Logo

सेयरमा लगानी गर्ने कि मुद्दतीमा

अहिले मुद्दतीमा लगानी गर्दा फाइदा त देखिन्छ, त्योभन्दा बढी कमाउने लोभ गर्दा सेयरतिर आँखा जान्छ । सेयर किन्ने निर्णय गर्न खोज्दा सम्पत्ति घटेर आधा हुने त होइन भन्ने डरले रोक्छ । त्यसैले डर र लोभको सन्तुलन मिलाउन सक्ने मानिस नै धनी हुन्छ भन्न सकिन्छ ।

अहिले विश्वभर सेयरको मूल्य घटेको र बैंकको ब्याज तथा वस्तुहरूको मूल्य बढेको छ । नेपालको सन्दर्भमा हेर्दा डेढ वर्षपहिलेको तुलनामा मुद्दतीको ब्याज दोब्बर भएको छ भने सेयरको मूल्य आधा । अब पैसा कहाँ लगानी गर्ने ? अहिले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज पाइन्छ । यो पिक हो । नेपालमा औसत ब्याज आम्दानी १० प्रतिशत मानिन्छ । पाँच वर्षका लागि १३ प्रतिशतमा लगानी गर्न पाउनु एकदमै राम्रो मौका हो ।

ब्याजदर अझ बढ्ने सम्भावना छैन । हदै बढ्यो भने १४ प्रतिशतसम्म पुग्न सक्छ । सेयरको मूल्य भने अझै ५० प्रतिशत घट्न सक्छ । अहिले ३ सय रुपैयाँ रहेको सेयर मूल्य १ सय ५० मा झर्न सक्छ । १५ को पिई रेसियो ७/८ मा आउन सक्छ । अहिले नै तीन–चार वर्षका लागि मुद्दती खातामा राख्दा १३ प्रतिशत आम्दानी ढुक्क भयो । तीन महिना, ६ महिना वा एक वर्षपछि मुद्दती गर्छु भनेर पर्खने हो भने यो दर पाइएला ? विगतको इतिहास हेर्दा १३ प्रतिशत ब्याजदर लामो समय टिकेको छैन ।

बजारमा इतिहास दोहोरिन्छ भन्ने एउटा मान्यता छ । साथै अर्को मान्यता न्यू नर्मल हुन सक्छ भन्ने पनि छ । इतिहास हेर्दा १० प्रतिशत नर्मल ब्याज हो भने १३ प्रतिशत कहिलेकाहीं आउने मौका हो । तर, अब नर्मल ब्याज नै १३ प्रतिशत हुन पनि सक्छ । विगतमा सेयर बजारमा कम्पनीहरूको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७/८ सम्म झरेको थियो । त्यति नै तल झरेपछि किनौंला भनेर पर्खेर बसियो । तर, सेयरको मूल्य ह्वारह्वार्ती उकालो चढ्यो । यता मुद्दतीको ब्याज ह्वारह्वार्ती घट्यो । अब हात लाग्यो शून्य हुन्छ ।

अर्कातिर माथिको अवस्था हुन सक्छ भनेर अहिले सेयर किनियो । अझै मूल्य घट्यो वा धेरै वर्षसम्म यही मूल्य कायम रहिरह्यो भने त्यतिखेर विगतमा गलत निर्णय लिइएछ भन्ने हुन्छ । केही वर्षका लागि वार्षिक १३ प्रतिशतमा मुद्दती गरेर ढुक्क बस्ने कि एक/दुई वर्षमै १/२ सय प्रतिशत पुँजीगत लाभको सम्भावना भएको सेयरमा लगानी गर्ने ? सेयरको मूल्य अझै घट्यो र किन्न पाइयो भने अझ बढी फाइदा होला । अहिले बचत खातामै ७/८ प्रतिशत ब्याज पाइएकै छ । डेढ/दुई वर्षअघि मुद्दतीमा मात्र यति ब्याज पाइन्थ्यो । केही समय हेरौं ।

