दुर्गमको स्वास्थ्य सेवा औषधि पसलकै भरमा

बारेकोट गाउँपालिका–१ रामीडाडाँकी ३२ वर्षीया कल्पना पुनले ६१ वर्षीया आमा बिरामी भएपछि पिठ्युँमा बोकेर मेडिकलमा पुगिन् । करिब दुई घण्टा सल (बर्को)मा बोकेर हिँडेरै वडा नम्बर ५ घाटबजारमा रहेको मेडिकल (औषधि पसल)मा ल्याइपुर्याउनु त्यति सजिलो थिएन ।
गाउँसम्म सडक पुगेको छ, तर बिरामी पिठ्यँुमा बोकेर औषधि पसलमा पुर्याउनु पर्ने बाध्यता अर्कोतिर रहेको कल्पनाले बताइन् । सडकमा गाडी चलाउनलाई बनाएको हो कि हेर्नलाई हो कल्पनाले प्रश्न गरिन । उनले भनिन्, “वर्षा सकिएको पनि महिना दिन पुगिसक्यो सडक मर्मत हुँदैन, गाउँमा बिरामी बोक्ने स्ट्रेचरसम्म छैन । हाम्रो दु:ख कसले सुन्ने ? लिम्सामा अस्पताल छ तर डाक्टर भए पो उपचार गर्नु, अस्पतालको अनुहार हेरेर त रोग निको हुँदैन क्यारे ।”
दुई घण्टा लगाएर एक्लै आमालाई बोकेर ल्याई यही पुष्पाञ्जली मेडिकलमा उपचार गराइरहेकी छु,” उनले भनिन् । नेताहरू घरमा भोट माग्न आइरहन्छन् तर कसैले पनि आमालाई उपचार गर्नका लागि सहयोग गर्दैनन् पुनको दु:खेसो छ । हाम्रो भोटले पालिका जिते, अब प्रदेश र संघसमेत जित्ने दाउमा छन् तर हाम्रो दु:खमा उनीहरूको सहयोग कहिल्यै पनि भएन पुनले पीडा सुनाउँदै भनिन् । बारेकोट गाउँपालिका–४ जिरीका पवित्रा रावत पनि सोही औषधि पसलमा उपचार गराइरहेकी छन् । उनको गाउँमा स्वास्थ्य संस्था छ तर रावतलाई त्यहाँको उपचार गर्ने तरिका नै मन पर्दैन । बिरामी भएमा सबै गाउँका स्थानीयवासी त्यही मेडिकलमा आउने गरेको रावतको भनाइ छ ।
आफू पनि दुई दिनदेखि मेडिकलमा उपचार गरिरहेको बताइन् । सरकारीमा कहिले औषधि नपाइने, कहिले डाक्टर नभेटिने र धेरै कुर्नुपर्ने झनझटका कारण औषधि पसलमा आएको उनको भनाइ छ । सरकारीको औषधिले कामसमेत नगर्ने गरेको रावतको भनाइ छ । लिम्सास्थित स्वास्थ्य संस्थामा भन्दा मेडिकल रहेको घाटबजारमा बिरामीको चाप बढी देखिन्थ्यो । लिम्सामा जानका लागि बाटोसमेत मर्मत भएको छैन, उपचार गर्न सबै मेडिकलमै आउने गरेको बारेकोट–५ घाटका विवेक सिंहले बताए ।
औषधि पसलभन्दा सरकारी स्वास्थ्य कसरी कमजोर भएत, यो सोचनीय विषय बनेको सिंहको भनाइ छ । नि:शुल्क औषधिदेखि उपचार सेवा उलपब्ध हुने स्वास्थ्य संस्थामा जनताले किन भरोसा गर्न छाडे हाम्रो ध्यान त्यता मोडिनुपर्ने उनको तर्क छ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जनताको पहुँचमा स्वास्थ्य संस्था भएकाले त्यहाँबाट सेवा लिन आग्रह गरे ।
बारेकोट गाउँपालिकाभित्रका आन्तरिक सडक मर्मत गरेर सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सके यहाँका सर्वसाधारणलाई राहत हुने देखिन्छ ।