Logo

६ महिनामा काम सक्ने लक्ष्य

रिट्ठेपानी डाँडा कटानका लागि कम्पनी छनोट

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटान गर्न कम्पनी छनोट भएको छ । नेपाल नागरिक उ्डडयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयले यसै साता डाँडा कटानीका लागि कम्पनी छनोट गरेको हो ।
निर्देशनालयले कटान अगाडि बढाउन सम्झौता आह्वान गर्दै सूचना जारी गरेको छ । डाँडा कटानका लागि गरेको बोलपत्र आह्वानमा १० कम्पनी सहभागी भएकोमा उमा गल्वा ज्वाइन्ट भेन्चर प्राविधिक रुपमा छनोट भएको प्राधिकरणले जनाएको छ ।
कम्पनीसँग आर्थिक प्रस्ताव माग गर्दै प्राधिकरणले सम्झौताका लागि बोलाएको हो । प्राधिकरणले डाँडा कटानीका लागि करसहित ३२ करोड ३० लाख ४४ हजार ७ सय ८७ रुपैयाँमा सम्झौता गर्न उमा/गल्वा ज्वाइन्ट भेन्चरलाई बोलाएको हो। प्राधिकरणले कम्पनी छनोट गर्दै सम्झौताको लागि बोलाएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनकर्मीले बताए । उनले भने, “अर्काे हप्ता डाँडा कटानको लागि सम्झौता हुन्छ र त्यसलगत्तै कटानको काम सुरु हुन्छ ।” सुरुमा १४ मिटर डाँडा कटानी एक महिनामा पूरा गरेर विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने उनले बताए । त्यसपछि विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने डाँडा ४० मिटर कटानी गर्नुपर्ने हुन्छ ।
दुई हेक्टरमा फैलिएको सो डाँडाको दुई थुम्का कटानको लागि गत फागुन २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई मध्यनजर गरेर कटान गर्नुपरेको आयोजना प्रमुख मुनकर्मीको भनाइ छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डलाई अनुसरण गर्दा सो डाँडा व्यवधानको रुपमा देखिएकोले कटान गर्नुपर्ने देखिएको थियो ।
समुद्र सतहबाट ८ सय ५० मिटर उचाइमा रहेको दुई डाँडा एउटा साढे १२ मिटर र अर्काे ४० मिटर कटान गर्नुपर्ने प्राधिकरणले बताउँदै आएको छ ।
कोभिड–१९ महामारी सुरु हुनुअगावै सबै सरोकारवाला निकायसँगको छलफलपछि सिमांकन गरेर आयोजनाले डाँडा कटानको लागि टिप्पणी उठाएर प्राधिकरणमा पठाएको थियो । त्यसैअनुसार सरकारले डाँडा कटानको स्वीकृति प्रदान गरेको थियो ।
प्राधिकरणका अनुसार करिब ४० मिटर उचाइ कटान गर्नु पर्नेछ भने प्रारम्भिक सर्भेअनुसार ३ लाख ७० हजार घनमिटर माटो कटान गर्नु पर्नेछ । आधुनिक मेसिन प्रयोग गरी डाँडा कटान गरिने आयोजनाले जनाएको छ । हाल निजी जग्गाको कटान भने भइरहेको छ । दुई हेक्टरमा फैलिएको सो सरकारी वनमा केही निजी जग्गा पनि रहेको छ । कहाँ कसरी कटानबाट निस्किएको माटो, ढुंगा व्यवस्थापन गर्ने भनेर स्थानीय तहसँग छलफल गरेर टुंगो लगाइने प्राधिकरणको भनाइ छ । माटो व्यवस्थापन स्थलको दूरीले लागत रकम निर्धारण गर्ने आयोजना प्रमुख मुनकर्मीको भनाइ छ । उनले भने, “काम सुरु भएको ६ महिनामा कटान गरिसक्ने योजना छ ।”
प्रारम्भिक अध्ययनबाट डाँडा कटानमा खासै चुनौती नरहेको ठहर आयोजनाले गरेको छ । करिब ५ प्रतिशतसम्म चट्टान हुन सक्ने अनुमान छ । सन् २०२१ को जुलाइ १० सम्म विमानस्थल निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । आयोजनाले आगामी डिसेम्बरसम्म सबै निर्माणको काम पूरा गरी सन् २०२३ देखि नियमित उडान गर्ने योजना भए पनि थप समय लम्बिने देखिएको छ ।
आयोजनाको ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ८० प्रतिशत वित्तीय प्रगति पूरा भएको छ । विमानस्थलको सिँचाइ निकासको लागि काम गर्न भने बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो । करिब २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण हुन लागेको हो ।

बक्स
क्लालिब्रेसन फ्लाइट १४ मंसिरमा

काठमाडौं, २१ कात्तिक (रासस): पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यही नोभेम्बर ३० (मंसिर १४ गते) यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ हुने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताए ।
“जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आउँछ, तर उडान संख्या तत्कालका लागि सीमित हुनेछ,” उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुनिश्चितता जरुरी हुन्छ ।”
यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ नोभेम्बरमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ । उक्त जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको चेकजाँच गर्नेछ । एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ ।
सोही कम्पनीले गत फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।
चराविज्ञले छोटो रिसर्च गरी चराचुरुंगी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताए ।
करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्नेछ । विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्