Logo

२१ वर्षमा १३ करोडको नि:शुल्क उपचार

लमजुङ जिल्ला अस्पताल व्यवस्थापन गरेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले २१ वर्षको अवधिमा करिब १३ करोडको नि:शुल्क सेवा दिएको जनाएको छ । संस्थाले करिब २२ वर्षको अवधिमा १२ करोड ७८ लाख आठ हजार पाँच सय २६ रुपैयाँ बरावरको नि:शुल्क सेवा दिएको हो ।
२०५८ सालदेखि तत्कालीन नेपाल सरकारको स्वामित्वमा रहेको सो अस्पताल एचडीसीएसले व्यवस्थापन जिम्मा लिएदेखि चालू आर्थिक वर्षको असोज महिनासम्म सो रकम बराबरको नि:शुल्क सेवा दिएको अस्पतालले जनाएको हो । एचडीसीएसले प्रदेश सरकारलाई अस्पताल व्यवस्थापन जिम्मा हस्तान्तरण गरेसँगै पत्रकार सम्मेलन गरी दुई दशकको अवधिमा भएका गतिविधिको बारेमा जानकारी गराएको हो ।
एचडीसीएसले सो अवधिमा अस्पतालमा उपचार गराउन आएका गरिव विपन्न परिवारका दुई लाख ७० हजार ६ सय ७१ जनालाई नि:शुल्क उपचार सेवा उपलब्ध गराएको जनाएको छ । तत्कालीन अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार सो अवधिमा नि:शुल्क उपचार पाउनेहरूमा एक लाख ८० हजार ३ सय १६ जना महिला र ९० हजार ३ सय ५५ जना पुरुष रहेका छन् ।
साविक अस्पताल प्रमुख श्रेष्ठका अनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ति आएका गरिव, असाहाय, अपाङ्ग, ज्येष्ठ नागरिकलगायतलाई नि:शुल्क सेवा दिएको हो । एचडीसीएसको व्यवस्थापनमा अस्पताल सञ्चालन भएसँगै लमजुङ जिल्ला अस्पतालमा लाखौंको संख्यामा उपचार सेवाप्रवाह भएको छ । एचडीसीएसका अनुसार करिब २२ वर्षको अवधिमा अस्पतालबाट ११ लाख ७३ हजार ३ सय ६० जनाले मात्रै बहिरंग सेवा लिएका छन् ।
सोबाहेक अस्पतालमा ८२ हजार ८ सय ८ जनाले अन्तरंग सेवा लिएका छन् भने एक लाख २१ हजार ४ सय ३ जनाको आकस्मिक उपचार भएको छ । त्यसैगरी २१ लाख १८ हजार ७ सय १९ जनाले प्रयोगशाला सेवा लिएका छन् । एचडीसीएसका अनुसार दुई दशकको अवधिमा दुई लाख पाँच हजार ६ सय ४० जनाले एक्सरे सेवा, २१ हजार पाँच सय ५२ जनाले ईसीजी सेवा, एक लाख १२ हजार २ सय १६ जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने सोहि अवधिमा ८० हजार ८ सय २० जनाको शल्यक्रिया सेवा भएको छ ।
अस्पतालले सो बाहेक हजाराँैको सँख्यामा प्रसुती सेवा, आँखाजाँच सेवा, परामर्श सेवापनिउपलब्ध गराएको एचडिसिएसले जनाएको छ । एचडिसिएसले अस्पतालव्यवस्थापन गरेसँगै नेपाल सरकारले जिल्ला अस्पतालबाट गर्ने अन्यनियमितिकार्यक्रमहरुलाई पनिनिरन्तरतादिएको सँस्थाले जनाएको छ ।
अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्लाहरू तनहुँ, गोरखा र मनाङका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रूपमा सञ्चालनमा आएको हो ।
मानव विकास तथा सामुदायिक सेवाले पुराना भवनहरूको मर्मत तथा आवश्यक थप भवनहरू निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । अस्पतालमा हाल ६२ शैया रहेका छन् भने निकट भविष्यमा एक सय शैया पुर्‍याउने लक्ष्य लिइएको छ । तर प्रदेश सरकारले संस्थासँगको सम्झौता खारेज गरेसँगै हाल अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्