त्यसपछि मुद्दती गर्ने कि सेयर किन्ने निर्णय गरौंला भनेर पर्खंदा के होला ? पर्खंदापर्खंदै बचतको ब्याज २ प्रतिशत र मुद्दती ५ प्रतिशत, अनि सेयरको मूल्य दोब्बर/तेब्बर हुन पनि सक्छ । कतिपयको सोचाइ हुन्छ कि ब्याजदर घट्न थाल्यो र सेयरको मूल्य बढ्न थाल्यो भने सेयर किन्ने । पहिलो महिना १० प्रतिशत र दोस्रो महिना १० प्रतिशत ब्याजदर घट्यो भने तेस्रो महिना पनि घट्छ भन्ने अनुमान सही नहुन सक्छ । तेस्रो महिना बढ्न पनि सक्छ । सेयरको मूल्य पनि त्यस्तै हो । सेयर सूचक पहिलो हप्ता १ सय अंक, दोस्रो हप्ता अर्को १ सय अंक बढ्यो भन्दैमा तेस्रो हप्ता पनि बढ्छ भन्ने हुँदैन ।

करेक्सन भएको बेला किनौंला भन्दाभन्दै करेक्सन नै नभई ठाडो उकालो जान पनि सक्छ । सेयरको मूल्यले आम सर्वसाधारणलाई जहिले पनि झुक्याउँछ । ऋण लिएर व्यवसाय गर्नेका लागि अहिले लागत महँगो छ । बजारमा सामानको मूल्य उच्च छ । आफूसँग पैसा हुनेले व्यवसाय गर्ने हो भने मुनाफाको सम्भावना बढी छ । तर, थोरै पैसा छ भने मुद्दती वा सेयर मात्र विकल्प हुन्छ । बजारमा नो रिस्क नो गेन, हाई रिस्क हाई गेन भन्ने सामान्य उक्ति छ । त्यसो भन्दैमा जहाँ बढी जोखिम छ, त्यहाँ लगानी गरेर बढी फाइदा हुने होइन । बढी फाइदा हुने ठाउँमा लगानी गर्दा जोखिम पनि बढी हुन्छ भन्ने हो ।

विज्ञहरूले विश्लेषण र पूर्वानुमान गर्ने इतिहासको घटनाका आधारमा हो । इतिहासको अध्ययन गर्दा यस्तो अवस्थाको बजार लामो समय साइड वेजमा गएको, अझै बियरमा गएको र र्‍यापिड अप ट्रेन्डमा गएको पनि देखिन्छ । त्यसैले इतिहासको आधारमा ढुक्क भएर निर्णय लिन सकिन्न अहिले भएको पैसा लगानी गर्ने कि उपभोग ? भविष्यमा अहिलेकै मूल्य कायम रहन्छ वा अझ घट्छ भने अहिले लगानी वा बचत गरेकै राम्रो । तर, अर्को साल फ्रिज, वासिङ मेसिन, ट्रेड मिल आदिको मूल्य दोब्बर भयो भने अहिले उपभोग्य सामान किनेकै राम्रो ।

अर्को साल टुर प्याकेजको मूल्य दोब्बर हुन्छ भने अहिले घुमेकै राम्रो । अहिले विदेशी मुद्रा साटेर मुद्दती गर्दा १४/१५ प्रतिशत ब्याज पाइन्छ । नेपालमा मुद्दती गरेर पछि फिर्ता लैजान पाउने हो भने अहिले डलरको ओइरो लाग्ने थियो । तर, नेपालमा विदेशी मुद्राको किनबेच गर्नु गैरकानुनी छ । सरकारले नियन्त्रण गर्दैमा बजार नियन्त्रित भने हुँदैन । त्यसमा लागत बढी पर्ने मात्र हुन्छ । विदेशमा बसाइँ सरेका व्यक्तिहरूले नेपालको सम्पत्ति बिक्री गरेर पैसा लगेकै छन् । हुन्डीमार्फत पैसा फिर्ता लैजान सकिन्छ भनेर जोखिम मोल्नेहरूले अहिले नेपालमा डलर भित्र्याएर पछि उच्च फाइदा गर्ने सम्भावना छ ।

