कम्पनीको नाफा भविष्यमा बढ्ने नै हो भने सेयरको मूल्य स्वाभाविक रूपले माथि जान्छ । किनकि सेयर मूल्य भनेको जहिले पनि भविष्यको मूल्य हुन्छ ।
सेयर मूल्य घटबढको दार्शनिक पक्ष

कम्पनीहरूका सेयरको मूल्य कतिसम्म बढ्छ वा घट्छ ? सेयरमा लगानी गरेर नाफा गर्न चाहनेका लागि यो चासो हुन्छ । धेरै मानिसहरू यसको अनुमानमा असफल हुन्छन् । यस लेखमा सेयरको मूल्य बढ्ने वा घट्ने घटनाको दार्शनिक पक्षलाई केलाउने प्रयत्न गरिएको छ ।
सामान्यतया सेयरको मूल्य योभन्दा तल झर्दैन भनेर सही अनुमान गर्न सकिन्छ । तर योभन्दा माथि उक्लिँदैन भनेर सही अनुमान गर्न सकिँदैन । तथापि योभन्दा तल झर्दैन भनेर जुन बिन्दु अनुमान गरिन्छ, प्राय: त्यो बिन्दुसम्म मूल्य झर्दैन ।
मूल्य घटबढको दार्शनिक पक्षलाई बुझ्न कुनै स्क्रिप्टको उदाहरण लिनुपर्छ । यहाँ एनएमबी बैंकको उदाहरण लिऊँ । २२ जुलाई २०२१ मा एनएमबी बैंकको सेयर मूल्य ४ सय ५४ रुपैयाँ थियो । २५ सेप्टेम्बर २०२२ मा २ सय २८ रुपैयाँ छ ।
एनएमबी बैंकको विगत आठ वर्षको इतिहास हेर्दा औसत लाभांश १५ प्रतिशत छ । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ को लाभांश १२.५ प्रतिशत छ । ८ वर्षमा न्यूनतम ८ र अधिकतम २१ प्रतिशत लाभांश दिएको छ । यसको अर्थ बैंकको प्रतिफलमा धेरै उतारचढाव छैन, स्थायित्व नै छ ।
नेपालमा जोखिमरहित लगानी (मुद्दती, बन्ड, ऋणपत्र) को औसत वार्षिक प्रतिफल १० प्रतिशत छ । व्यापार, जलविद्युत्, उद्योग, सेयर जहाँ लगानी गरे पनि त्यही १० प्रतिशतलाई आधार मानिन्छ । नगदको रूपमा पैसा (तरलता) चाहिने छ भने ५ प्रतिशत (बचत ब्याजदर) प्रतिफललाई आधार मान्ने हो ।
यदि लगातार औसत १० प्रतिशत प्रतिफल दिने कम्पनी छ भने त्यसको सेयर मूल्य रु. १०० लाई उचित मानिन्छ । त्यो हिसाबले १५ प्रतिशत प्रतिफल दिन्छ भने रु. १ सय ५० उचित हो । यस आधारमा कम्पनीको मूल्य यतिसम्म तल झर्छ भनेर अनुमान गर्न सकिन्छ ।
माथिको हिसाबलाई हेर्ने हो भने एनएमबी बैंकको मूल्य १ सय ५० रुपैयाँभन्दा तल झर्दैन भनेर अनुमान गर्न सकिन्छ । किनकि त्यो मूल्यमा पर्याप्त माग सिर्जना हुन्छ । माग नभए पनि लगानीकर्तालाई कुनै नोक्सानी हुँदैन ।
तथापि १ सय ५० मूल्य पर्खेर बस्ने हो भने सेयर किन्न नपाइन पनि सक्छ । अहिलेसम्मको इतिहास हेर्दा बैंकले १५ प्रतिशत लाभांश दिएको हो । आगामी १० वर्षमा यसको औसत लाभांश २० प्रतिशत हुन्छ भन्ने कसैलाई लाग्यो भने उसको लागि रु. २ सय उचित मूल्य हुन्छ ।
माथिको अवस्थाको विपरीत बैंकको भविष्य राम्रो छैन, आगामी १० वर्षमा औसत लाभांश ५ प्रतिशत मात्र हुन्छ भन्ने कसैलाई लाग्यो । उसका लागि रु. ५० उचित मूल्य हुन्छ । यदि बेला–बेला नगदमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ भने रु. १ सय उचित मूल्य हुन्छ ।
