Logo

आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौं भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहनेछ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति–निर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ?

आठ अर्ब जनसंख्या व्यवस्थापनको चुनौती

विश्वको जनसंख्या दैनिक बढ्दो क्रममा रहेको छ । हाम्रा छिमेकी देशहरू भारत र चीनमा झन्डै तीन अर्ब मानिस बसोबास गर्छन् । यसरी संसारको जनसंख्यालाई अध्ययन गर्ने हो भने ८ अर्ब नजिक पुगेको छ । हाल विश्वको जनसंख्या ७ अर्ब ९५ करोडभन्दा बढी छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वल्र्ड पपुलेसन प्रोस्पेक्ट्स सन् २०२२ रिपोर्टअनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने अनुमान गरेको छ । यसर्थ विश्व जनसंख्या दिवसका अवसरमा गत असार २६ गते संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले कात्तिक २९ गते (नोभेम्बर १५) का दिनलाई विश्वको जनसंख्या ८ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । फलत: सन् १९८७ जुलाई ११ मा विश्वको जनसंख्या ५ अर्ब थियो । यसै क्रममा हाल आएर हाम्रो देशमा पनि सोही वर्षदेखि जनसंख्या दिवस मनाइँदै आएको छ । यसरी छिमेकी देशहरूको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ । अत: देशको कुरा गर्ने हो भने कुल भूभागको ८३ प्रतिशत क्षेत्र ओगटेको हिमाल ५८ प्रतिशत र पहाडमा २५ प्रतिशत ७० वर्षअघिसम्म करिब दुईतिहाइ मानिस बसोबास गर्थे भने सन् २०२१ को राष्ट्रिय जनगणनासम्म आइपुग्दा भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याकोे वितरण ०६८ को जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोेमा ०७८ मा वृद्धि भई ५३.६६ पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा ०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा ०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ मा झरेको छ । यसर्थ दस वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १ प्रतिशत बिन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमश: ३ र ४ प्रतिशत बिन्दुले बढेको देखिन्छ । यो गत ०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमश: ९४, ९१ र ९७ रहेकोमा ०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमश: ९७, ९५ र ९६ कायम हुन आएको छ । त्यसरी नै वार्षिक जनसंख्या वृद्धिदर हिमाली क्षेत्रमा ऋणात्मक –०.०२ प्रतिशत, पहाडी क्षेत्रमा न्यून मात्रामा घनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च घनात्मक १.५६ प्रतिशत वृद्धि देखिन्छ । प्रत्येकजसो जनगणनामा हिमाल र पहाडको जनसंख्याको हिस्सा घटेको भए पनि त्यहाँ जनसंख्याको वार्षिक वृद्धिदर भने धनात्मक नै थियो । यसर्थ अर्कातर्फ हेर्ने हो भने बसाइँसराइले गर्दा तराई, राजधानी काठमाडौं र पोखराजस्ता सहरमा तीव्र र अव्यवस्थित सहरीकरणसँगै शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत सेवा प्रवाहका साथै ढल, खानेपानी, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासमा जटिलता र चुनौतीहरू पनि बढ्दै गइरहेका छन् । यसका साथै हिमाल र पहाडी जिल्लाहरूमा घट्दो जनसंख्यासँगै यसले पार्ने जनसांख्यिकीयलगायत अन्य सामाजिक, आर्थिक, भौतिक र वातावरणीय प्रभावहरू क्रमश: देखिन थालेका छन् । तथापि देशमा जनसंख्या वृद्धिदर उच्च रहेकाले नीतिनिर्माताहरूलाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वाभाविकै हो । यसर्थ विश्वमा देखा परेका प्रमुख समस्याहरूमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । यसरी जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । फलत: जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो रहन सकेको छैन, जसले गर्दा प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तŒव