेयर, गार्मेन्टस, स्टेसनरी, सूचना प्रविधि, हस्तकला एवं घरेलु उद्योगका सामान, पर्यटन, खेलकुद, शिक्षा एवं शैक्षिक परामर्शलगायतका स्टल रहने संघका महासचिव विजय पाण्डेले बताए । महोत्सवमा साना तथा घरेलु उद्याम गर्न मद्दत पुग्ने गरी अचार बनाउने तालिम महिलाका लागि तथा पूजा गर्दा बालिने कपास बत्ती काटने र सालको पातको टपरी र बौता खुटने प्रतियोगितासमेत आयोजना हुने पाण्डेले बताए ।

महोत्सवमा बिबिध सांगितिक कार्यक्रम र भ्वाइस अफ भैरहवा कार्यक्रम समेत हुनेछ । महोत्सवमा बढीभन्दा बढी जनताको उपस्थिति गराउन सहर बजारसँगै ग्रामीण क्षेत्रमा पनि प्रचारप्रसार गरिएको प्रचारप्रसार समितिका संयोजक कृष्ण घिमिरेले बताए । भारतबाट समेत अवलोकनकर्ता आउने अपेक्षा छ र सोहीअनुसार प्रचार गरिएको भारतीय सञ्चारकर्मीसँग अन्तरक्रृया गरिएको संयोजक घिमिरेले बताए ।

महोत्सवमा भगवान गौतमबुद्ध र लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने तथा घोड एवं हात्ती सफारीको तयारी भइरहेको पर्यटन संयोजक सञ्जय बजिमयले बताए । महोत्सवमा तराईको खेल कुस्ती प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना हुनेछ ।

खेलकुद संयोजक हरि थापाले कुस्तीमा नेपाल साथै भारतका पहलवान पनि प्रतिष्पर्धामा आउने बताए । ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकोमा करिब १० करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ । महोत्सवको आयोजकका रूपमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, सहआयोजक सिद्धार्थनगर नगरपालिका, लुम्बिनी विकास कोष, प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड र पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्