जलवायुजन्य संकटसँग लड्न आदिवासी जनजातीका ज्ञानको महत्वपूर्ण «

जलवायुजन्य संकटसँग लड्न आदिवासी जनजातीका ज्ञानको महत्वपूर्ण

जलवायुजन्य संकटबाट अनुकुलित हुनका लागि आदिवासी जनजातीहरुको अनुभव र ज्ञान महत्वपूर्ण रहेको सरोकारवालाहरुको भनाइ छ ।
आइतबारदेखि शर्म–एल–शेख, इजिप्टमा सञ्चालन भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन ( कोप ट्वान्टी सेभेन) मा उपस्थित सरोकारवालाहरुले युनेस्कोद्वारा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जलवायुजन्य संकटसँग जुद्धनका लागि आदिबासी जनजातीको ज्ञान महत्वपूर्ण रहेको बताएका हुन् ।
जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका लागि आदिवासी ज्ञानको महत्वलाई अनुसन्धान र नीतिले बढ्दो सहयोग गरिरहेको उनीहरुको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको पाँचौं मूल्यांकन प्रतिवेदनले जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान अध्ययनहरू सञ्चालन गर्दा आदिवासी ज्ञान प्रणालीलाई विचार गर्नुपर्ने आवश्यकता स्थापित गरेको छ । दिगो, लागत–कुशल, र सहभागितामूलक न्यूनीकरण र अनुकूलन उपायहरू सिर्जनाका लागि मद्दत गर्न, जलवायु परिवर्तन नीतिमा आदिवासी ज्ञान प्रयोग गर्न सकिने उल्ल्ेख छ ।
जलवायु परिवर्तनसँग लड्नका लागि आदिवासी जनजातीको ज्ञान प्रणाली र अभ्यासलाई ‘महत्वपूर्ण स्रोत’ को रूपमा स्वीकार समेत गरिए पनि अनुसन्धान र नीतिमा उनीहरूलाई बारम्बार बेवास्ता गरिएको बताउँछिन् जलवायु अभियन्ता डा. पासाङ डोल्पा शेर्पा ।
विद्यार्थी जलवायुको विषयमा जानकार बनाउन पाठ्यक्रममा समेत आदिबासी जनजातीले जलवायु परिवर्तन न्यूनिकरणमा खेलेको भूमिका समेट्नुपर्ने उनको सुझाव छ । जलवायु परिवर्तनविद् डा.बिमल रेग्मीले नीतिगत सुधारको सन्दर्भमा, नेपालले स्थानीय नेतृत्वमा अनुकूलन कार्यहरू र योजनामार्फत आदिबासी जनजातलाई राम्रोसँग पहिचान गरेको बताए । “नेपालमा बसोबास गर्ने आदिबासी जनजातीको ज्ञान र सीपका आधारमा अनुकुलका कार्यक्रमलाई वैज्ञानिक रुपमा सञ्चालन गर्न सकिन्छ, र नेपाल जलवायु अनुकुलनका सिकाई र अनुभवमा विश्वव्यापी रूपमा अग्रगामी छ,” उनले भने, “किनकि यसले स्वदेशी ज्ञान र अभ्यासहरूलाई राम्रोसँग सम्मान गरेको छ, तर सुधार गर्न अझै क्षेत्रहरू छन् ।”
जलवायु अनुकुलनविद् डा. मदन परियारले स्थानीय रूपमा नेतृत्व गरिएको अनुकूलनले जीविकोपार्जनका विकल्पमा सुधार गरेको र यसरी विभिन्न समूहहरू विशेष गरी महिला, सीमान्तकृत समुदायहरूको जोखिममा सुधार भएको भन्दै यसलाई सुधारात्मक ढंगले अगाडि बढाउनुपर्ने बताए ।
अर्का जलवायु अभियन्ता टुंगा राईले पनि आदिवासी ज्ञानलाई पुनरुत्थान र प्रवद्र्धन गर्न महत्वपूर्ण रहेको बताएका छन् । जलवायु विज्ञान बुझ्न र जलवायु संकटसँग लड्नका लागि आदिबासी ज्ञान र अनुभवलाई आधार बनाउन उपयुक्त रहने उनको भनाइ छ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) काठमाडौं कार्यालयले (नेपाली) नीति निर्माता, आदिवासी जनजाती, अनुसन्धानकर्ता र व्यवसायीबीच सार्थक संवादको खोजी भइरहेको बताउछिन् युनेस्कोकी आदिबासी जनजाती संलग्नता विज्ञ वर्षा लेखी ।
छललफल कार्यक्रमले आदिवासी कार्यकर्ता, शिक्षाविद्, नीति निर्माता, व्यवसायीहरू र जलवायु शिक्षा, न्यूनीकरण र अनुकूलनका विशेषज्ञलाई अन्तर्राष्ट्रिय सम्मेलनहरू, दिगो विकास लक्ष्यहरू कार्यान्वयनमा आदिवासी जनजाती र तिनीहरूको ज्ञानले खेल्न सक्ने महत्वपूर्ण भूमिकाबारे छलफल गर्न सहयोगी पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्