४ सय ५४ रुपैयाँ हुँदा पनि धेरै मानिसले एनएमबी बैंकको सेयर किने । किनकि उनीहरूलाई लाग्यो, यसको मूल्य ५ सय पुग्न सक्छ । ५ सय पुगेको भए पनि किन्ने मानिस हुन सक्थे । उनीहरूलाई ६ सय पुग्छ भन्ने लाग्न सक्स्थ्यो । माथिको सीमा नै हुँदैन ।
यदि कम्पनीको नाफा भविष्यमा बढ्ने नै हो भने सेयरको मूल्य स्वाभाविक रूपले माथि जान्छ । किनकि सेयर मूल्य भनेको जहिले पनि भविष्यको मूल्य हुन्छ । मानौं कुनै कम्पनीले आगामी पाँच वर्ष कत्ति पनि प्रतिफल दिन सक्दैन । त्यसपछि लगातार वार्षिक ६० प्रतिशत प्रतिफल दिन सक्छ । त्यसको मूल्य अहिले नै रु. ५०० उचित मानिन्छ ।
माथिको उदाहरणमा एनएमबी बैंकको सेयर मूल्य तल झर्न कुनै आधार नै चाहिँदैनथ्यो । ओभर प्राइसिङ भएको मूल्य जहिले पनि खस्न सक्थ्यो । किनकि भविष्यमा कम्पनीको मुनाफा वृद्धि हुने देखिएको थिएन । सेयर बजार भनेको उकालोमा भारी गाडी ठेलेजस्तो हो । माथि लैजान निकै मिहेनत चाहिन्छ । कुनै बल लगाइएन भने आफैं तल झरिहाल्छ ।
सेयरको मूल्य बढाउने सबैभन्दा प्रभावकारी उपाय भनेको भ्रम सिर्जना हो । सेयरमा लगानी गरे अन्यत्रभन्दा बढी फाइदा हुन्छ भनेर भ्रम फैलाइन्छ । तल्लो बिन्दुमा सेयर किनेका मानिसहरूले यस्तो ह्विम सिर्जना गर्छन् । ताकि माथिल्लो बिन्दुमा बेचर अति उच्च पुँजीगत लाभ (नाफा) प्राप्त गर्न सकियोस् ।
सेयरको मूल्य तल्लो बिन्दुमा आउँदा सेयर किन्ने व्यक्ति थोरै हुन्छन् । सेयरको मूल्य माथिल्लो बिन्दुमा जाँदा सेयर बेच्ने व्यक्ति थोरै हुन्छन् । त्यही थोरै व्यक्तिले अति उच्च मुनाफा गर्ने हुन् । धेरैले मूल्य बढ्दा सेयर किन्ने र घट्दा बेच्ने गर्छन् ।
बजारमा फलानो कम्पनीले आगामी वर्ष यति प्रतिफल दिन्छ रे, फलानो कम्पनीको व्यवस्थापनमा यस्तो सुधार हुँदै छ रे, फलानो कम्पनीले नाफा बढाउने यस्तो रणनीति लिएको छ रे भन्ने हल्ला फैलिन्छ । यसको आधारमा सेयरको माग वृद्धि हुन्छ र मूल्य माथि जान्छ ।
मानौं कुनै कम्पनीको सेयर कित्ताको माग बढ्यो र मूल्य माथि गयो । अब आम सर्वसाधारण लगानीकर्ताले अनुमान गर्न थाल्छन् । त्यो कम्पनीले भविष्यमा पक्कै पनि राम्रो प्रतिफल दिनेवाला छ । त्यसैले स्मार्ट लगानीकर्ताहरू त्यसमा झुम्मिएका हुन् । पछि झन् महँगो हुन्छ, अहिले किनिहालौं ।
त्यो कम्पनीको मूल्य बढ्नुमा भविष्य राम्रो हुने आधार देखिएको पनि हुन सक्छ । अर्कातर्फ सेयरका खेलाडीहरूले अरू लगानीकर्ता आकर्षित गर्न त्यसै मूल्य बढाएका पनि हुन्छन् । त्यसै बढेको मूल्यमा खेलाडीले आफ्नो सेयर बेच्छन् । पछि त्यो मूल्य स्वत: घटिहाल्छ ।
सेयर बजारमा बेलाबेलामा मास साइकोलोजी (आम मनोविज्ञान) बन्छ । केही समयपछि सेयरहरूको मूल्य माथि जानेवाला छ । देशको अर्थतन्त्र, विश्वको अर्थतन्त्रमा सुधार हुनेवाला छ, आर्थिक वृद्धि बढ्नेवाला छ, कम्पनीहरूको नाफा बढ्नेवाला छ । अहिले सेयर किने पछि महँगोमा बेच्न पाइन्छ वा उच्च प्रतिफल पाइन्छ ।
