निजी क्षेत्रले कानुन अभावमा मुलुकमा लगानीको वातावरण नबनेको गुनासो गर्दै आएको छ । अहिले निजी क्षेत्रका थुप्रै प्रतिनिधि कानुन बनाउने थलो संसद्मा पुगेको अवस्था छ । विगतमा पनि छिटफुट रुपमा निजी क्षेत्रका प्रतिनिधिहरु संसद्मा पुगेका थिए । तर, कानुनै निर्माणमा दबाब दिन सक्ने हैसियतको संख्यामा थिएनन् ।
नीति बनाउने ठाउँमा निजी क्षेत्र

मुलुकका एकमात्र डलर अर्बपति विनोद चौधरीसहित दर्जनौं उद्योगी व्यवसायीलाई आम मतदाताले कानुन निर्माण (नीति निर्माण) गर्ने थलो संसद्मा प्रतिनिधि बनाएर पठाएका छन् । मुलुकका विभिन्न व्यवसायमा सफलता प्राप्त गरेका उद्योगी–व्यवसायीलाई यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले सदस्यका रुपमा विजयी बनाएर पठाएका हुन् ।
निजी क्षेत्रले कानुन अभावमा मुलुकमा लगानीको वातावरण नबनेको गुनासो गर्दै आएको छ । अहिले निजी क्षेत्रका थुप्रै प्रतिनिधि कानुन बनाउने थलो संसद्मा पुगेको अवस्था छ । विगतमा पनि छिटफुट रुपमा निजी क्षेत्रका प्रतिनिधिहरु संसद्मा पुगेका थिए । तर, कानुनै निर्माणमा दबाब दिन सक्ने हैसियतको संख्यामा थिएनन् ।
निर्वाचन आयोगले चुनावको परिणाम सार्वजनिक गरिरहेका बेला निजी क्षेत्रका कतिपय प्रतिनिधिले जित हासिल गरेका छन् भने कतिपय विजयको नजिक छन् । यस्तै, राजनीतिक दलहरुले प्राप्त गरेको समानुपातिक मतका आधारमा पनि केही व्यवसायीहरु सांसद बनेर संघीय संसद् भवनमा छिर्न पाउने देखिएको छ ।

अधिकांश व्यवसायीहरु राजनीतिक दलबाटै उम्मेदवार बनेका छन् । राजनीतिक दलहरुमध्ये सत्तारुढ नेपाली कांग्रेसले सबैभन्दा बढी निजी क्षेत्रलाई उम्मेदवार बनाएको छ । कानुन निर्माण तहमा आफ्नो उपस्थिति पुर्याई व्यावसायिक सहजीकरण र लबिङमा महत्वपूर्ण भूमिका खेल्ने गरी निजी क्षेत्र संसदीय राजनीतिमा पुगेको हो ।
सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट संघीय संसद्को प्रतिनिधिसभामा सबैभन्दा बढी प्रतिनिधि पुग्ने भएका छन् । नेपाली कांग्रेसबाट डलर अर्बपछि विनोद चौधरी पश्चिम नवलपरासी १ बाट चुनावी मैदानमा छन् । उनी प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठीको तुलनामा धेरै मतान्तरले अघि बढेका छन् । बिहीबार बेलुकासम्म मतगणना हुन बाँकी मत संख्याभन्दा चौधरीले बनाएको मतान्तर धेरै छ । अर्थात् उनको जित सुनिश्चित छ ।
कांग्रेसबाट निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट १८ हजार २३५ मतसहित दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेञ्जिङ तामाङसँग उच्च मतान्तर सहित विजयी भएका हुन् । यस्तै, पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले पनि कांग्रेसबाट जित हासिल गरेका छन् । गोरखा २ बाट ३३ हजार ४२८ मत ल्याएर विजयी बजगाईं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्व महासचिव समेत हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका छन् ।
