Logo

विश्वमा जलवायु परिवर्तनका कारण भइरहेको विनाशको जिम्मेवारी कसले लिने र रोकथामका लागि कस-कसले के-कसरी काम गर्ने ?

पाँच देशका कारण निम्तिएको जलवायु संकट

विगतका केही वर्षदेखि नेपाललगायत केही अविकसित तथा अल्पविकशित देशबाहेक विश्वका अधिकांश देशका मिडियामा जलवायु परिवर्तन र सोका कारण भविष्यमा आइपर्ने अनेक संकटहरूका बारेमा जमेर बहस र छलफल भइरहेको छ । ती देशका मिडियाले जलवायु परिवर्तनका कारण अहिले नै मानवमा आइपरेको ससानो स्केलको संकट र निकट भविष्यमा आइपर्ने ठूलठूला संकटहरूका बारेमा प्रशस्तै छलफल र बहस भइरहेको छ ।

त्यस कार्यका लागि सम्बन्धित देशका मिडियाले जलवायु विज्ञ, जलवायुविद्, वरिष्ठ, विश्लेषक आदिलाई मात्रै नभएर सर्वसाधारण जनहरूलाई समेत सहभागी गराएर जलवायु परिवर्तन र त्यसको असरबारे व्यापक रूपमा छलफल चलाइआएका छन् । तर, हाम्रो देशका धेरैजसो मिडियाका लागि बाह्रै काल राजनीति नै प्रमुख विषय हुने गरेको देखिन्छ । त्यसै कारणले गर्दा नेपाली मिडियाहरूको लगभग ९०–९१ प्रतिशतदेखि ९५–९६ प्रतिशतसम्म समाचार कभरेज राजनीतिक विषयमा हुने गरेको देखिन्छ ।

सन् २०२२ को ६ नोभेम्बरदेखि १६ नोभेम्बरसम्म इजिप्टमा भएको जलवायु परिवर्तनसम्बन्धी बैठक कोप–२७ सकिएको छ । तर, विश्व जलवायुसम्बन्धी सो बैठक धेरै कारणले अपेक्षा गरेअनुरूप भएन भन्ने जलवायु विज्ञहरूको भनाइ रहेको छ । किनभने विश्व जलवायु परिवर्तनमा मुख्य भूमिका खेल्ने र कार्बन उत्सर्जन गर्ने मुख्य पाँच देशमध्ये चीन, रूस र भारतका सरकार प्रमुखहरू नै सो बैठकमा उपस्थित भएनन् ।

त्यस्तै सुरुमा बेलायतका प्रधानमन्त्री (त्यो बेला नवनिर्वाचित) ऋषि सुनकले पनि सो बैठकमा उपस्थित नहुने भनेका थिए । तर, राम्रो कुरो अन्तिम घडीमा उनी सहभागी भए । त्यसैगरी विश्व जलवायु परिवर्तनमा भूमिका खेल्नमा मुख्य काम गर्ने कार्बन उत्सर्जन गर्ने मुख्य पाँच देशमध्ये एक अमेरिकाका राष्ट्रपति जो बाइडेन स्वयम् सम्मेलनमा उपस्थित त भए, तापनि उनले जलवायु परिवर्तन सम्बन्धमा अमेरिकाले केके गर्छ, कस्तो भूमिका खेल्छ ? सो सम्बन्धी नीतिगत रूपमा कुनै योजना ल्याएनन्, कुनै नयाँ र आकर्षक कार्यक्रम पनि उनले घोषणा गरेनन्, खालि अन्टसन्ट बोलेर स्वदेश फर्के भन्ने सहभागीहरूको गुनासो रह्यो ।

