Logo

घट्यो डेंगु संक्रमण

वर्षायामसँग बढेको डेंगुको संक्रमण चिसो बढेपछि घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो ।
अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगुको संक्रमण पनि कम हँुदै गएको हो ।
वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले त्यो संख्या निकै घटेको छ । गत मंगलबारदेखि यो साताको सोमबारसम्म छ सय २४ जनामा मात्र डेंगुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अंग्रेजी महिना अक्टोबर (गत असोज १५ देखि कात्तिक १५सम्म) १७ हजार सात सय १७ जनामा र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगुको संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले डेंगुको संक्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेंगुका बिरामी घटेको बताए ।
महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औं हप्तासम्म डेंगुको संक्रमण बढेको र त्यसपछि ३८औं हप्तादेखि घट्न सुरु भएको जानकारी दिए । उनका अनुसार ४३आँै हप्तामामा हजारभन्दा कमको संख्यामा डेंगुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेंगुको संक्रमण देखिएको छ । अबको १५ दिनभित्र यो संख्या निकै कम हुने अनुमान छ । संक्रमण दर उच्च भएको बेला नेपालमा डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ चार प्रकारका देखिएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष र छ जना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो संख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गर्छ ।
नेपालमा यसवर्ष सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेंगुका बिरामी भेटिएका छन् । तीमध्ये ५४ जनाको डेंगुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ ।
तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेंगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्