सिन्धुली १ मा कांग्रेसबाट ३० हजार ३०१ मतसहित विजयी श्यामकुमार घिमिरे स्वास्थ्य व्यवसायी हुन् । समाज डेन्टलका सञ्चालक घिमिरेले प्रतिद्वन्द्वी एमालेका प्रदीप कटुवाललाई ४ हजार ८४५ मतान्तरमा पराजित गरेका छन् । कांग्रेसकै तर्फबाट मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ वैदेशिक रोजगार व्यवसायी तथा काठमाडौंको फनपार्कका सञ्चालक हुन् । २ हजार ५७५ मत प्राप्त गरी विजयी भएका गुरुङले प्रतिद्वन्द्वी नेकपा एमालेका पाल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तले पराजित गरेका हुन् । यद्यपि, भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेका कारण उनले तत्काल संसदीय गतिविधिमा सक्रिय हुन भने पाउने छैनन् ।
यस्तै, कांग्रेसकै तर्फबाट निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछापमा तथा जलविद्युत उद्यमी दीपक खड्काले संखुवासभामा उच्च मतान्तर कायम गर्दै अघि बढेका छन् । मोरङ ३ बाट मेडिकल कलेज व्यवसायी सुनीलकुमार शर्मा उच्च मतान्तरसहित अघि छन् । उद्यमी एवं राज्यमन्त्री उमेश श्रेष्ठले भने चितवनमा पराजय बेहोरेका छन् ।
वैदेशिक रोजगार व्यवसायी एलपी सावाँ लिम्बुले झापा–४ बाट २९ हजार ३१५ मत प्राप्त गर्दै पुनः जित हासिल गरेका छन् । नेकपा एमालेका तर्फबाट अघिल्लो संसदीय निर्वाचनमा समेत जित हासिल गरेका साँँवाले प्रतिद्वन्द्वी कांग्रेसका देउकुमार थेवेभन्दा ६ हजार ८६७ मत बढी मत प्राप्त गरेका छन् । नेकपा एमालेले समानुपातिक सूचीको आदिवासी जनजाति क्लष्टरको पहिलो नम्बरमा राखेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पनि यसपटक संघीय सांसद बन्दैछन् ।
अघिल्लोपटक उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा रहे पनि सांसद बन्न पाएका थिएनन् । लगानी बोर्ड सदस्य तथा केबलकार व्यवसायी बालकृष्ण शिवाकोटी दोलखामा नेकपा एमालेबाटै निर्वाचनमा प्रतिस्पर्धारत रहे पनि उक्त क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन ।
नेकपा एकीकृत समाजवादीबाट निर्वाचित किसानकुमार श्रेष्ठ पेशाले एलपी ग्यास व्यवसायी हुन् । उनी होटल तथा रियल इस्टेट व्यवसायमा पनि आवद्ध छन् । यसअघि तनहुँबाट निर्वाचित श्रेष्ठ यसपटक भने बारा ४ बाट २० हजार २९७ मतसहित विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमालेका एकवाल मियाँलाई ६ हजार ४३४ मतान्तरले पराजित गरेका छन् ।
यस्तै, एकीकृत समाजवादीकै प्रेमबहादुर आले २७ हजार २१० मत ल्याउँदै डोटीबाट तेस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पूर्व पर्यटनमन्त्रीसमेत रहिसकेका आले काठ व्यवसायी हुन् । उनले प्रतिद्वन्द्वी एमालेका गौरीकुमारी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजीत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्माण व्यवसायी विक्रम पाण्डे चितवन ३ मा जित नजिक छन् । राप्रपाबाटै उम्मेदवारी दिएकी व्यवसायी कुन्ती पोख्रेलले भने काठमाडौं २ मा जित हासिल गर्न सकिनन् । सिरहाबाट जनता समाजवादी पार्टीका वीरेन्द्र महतो विजय निजक छन् । संविधानसभा सदस्यसमेत रहिसकेका महतो माछापुच्छ«े बैंकका अध्यक्ष पनि हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ६ मा निर्वाचित शिशिर खनाल शिक्षा अभियन्ता तथा व्यवसायी हुन् । लजिष्टिक कम्पनी पिक एन्ड ड्रपका सञ्चालक खनाल ई–कमर्सका सफल व्यवसायी मानिन्छन् । यस्तै, सेयर बजारका लगानीकर्ता हरि ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन १ बाट निर्वाचित भएका छन् । सोही पार्टीबाट काठमाडौं ३ मा निर्वाचन लडेका पश्मिना व्यवसायी दुर्गाविक्रम थापा भने पराजित भएका छन् ।