जनसंख्याको अत्यधिक चाप हो । यसै कारणले होला, सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसंख्या वृद्धि नै हो । यसरी विश्वको जनसंख्या वृद्धिको क्रमलाई अवलोकन गर्ने हो भने प्रत्येक २ सेकेन्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरूको अनुमान छ । यसरी नै प्रति २ सेकेण्ड ६ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा ७ करोड ६० लाखभन्दा बढी मानिस थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशहरूमा परिरहेको छ । विकसित मुलुकहरूमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकहरूमा ८० प्रतिशत जनसंख्या बसोबास गर्छन् । यसैगरी विश्वको कुल प्रजननदर २.३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १.५ प्रतिशतमात्र रहेको भए तापनि अविकसित देशहरूमा यसको वृद्धिदर २ प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा ८ अर्ब ३१ करोड र सन् २०५० मा ८ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ । जसले गर्दा जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्पविकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरूको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने जनसंख्या वृद्धिदर अझै अति उच्च नै छ । देशमा बार्‍हौं जनगणना लिने कार्य वि.सं.२०७८ मा भयो । देशको पछिल्लो जनसंख्या अर्थात् ०७८ को जनगणना अनुसार २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यसरी सरसर्ती हेर्ने हो भने दस वर्षको अवधिमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले वृद्धि भएको जनाएको छ । विगत १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको थियो । यसमा महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ अर्थात् कुल जनसंख्याको ५१.०४ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ अर्थात् कुल जनसंख्याको ४८.९६ प्रतिशतमा पुगेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको जनसंख्या ६ लाख ९ हजार ८ सय ५८ जना बढी देखिन्छ । मूलत: मुलुकको जनसंख्या वृद्धिदर तीव्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । वि.सं. १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए तापनि वि.सं. २००९/११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । वि.सं. २०५८ को जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको देखिएको छ । यसमा पनि औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरूमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तान प्रतिआमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुन जाने अनुमान छ । वि.सं. २०५८ को जगगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको अनुमान गरिएको थियो । त्यसरी नै २०६८ को जनगणनाअनुसार दस वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएको जनाएको छ । यसमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको थियो । यसमा महिलाको जनसंख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ५१.५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कुल जनसंख्याको ४८.५ प्रतिशतमा झरेको थियो । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झन्डै ८ लाख जनसंख्या बढी देखिन्छ । यसरी वि.सं. २०६८ को जनगणनाले देशको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको देखिएको छ, जसलाई प्रतिशतको आधार भन्ने हो भने ०.९ प्रतिशत बिन्दु घटेको हो ।
