Logo

नमुना सामुदायिक अस्पताल एचडीसीएसले सञ्चालन गर्ने

लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल व्यवस्थापन स्वामित्व लिएसँगै एचडीसीएसले नमुना सामुदायिक अस्पताल सञ्चालन गर्ने भएको हो ।
जिल्ला अस्पताल व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकारले सम्झौता भंग गरेपछि सुन्दरबजारको सामुदायिक अस्पताल सञ्चालन गर्नेगरी शनिबार सम्झौता भएको छ । विगत २२ वर्षदेखि जिल्लामा दिँदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिने उद्देश्यसहित नमुना सामुदायिक अस्पताल सञ्चालन गर्न लागिएको एचडीसीएसका संस्थापक डा. तीर्थ थापाले बताए । “हामीले करिब २२ वर्षसम्म जिल्लामा स्वास्थ्य सेवा दियौं,” डा. थापाले भने, “यो सेवालाई निरन्तरता दिनका लागि अब सुन्दरबजारको नमुना अस्पतालमा आएका छौं, हाम्रो सेवा निरन्तर रहनेछ ।”
अस्पताल सञ्चालनका सन्दर्भमा आगामी २०२३ को पहिलो दिन १ जनवरीदेखि लागू हुनेगरी ३० वर्षका लागि सम्झौता भएको छ । सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, एचडीसीएसका सस्थापक डा. थापा, अस्पताल विकास समितिका सस्थापक अध्यक्ष सिताराम कोइराला, सल्लाहकार समिति संयोजक अम्बिकाप्रसाद पण्डितलगायतको रोहवरमा सम्झौता भएको हो । एचडीसीएसका तर्फबाट निर्देशक कपिल शर्मा र अस्पतालका तर्फबाट परमेश्वर अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात प्रतिक्रिया दिँदै एचडीसीएसका निर्देशक कपिल शर्माले दुई दशकभन्दा बढी समय जिल्ला अस्पतालमा सेवा प्रवाह गर्दा नेपालकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको र अब नमुना सामुदायिक अस्पतालको सेवा प्रवाहलाई पनि उत्कृष्ट बनाउने बताए । अस्पतालको आवश्यकता अनुसार पूर्वाधार र उपकरण व्यवस्थापन गर्ने र सो भेगका बासिन्दालाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको लक्ष्य रहेको निर्देशक शर्माको भनाइ थियो ।
“जिल्ला अस्पतालको निम्ति जुन लगानी गर्‍यांै प्रभावकारी स्वास्थ्य सेवाका लागि त्यही प्रकारले यहाँ पनि गछौं,” शर्माले भने, “यहाँको आवश्यकता अनुसार हामी योजना बनाउँदै सेवा सुविधा थप्दै जान्छौं ।”
२०६७ सालमा समुदायस्तरबाट सप्ताह महायज्ञ लगाएर रकम संकलन गरी नमुना सामुदायिक अस्पताल स्थापना भएको थियो । अस्पताल व्यवस्थापन चुनौतीपूर्ण बन्दैगएको र एचडीसीएस र प्रदेश सरकारको सम्झौता खारेज भएको अवस्थामा सोही संस्थालाई सञ्चालन गर्न आग्रह गरिएको नमुना सामुदायिक अस्पताल विकास समिति अध्यक्ष परमेश्वर अधिकारीले बताए । “हामी समुदायबाट अस्पताल सञ्चालन गर्नु कम चुनौतीपूर्ण थिएन,” अध्यक्ष अधिकारीले भने, “जनताको स्वास्थ्य सेवाका लागि हामीले राम्रो साझेदार खोजेका थियौं, एचडीसीएसजस्तो सफल अनुभवी साझेदार पायौं, हामीले नै उहाँहरूलाई आग्रह गरेका हौं ।”
दुई संस्थाबीच २५ बुँदे सम्झौता भएको छ । सम्झौताअनुसार नमुना सामुदायिक अस्पताल सञ्चालन र व्यवस्थापनको स्वामित्व अब एचडीसीएसले लिने छ भने समुदाय व्यवस्थापन र नीतिगत व्यवस्थापनका सन्दर्भमा अस्पताल विकास समितिले जिम्मेवारी लिने भएको छ । अस्पतालबाट स्वास्थ्य सेवासँगै निकट भविष्यमा स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने एचडीसीएसले जनाएको छ ।
१५ शैयाको नमुना सामुदायिक अस्पतालमा हाल सघन कक्ष, आकास्मिक कक्ष, प्रयोगशालासहित पाँच करोडको लागतमा निर्माण भएको संरचना छन् । अस्पतालले आकस्मिक सेवा, ओपीडी सेवा, ल्याब, एक्सरे, भिडियो एक्सरे, प्रसूति सेवासहित दन्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्