कहिलेकाहीं यस्तो मास साइकोलोजीपछि कम्पनीहरू र अर्थतन्त्रमा कुनै सकारात्मक सुधार हुँदैन । कहिलेकाहीं भने साँच्चै कम्पनीहरूको नाफा बढ्ने पूर्वसन्ध्यामै यस्तो मास साइकोलोजी बन्छ ।
तथापि कम्पनीको प्रतिफल र सेयरको मूल्यको अनुपात भने नमिल्न सक्छ । कम्पनीको प्रतिफल २ गुणा बढ्न सक्छ तर सेयरको मूल्य ६ गुणा बढेको हुन सक्छ । यसको अर्थ सेयरको मूल्य ओभर प्राइसिङ हो । ओभर प्राइसिङ भएको मूल्य सजिलै घट्न सक्छ ।
आजको सेयरको मूल्य भनेको वास्तवमा भविष्यकै मूल्य हो । तर, कम्पनीहरूको भविष्यको प्रतिफल कसले सही अनुमान गर्न सक्छ ? मानौं, अहिले मेटाभर्समा काम गर्ने कम्पनीहरूले १०/२० वर्षपछि अति उच्च मुनाफा गर्न सक्छन् भन्ने अनुमान गर्न सकिन्छ ।
मेटाभर्समा काम गर्ने कम्पनीले १० वर्षपछि १ सय, ५ सय, ५ हजार कति प्रतिशत लाभांश दिन सक्लान् त ? एक डलर चुक्ता मूल्य भएको कुनै मेटाभर्स कम्पनीको सेयर मूल्य अहिले १०, १ सय, १ हजार कतिलाई उचित मान्ने ? अर्कातर्फ १०/२० वर्षमा पनि कम्पनीहरू सामान्य मुनाफामै सीमित हुने हुन् कि ?
पुरानै स्थापित कम्पनीको इतिहासका आधारमा पनि भविष्य अनुमान गर्न सकिँदैन । उदाहरणका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई लिऊँ । त्यस बैंकले २०६८ सालदेखि २०७६ सालसम्म औसत ४८ प्रतिशत लाभांश दिएको थियो । त्यसपछिका दुई वर्षमा क्रमश: १२ र १३ प्रतिशत मात्र दियो ।
कुनै कम्पनीको सेयर मूल्य एक/दुई महिनाको अन्तरमा ११ सयदेखि २१ सयको बीचमा स्वीङ गरिरहेको हुन्छ । त्यो देखेर २१ सयमा बेच्ने लोभले धेरै सर्वसाधारणले १२/१३ सय हुँदै १७/१८ सयसम्म सेयर किन्न थाल्छन् । त्यसपछि मूल्य झरेर १२/१३ सयमा अड्किन्छ । किनकि त्यहाँ सीमित खेलाडीले आफूबीच कारोबार गरेर स्वीङ गराएका हुन्छन् । नेपालको हकमा चन्द्रागिरी हिल्स (केबुलकार) सायद यसको उदाहरण हुन सक्छ ।
फन्डामेन्टल एनालाइसिस गरेर कम्पनीहरूको मोटामोटी अन्डर प्राइस थाहा पाउन सकिन्छ । अन्डर प्राइसमा किन्न सके स्वत: नाफा भइहाल्यो । ओभर प्राइसमै किनेको सेयर पनि पछि फेरि अझ बढी ओभर प्राइस हुँदा बेचेर नाफा गर्न सकिन्छ ।
तर अन्डर प्राइसमा किन्न वर्षौं पर्खनुपर्ने पनि हुन सक्छ । त्यतिखेरसम्म नगद होल्ड गरेर राख्दा नोक्सानी भइरहेको हुन्छ । त्यस्तै बुलिस बजारमा सेयर किनियो । बियरिस सुरु भयो । बढेर बेचौंला भन्दाभन्दै झन घट्यो । अहिलेभन्दा माथिको अर्को बुलिस आउन कति समय पर्खने त ?
सेयर बजारमा नाफा हुने एउटा विधि स्मार्ट लगानी र अर्को विधि संयोग वा कागताली हो । स्मार्ट लगानीकर्ता बन्न सूचना, ज्ञान, बुद्धि, विवेक, क्षमता अपर्याप्त हुन सक्छ । त्यसैले स्मार्ट बन्न प्रयत्नशील हुने तर लगानी भने गुमे पनि आफूले थेग्न सक्ने हदसम्म मात्र गर्नु नै बुद्धिमता हुन्छ ।