Logo

बैंकको ब्याजदरविरुद्ध प्रदेश १ उद्योग वाणिज्य महासंघ आन्दोलित

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिले बैंक ब्याजविरुद्ध नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघ प्रदेश–१ को अगुवाईमा महासंघसँग सम्वद्ध जिल्ला/नगर उद्योग संघको उपस्थितिमा चर्काे ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । महासंघका प्रदेश–१ अध्यक्ष टीकाराज ढकालले नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख मीना पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन अन्य जिल्लाका जिल्ला/नगर संघको समेत सहभागिता रहेको थियो । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी जारी गरेको चालु पुँजी कर्जा मार्गनिर्देशक तत्काललाई स्थगन गर्नुपर्ने उल्लेख छ ।
अध्यक्ष ढकालले बैंकमा स्पेड दरलाई ४ दशमलव ४ प्रतिशतभन्दा कम राख्नुपर्ने माग गरे । ज्ञापनपत्रमा बैंकिङ क्षेत्रको नाफा विस्तार भए पनि निक्षेपको ब्याजदरका आधारमा कर्जाको ब्याजमा धेरै बृद्धि गरिएको उल्लेख छ । स्प्रेड रेटमा ६० आधारविन्दुको वृद्धि देखिने भएकाले बैंकिङ क्षेत्रले विद्यमान परिस्थितिलाई कर्जाको ब्याजदर बढाउने मौकाको रुपमा लिइएको उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरु ९० प्रतिशतको सीमाभित्र नबसेका र अतिरिक्त कर्जा लगानी गर्न सक्षम देखिएका छैनन् । बैंकिङ क्षेत्रले आफ्नो कुल निक्षेप र पुँजीको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने तर हालको व्यवस्थाअनुसार निक्षेपको ९० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न छुट दिइएको छ । निर्देशनअनुसार बैंकहरु ९० प्रतिशतको सीमाभित्र नबसेको उद्योगीहरुको आरोप छ । महासंघले ९० प्रतिशतको सीमा अल्पकालका लागि भए पनि खुकुलो पारेर तरलता अभावमा कमी ल्याउन माग गरेको छ ।
यसैगरी उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर कम हुनुपर्ने र कोभिड प्रभावित उद्योग व्यवसायलाई पुन:कर्जा सुविधा उपलब्ध गराउन माग गरिएको छ । यसैगरी १५० सीसीमाथिका मोटरसाइकल, तयारी मदिरा र तीन सय डलरमाथिका स्मार्टफोनको आयात खुल्ला गर्नुपर्ने माग गरिएको छ । यसैगरी अनिवार्य नगद मौज्दात अनुपातलाई ३ बाट ४ प्रतिशत पुर्‍याउँदा तरलतालाई सहयोग गरेको भन्दै यसलाई पूर्ववत् अवस्थामा राखिनुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश उपाध्यक्ष भीम पौडेल, केन्द्रीय उमेश डालमियालगायत झापा, मोरङ र सुनसरीका उद्योगी–व्यवसायी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्