अहिले अमेरिकी डलरको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । यदि भविष्यमा डलरको मूल्य घट्नेछ भनेर अनुमान गर्ने हो भने अहिले अरू मुद्रा किनेर राख्दा निकै फाइदा हुने देखिन्छ । तर, डलरको मूल्य अझै बढ्यो भने घाटा हुनेछ । मानौं, १ डलरबराबर अहिले १ सय ३० रुपैयाँ पुगेको छ । अहिले १० हजार डलरको १३ लाख रुपैयाँ हुन्छ । मानौं, एक वर्षपछि डलरको मूल्य १ सय रुपैयाँ हुनेछ । पैसा पुनः डलरमा रूपान्तरण गर्दा १३ हजार डलर बन्नेछ । यस्तै फाइदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड जे किनेर राख्दा पनि हुन्छ ।

गरिबलाई ज्यालादर र दैनिक उपभोग्य अति आवश्यक वस्तुको मूल्यमा हुने उतारचढावले मात्र प्रभाव पार्छ । ज्याला बढ्दा र मूल्य घट्दा मीठो–मसिनो बढी खान्छन् । ज्याला घट्दा र मूल्य बढ्दा थोरै खान्छन् । मध्यम र उच्च वर्गका लागि वित्तीय बजारको उतारचढावले ठूलो प्रभाव पार्छ । आफ्नो बचतलाई तरल नै राख्ने, उपभोग गर्ने वा लगानी गर्ने ? साथै भइरहेको लगानीलाई सिफ्ट गर्ने कि यथावत् छोड्ने ? उनीहरूले यस्ता प्रश्नको समाधान खोज्नुपर्छ । बजारको उतारचढाव धेरै मानिसका लागि चुनौती हुन्छ । यो बेला धेरैले गुमाउँछन् । एकले गुमाउँदा अर्कोले कमाउने अवसर पनि यही हो ।

जसले सही निर्णय लिन सक्छ, उसले फाइदा गर्छ भन्ने सबैलाई थाहा छ । तर, कुन निर्णय सही वा गलत हो भन्ने कुरा जतिसुकै विज्ञ भए पनि सप्रमाण भन्न सक्दैन । खुला बजार अर्थतन्त्रमा जोसुकैलाई धनाढ्य बन्ने समान अवसर प्राप्त हुन्छ । के सर्वोत्कृष्ट निर्णय जसले गर्न सक्छ, ऊ सर्वाधिक धनी बन्छ त ? यसमा दैव संयोगको भूमिका हुँदैन ? यसको उत्तर हुन्छ, दैव संयोगले पनि केही तलमाथि पर्न सक्छ ।

तथापि अधिकांशतः सही निर्णय लिने क्षमता हुनैपर्छ । अध्ययन–अनुसन्धान गरेर सही निर्णय लिने क्षमता वृद्धि गर्न सकिन्छ । यसमा आंशिक मात्र सत्यता छ । निर्णायक त मनोवैज्ञानिक पक्ष हुन्छ । डर नभए जोखिमबाट बच्न सकिन्न र लोभ नभए कमाउन सकिन्न । तर, डरको मात्रा बढी भयो भने कमाउनै सकिन्न । लोभले लाभ, लाभले विलाप भन्ने त उखानै छ ।

निष्कर्षमा अहिले मुद्दतीमा लगानी गर्दा फाइदा त देखिन्छ, त्योभन्दा बढी कमाउने लोभ गर्दा सेयरतिर आँखा जान्छ । सेयर किन्ने निर्णय गर्न खोज्दा सम्पत्ति घटेर आधा हुने त होइन भन्ने डरले रोक्छ । त्यसैले डर र लोभको सन्तुलन मिलाउन सक्ने मानिस नै धनी हुन्छ भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्