जबकि हालका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा जलवायु परिवर्तनका सम्बन्धमा उदार छन् भन्ने आममानिसले बुझ्ने गर्थे । जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्दै गएको छ भने धरतीको अस्तित्व पनि रहने/नरहने भन्ने गम्भीर सवाल पैदा भएको छ । सबैभन्दा समस्या पानीको रहने देखिएको छ । हुन पनि के भनिन्छ भने यदि जलवायु परिवर्तनकै कारण पानीको संकट आएनछ भने पनि अरू नै अनेकौं कारणले पनि भविष्यमा गएर पानीका लागि विश्का धेरैले संकट भोग्नुपर्नेछ । पानीकै सम्बन्धमा भन्नुपर्दा के भनिन्छ भने मध्यपूर्वी देशहरू इजरायल, जोर्डनबीच जोर्डन नदीको पानी बाँडफाँडको विषयलाई लिएर एकआपसमा दोषारोपण गर्ने गर्छन् ।

त्यतिले नपुगेर युद्घ नै गर्ने स्थितिमा पनि पुग्छन् । त्यस्तै अर्को कुरो भनेको जलवायु परिवर्तनका कारण धरती असाध्यै तातिएर (ग्लोबल वार्मिङका कारण) लगभग ६ सय वर्षपछि यो धरती मानव समुदायले बसोबास गर्नै नसक्ने अवस्थामा पुग्नेछ ।

विश्वमा जलवायु परिवर्तनका कारण भइरहेको विनाशको जिम्मेवारी कसले लिने र रोकथामका लागि कस–कसले के–कसरी काम गर्ने ? भन्ने विषयमा ‘कोप–२७’ को भेलामा पनि ठोस रूपमा विश्वका धनी, ठूला र शक्तिशाली देशहरूबीच एकमत हुन सकेन । निश्चय नै विश्वमा अत्यधिक कार्बन उत्सर्जन गर्ने पाँच देशहरू जस्तै चीन, अमेरिका, युरोपियन युनियन, भारत र रूसले नै बढी जिम्मेवारी लिनुपर्छ ।

अहिले नै पनि जलवायु परिवर्तनका कारण धरती तातिएर हिमाल, हिमनदी, हिमताल, हिमरेखाहरू नांगो हुँदै गएका छन्, सुक्दै गएका छन् । त्यस्तै युरोप, अमेरिका, एसिया, अफ्रिका आदि महादेशका कतिपय देशमा विगतमा बग्ने नदीहरू सुकिसकेका छन् भने कतिपय नदीको बहाव विगतका तुलनामा आधाभन्दा पनि बढी घटेको विज्ञहरूको भनाइ रहेको सुनिन्छ ।

यसरी अब हेर्दाहेर्दै निकट भविष्यमै हिमालय क्षेत्र पनि बिस्तारै मरुभूमि बन्नेवाला छ । त्यसो त हालसम्म जेनतेन एसिया महादेशको ठूलो भू–भागलाई सिँचाइ र अर्बौं जनसंख्यालाई स्वच्छ पिउने पानीको स्रोत बनिरहेको छ- हिमालय र काराकोरम । कार्बन उत्सर्जन र त्यसको असरका बारेमा कुरो गर्दा हाल सबैभन्दा धेरै वार्षिक रूपमा कार्बन उत्सर्जन गर्ने प्रमुख पाँच राष्ट्रमा १. चीन, २. अमेरिका, ३. युरोपिययन युनियन, ४. भारत र ५. रूस रहेका छन् ।

विभिन्न समाचार स्रोतहरूले जनाएअनुसार चीनले वार्षिक ११ हजार ५ सय ३५ मेगाटन कार्बन उत्पादन गर्छ भने अमेरिकाले वार्षिक ५ हजार १ सय ७ मेगाटन कार्बन उत्सर्जन गर्ने गर्छ । उता युरोपियन युनियन सम्बद्घ देशहरू (धेरैवटा देश समेटिएको भए तापनि) ले चाहिँ वार्षिक ३ हजार ३ सय ४ मेगाटन मात्रै कार्बन उत्सर्जन गर्ने गर्छन् । तथ्यांकअनुसार नेपालको तीनतिर सीमा जोडिएको छिमेकी देश भारतले चाहिँ वार्षिक २ हजार ५ सय ९७ मेगाटन कार्बन उत्सर्जन गर्ने गरेको तथ्यांक छ । त्यस्तै रूस विश्वको कार्बन उत्सर्जन गर्ने पाँचौं देश हो । रूसले वार्षिक १ हजार ७ सय ९२ मेगाटन कार्बन उत्सर्जन गर्ने गर्छ ।

