Logo

विद्यालय सुधारमा समुदायको चासो

सामुदायिक विद्यालयको सुधारको लागि समुदायका अगुवाहरुले चासो दिन थालेका छन् । शहर मै रहेरपनि भौतिक तथा शैक्षिक रुपमा पछि परेको विद्यालयको सुधारका लागि समुदाय नै अग्रसर भएका हुन् । घोराही उपमहानगरपालिका वडा नं १८ मा रहेको आधारभुत विद्यालय गिठेपानीमा भौतिक तथा शैक्षिक सुधारका लागि सरोकारवालहरु अगाडि बढेका छन् । विद्यालयको सुधारको लागि सरोकारवालासंग छलफल समेत गरिएको छ ।

विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, शिक्षक, घोराही उप महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख, घोराही उपमहानगरपालिका सामाजिक विकास समितीका संयोजक, अभिभावकहरुको सहभागीतामा छलफल समेत गरिएको हो । विद्यालयको सुधार गर्न सबैको सहयोग आवश्यक रहेकाले यस प्रकारको छलफल आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए ।

‘सबैको सहयोग विना विद्यालयको सुधार हुन सक्दैन ’ उनले भने । माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन तथा सञ्चालन स्थानीय सरकारलाई भए पनि त्यस अनुसार काम गर्न नसकेको शिक्षाका सरोकारवाला बताउँछन् । धेरै पटक विद्यालय सुधारका लागि विभिन्न निकायमा माग गरिए पनि सहयोग नभएपछि अहिले विद्यालयले चन्दा उठाइ रहेको उनले जानकारी दिए ।

कतैबाट पनि सहयोग नपाए पछि सबै सरोकारवालासँग छलफल गरेर चन्दा संकलन अभियान सुरु गरिएको उनको भनाइ छ । ‘विद्यालयमा अभावै अभाव रहेकाले हामी बाध्य भएर यस प्रकारको अभियान सुरु गरेका हौं’ उनले भने । चन्दाको लागि घरघरमा पुग्ने गरेको उनको भनाइ रहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समाजसेवी तथा शिक्षा प्रेमीसमेत घरदैलोमा पुग्ने सहयोग गर्दै आएको उनले बताए ।

स्थानीयवासीहरूले आफनो इच्छा अनुसार सहयोग गर्ने गरेको अध्यक्ष वली बताउँछन् । ‘घरघरमा पुग्दा सबैको सकारात्मक सहयोग पाएका छौं’ अध्यक्ष वलीले भने । विद्यालयमा कक्षा कोठा, कक्षा कोठामा बेन्च डेस्क, बोर्ड, पुस्तकालय, शौचालय लगायतका सामग्री समेत अभाव रहेको उनले बताए । यसरी अभाव हुँदा विद्यालयको पठनपाठन गर्न समेत समस्या हुने गरेको उनी बताउँछन् ।

हालसम्म विद्यालयले थालेको चन्दा अभियानमा करिब साढे ४ लाख रुपैयाँ संकलन गरिएको छ । घरदैलो अभियानलाई निरन्तरता दिइने अध्यक्ष वलीले बताए । तिहारका कारण केही समय रोकिएको अभियान फेरि सुरु गरिने अध्यक्ष वलीले बताए । ‘गाउँको सबै घरमा पुगिसकेका छैनौं सबै घरसम्म पुगिने छ’ उनले भने । सबैको सहयोगमा नै विद्यालयको भौतिक तथा शैक्षिक सुधार गरिने उनको भनाइ छ ।

‘हामीले भौतिक सुधारमात्र नभइ शिक्षाको गुणस्तरमा पनि सुधार ल्याउने छौं’ अध्यक्ष वलीले भने । शिक्षा निजी क्षेत्रको भन्दा कुनै कमी हुन नदिने गरी आफूहरू सुधारको अभियानमा लागेको उनको भनाइ रहेको छ । ‘विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडि बढाउने योजना छ’ उनले भने । विद्यालय सुधार भएमा यस क्षेत्रका बालबालिकालाई अध्ययन गर्न समेत सहज हुनेछ । विद्यालयमा अहिले दुई सयजना बालबालिकाले अध्ययन गर्दै आएको उनले जानकारी दिए ।

विद्यालयका प्र.अ. यसोदा पोख्रेलले विद्यालयको सुधारको लागि समाजले अपनत्व लिनुपर्ने बताइन् । समाजले अपनत्व लिन नसक्दासम्म विद्यालयको विकास हुन नसक्ने उनको भनाइ रहेको छ । विषयगत शिक्षक नहुँदा समस्या रहेको उनले बताइन् । घोराही उपमहानगरपालिका सामाजिक विकास समितीका संयोजक एवम प्रवक्ता रामणि पाण्डेले विद्यालयमा बालबालिका आउने वातावरण सृजना गर्नुपर्ने बताए ।

यसका लागि विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर अगाडि बढ्नु पर्ने उनले बताए । ‘विश्वास गर्ने वातावरण सृजना गर्न सकिएमा बालबालिकाहरु सामुदायिक विद्यालयमा आउँछन्’ उनले भने । समय अनुसार विद्यालयमा शैक्षिक क्रियाकलाप अगाडि बढाउन सक्नु पर्ने उनले बताए । घोराही उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यमा सुधार गर्नका लागि योजना बनाएर अगाडि बढेको समेत उनको भनाइ रहेको छ । ‘२ वर्षमा स्वास्थ्य र शिक्षामा परिवर्तन भएको पाउनु हुने छ’ उनले भने । यसका लागि आवश्यक पर्ने बजेट समेत विनियोजन भएको पाण्डे उनले बताए ।

घोराही उपमहानगर सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले उपमहानगरपालिकाको तर्फबाट विद्यालयको सुधारका लागि कामहरु भइ रहेको बताए । विद्यालयहरुमा आधारभुत तहसम्म दरबन्दी फुलफिल गर्न लागिएको बताए । यसले शिक्षक अभाव हुने समस्याको समाधान हुने उनको भनाइ रहेको छ । ‘विद्यार्थी संख्याको आधारमा विद्यालयमा भौतिक संरचना तथा शिक्षक दरबन्दी थप हुँदै जाने छन्’ उनले भने । विद्यार्थी नहुने तर भौतीक संरचना मात्र निर्माण गरेर त्यसको अस्तित्व नहुने उनको भनाइ रहेको छ । विद्यालयको सुधारका लागि कर्तव्य निष्ठ भएर लाग्नु पर्ने समेत उनले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शैक्षिक सुधारका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, सबै सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । उनीहरुले विद्यालयमा अभिभावले विश्वास गर्ने वातावरण सृजना गर्न शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक रहेको समेत बताएका थिए । विद्यालयमा अनुगमनका लागि समयन्त्र निर्माण गरेर परिचालन गर्नुपर्ने उनीहरुको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्