संसारमा सबैभन्दा पहिला थोमस माल्थसले सन् १७९८ मा प्रकाशित आफ्नो प्रख्यात थेसिस ‘एन एसे अन द थ्योरी अफ पोपुलेसन’ मा मानवका दुई आधारभूत प्रवृत्ति ‘खाना र सेक्स’ उल्लेख गरेका थिए । सोही माल्थसको निबन्ध प्रकाशित हुँदा पृथ्वीमा ८० करोड मानिस मात्र थिए । तर, सन् १९६८ मा स्ट्यानफोर्ड युनिभर्सिटीका प्रोफेसर पल एरलिच र उनकी पत्नी एनी एरलिचले ‘द रोट ए’ प्रकाशित गरेपछि विश्वको जनसंख्याका बारेमा आधुनिक चिन्ताको विषय उठ्यो । यसका साथसाथै विश्वको जनसंख्याले अधिकतम सीमालाई कहिले छुन्छ भन्नेबारे विभिन्न अनुमान लगाएका छन् । त्यस्तैगरी सन् १९९४ मा विश्वको जनसंख्या ५.५ बिलियन मात्र थियो । त्यसपछि क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयका अन्वेषकहरूले मानव जनसंख्याको आदर्श आकार १.५ देखि २ बिलियन हुनुपर्छ भनेर गणना गरेका थिए । तर, सन् २०७० देखि २०८० सम्म पृथ्वीमा अधिकतम मानव जनसंख्या ९.४ देखि १०.४ बिलियनसम्म पुग्न सक्ने अनुमान गरिएको छ, जसमा कतिपय मानिस बढी जनसंख्याको बारेमा चिन्तित छन् । एकै समयमा धेरैले चेतावनी दिएका छन् । तर, आज औसतमा पाँचभन्दा बढी बच्चा जन्माउने देशको संख्या आठ मात्र छ । यसमा पनि धेरै देशमा, विशेष गरी दक्षिणी अफ्रिकामा, प्रजनन दर घटेको छ र गर्भनिरोधक प्रयोग बढेको छ, जुन राम्रो समाचार हो । उही समयमा, मध्यअफ्रिकाका धेरै देशमा अझै पनि उच्च प्रजनन दर र दीर्घायुको सम्भावनाका कारण जनसंख्या वृद्धिको उच्च दर छ । यसरी धेरै ठाउँमा यो दर २.५ भन्दा बढी छ, जुन धेरै उच्च छ । यी आँकडालाई अवलोकन गर्ने हो भने धेरै देशमा जनसंख्या प्रत्येक २० वर्षमा दोब्बर भएको देखिन्छ ।
समग्रमा भन्नुपर्दा पृथ्वीमा मानिसको संख्या १ अर्बबाट २ अर्ब पुग्नका लागि १ सय २५ वर्ष लाग्यो । तर, ७ अर्बदेखि ८ अर्ब पुग्नका लागि भने जम्मा १२ वर्ष लाग्ने भएको छ । तर, यसका बाबजुद सन् २०३७ सम्म विश्वको जनसंख्या ९ अर्ब र सन् २०५८ सम्ममा १० अर्ब पुग्नेछ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी रिपोर्टअनुसार बढ्दो हरितगृह ग्याँसको उत्सर्जनको मुख्य कारण भनेकै बढ्दो जनसंख्या हो । अर्कातर्फ बढ्दो जनसंख्याले आर्थिक विकासमा कम मद्दत गरिरहेको छ । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रूपमा जनसंख्या वृद्धि हुनेछ । त्यसमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । सन् २०५० सम्ममा हुने जनसंख्या वृद्धिमध्ये आधा योगदान अफ्रिकाका सब सहारामा पर्ने देशबाट हुनेछ । त्यसरी नै विश्व जनसंख्याको तथ्याङ्क हेर्दा ७ देखि ८ अर्बको जनसंख्या वृद्धिमा १० वटा देशले आधाभन्दा बढी योगदान गरेका छन् । यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ भने चीन र नाइजेरियाको वृद्धिदर क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ । विश्वमा अहिले सबैभन्दा बढी चीनमा १ अर्ब ४५ करोड र दोस्रो भारतमा १ अर्ब ४० करोडको हाराहारीमा जनसंख्या छ । तेस्रो, अमेरिकामा ३३ करोड जनसंख्या रहेको सम्बन्धित निकायले जनाएको छ । सन् २०२३ मा भारतले चीनलाई जनसंख्यामा उछिन्ने प्रक्षेपण छ । फलत: जनसंख्या वृद्धि, असन्तुलित बसाइँसराइ, लैङ्गिक असमानता, लैङ्गिक हिंसा, प्रजनन स्वास्थ्य समस्याजस्ता प्राकृतिक विपत्ले निम्त्याउने समस्यालगायत विविध समस्या विद्यमान छन् । यसलाई धेरैले बढ्दो जनसंख्यालाई समस्याका रूपमा व्याख्या गरे पनि यो समस्या मात्र नभई अवसर पनि हो, जसमा बढ्दो जनसंख्यालाई अवसरका रूपमा लिएर उचित व्यवस्थापन गर्न नसक्दा यसले बालिका, किशोरी, महिला र ज्येष्ठ नागरिकलगायत सीममान्तकृत वर्गका आममानिसलाई ज्यादा समस्यामा पारिरहेको छ । अत: जनसंख्या वृद्धिदर नियन्त्रित गर्ने आजसम्मका प्रयासहरू सफल नभएको यो एक उदाहरण हो । आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौं भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहनेछ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति–निर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ? मुलुकको जनसंख्या झन्डै तीन दशकदेखि उच्च गतिमा वृद्धि हुँदै छ । यसको मुख्य कारण हो, एकातिर मृत्युदरमा कमी आउनु र अर्कातिर उच्च प्रजनन दर कायमै रहनु ।

प्रतिक्रिया दिनुहोस्