त्यसपछि धेरै कार्बन उत्सर्जन गर्ने अन्य देशहरू क्रमशः जापान छैटौं, इरान सातौं, जर्मनी आठौंं, दक्षिण कोरिया नवौं, साउदी अरब दसौं, इन्डोनेसिया एघारौं स्थानमा रहेका छन् । साथै मलेसिया, भियतनाम, क्यानाडा, टर्की, दक्षिण अफ्रिका, ब्राजिल, मेक्सिको, अस्ट्रेलिया, अर्जेन्टिना, इजिप्ट, नाइजेरिया, इराक, कजाखस्तान, पाकिस्तान आदि देशहरू पनि तुलनात्मक रूपमा बढी कार्बन उत्सर्जन गर्ने देशहरू हुन् । हुन पनि हामीले आफू बसेको धरतीलाई अलिकति पनि माया नगरी जताभावी गरिरहेको हुनाले गर्दा नै धरतीमा अनावश्यक रूपमा छिटोछिटो तापमान वृद्धि भइरहेको धेरै विज्ञहरूले भन्ने गरेका छन्, जसका कारण हामी बसेको धरती आवश्यकताभन्दा धेरै नै बढी तातिरहेको छ ।

फलस्वरूपः हिमनदी पग्लने, हिमाल पग्लने, हिमालमा हिउँ सुकेर कालो हुने, हिमालमै ससानो खोल्साखोल्सी बन्ने, हिमताल फुट्ने क्रम बढिरहेको छ, जसले गर्दा हिमाली क्षेत्रको तल्लो भेगमा बस्ने मानिसहरू विस्थापित हुने क्रम बढ्दै छ । विश्वभरि बेमौसममा अकस्मात् बाढीपहिरो आउने क्रम पनि बढिरहेको छ । यसले गर्दा अत्यधिक चिसो बढ्ने हुन्छ ।

यसरी पछिल्लो पटक लगातार असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढीपहिरो, अनावृष्टि, अतिवृष्टि, चिसो, असमयमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी आउने, हिउँ पग्लने, हिमताल फुट्ने, खण्डवृष्टि हुने, हावा–हुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारण विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनलाई मान्ने गरिन्छ ।

हुन पनि तीन महिनाअघि युरोपका विभिन्न देशहरू जस्तै स्पेन, बेल्जियम, बेलायत, फ्रान्स, इटली, पोर्चुगल, चेक रिपब्लिक आदि देशमा अत्यधिक गर्मी भएको कारण धेरै मानिसले अकालमै ज्यान गुमाएका थिए । तर पनि क्रम कसरी घटाउने, कसले घटाउने ? यस सम्बन्धमा विश्वका औद्योगिक, धनी र प्रभावशाली राष्ट्रबीच मतैक्य हुन सकेको छैन । यो वर्षमात्रै युरोपका धेरै देशमा अप्रत्याशित रूपमा बढेको गर्मी र वायु प्रदूषणका कारण लगभग १५ हजार मानिस मरेको रिपोर्ट आएको थियो ।

हाल बढी उत्सर्जन भइरहेको कार्बन डाइअक्साइडका कारण जलवायु परिवर्तनमा पनि ठूलो असर परिरहेको छ । तापनि विश्वमा जलवायु परिवर्तनका कारण भइरहेको विनाशको जिम्मेवारी कसले लिने र रोकथामका लागि कस–कसले के–कसरी काम गर्ने ? भन्ने विषयमा ‘कोप–२७’ को भेलामा पनि ठोस रूपमा विश्वका धनी, ठूला र शक्तिशाली देशहरूबीच एकमत हुन सकेन । निश्चय नै विश्वमा अत्यधिक कार्बन उत्सर्जन गर्ने पाँच देशहरू जस्तै चीन, अमेरिका, युरोपियन युनियन, भारत र रूसले नै बढी जिम्मेवारी लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्