उत्पादनमुखी व्यवसायमा छथर गाउँपालिकाको जोड

छथर प्रदेश नम्बर १ को तेह्रथुम जिल्लामा रहेका ६ वटा स्थानीय तह तथा धनकुटा र पाँचथर जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो । छथर गाउँपालिका पूर्वी नेपालको १७ थुममध्येको एक थुम छथर हो । छथरको नामकरणका सम्बन्धमा थुपै्र किंवदन्ती रहेका छन् । छथर शब्द थङथरु शब्दबाट अपभ्रंश भएको मानिन्छ, यसको अर्थ लडाइँ थामियो भन्ने हुन्छ । दस्ताबेजहरूमा विक्रम संवत् १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङहरू लिम्बुवानका महŒवपूर्ण शक्तिका रूपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आफ्नो छुट्टै अस्तित्व खडा गरी थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामकरण गरी कायम गराएको किंवदन्ती रहँदै आएको छ ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध छथर निर्माण गर्ने आधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी योजनाहरू सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ । दोस्रो स्थानीय निर्वाचन सम्पन्नसँगै गाउँपालिकाले उत्पादनमुखी व्यवसायलाई जोड दिएको छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा उत्पादनमुखी व्यवसायलाई जोड दिने भएको छ । गाउँपालिकामा रहेको बाँझो जमिनलाई उपयोग गर्ने नीति अघी सार्दै उत्पादनमुखी व्यवसायलाई जोड दिने भएको छ । गाउँपालिका क्षेत्रमा रहेको बाँझो जमिन उपयोग गरेबापत कृषकलाई प्रोत्साहनस्वरूप १० हजार दिने भएको छ । सुक्खाग्रस्त क्षेत्रहरूमा फलफूल पकेट क्षेत्रका रूपमा विकास गर्दै किसानलाई उत्पादनमुखी व्यवसायमा जोड्न ५० प्रतिशत अनुदानमा फलफूलको बिरुवा विगत आर्थिक वर्षमा प्रदान गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै जाने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको मुख्य सडक सिधुवा शुक्रबारे ओख्रे सडकलाई कालोपत्रेका रूपमा तीव्र रूपमा निर्माण भइरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । गाउँपालिकादेखि सबै वडा कार्यालयसम्म जोडिने मापदण्डमा आधारित सडक स्तरोन्नति, सबै वडा जोडिने चक्रपथ निर्माण, हरेक वडाहरूबाट तमोर नदी जोडिने सडक ट्र्याक खोल्ने काम सन्पन्न भएका छन् । हाक्पारा पाँचथर मोटरेबल पुल निर्माण सुरु भएको छ ।
गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिकका लागि उज्यालो छथर अभियान कार्यक्रम ल्याएको छ । सो कार्यक्रममार्फत आर्थिककै कारण मिटरबक्स जडान गर्न नसक्ने नागरिकलाई नि:शुल्क मिटरबक्स तथा कालो तार प्रदान गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत सबै टोलबस्तीमा सूचीकरण तथा दुर्गमबस्ती सोलार सेट प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
पूर्वाधार निर्माणतर्फ गाउँपालिकाले छथर क्याम्पस भवन निर्माण, बसपार्क निर्माण, गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण, गाउँपालिकास्तरीय खेलमैदान निर्माण, एक वडा एक खेलमैदान, सामुदायिक भवन, कृषि हाटबजार व्यवस्थापन तथा तरकारी संकलन केन्द्र केपाङ, कभर्डहल निर्माणलगायतका पूर्वाधार निर्माण भएको अध्यक्ष लिम्बूले बताए । त्यस्तै ५ करोड लागतमा तेलिया खानेपानी आयोजना सञ्चालन गरी ८ सय घरधुरी लाभान्वित भएका छन् ।
त्यस्तै स्वास्थ्यतर्फ गाउँपालिकाको वडा नं १, ३, ४, ५ र ६ स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । छथर अस्पतालको नयाँ भवन १८ करोडबराबरको लगानीमा निर्माण भइरहेको छ । वडा नं १, २, ५ र ६ मा ५ वटा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रको स्थापना गरी सेवा प्रवाह हुँदै आएको छ ।
शिक्षा क्षेत्रमा जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूको बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पठाउनुपर्ने नीति ल्याई शिक्षाको गुणस्तर विकास गरिएको छ । एक विद्यालय एक टेलिभिजन कार्यक्रम, गाउँपालिकामा रहेका सबै माविमा कम्प्युटर शिक्षा, सबै बालविकास केन्द्रमा मन्टेश्वरी शिक्षा प्रवद्र्धन, माध्यमिक विद्यालयहरूमा प्रयोगशाला पुस्तकालय, आइसिटी कार्यक्रम, छात्रा आराम कक्षा स्थापना तथा सञ्चालन तथा हरेक माविमा शिक्षक अनुदान कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
साथै गाउँपालिकाले एक टोल एक विकास निर्माण, एक टोल एक उत्पादन, ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य उपचार कार्यक्रम, दन्त उपहार कार्यक्रम, दीर्घरोगीलाई नि:शुल्क स्वास्थ्य बिमा, दीर्घरोगीहरूलाई उपचारमा आर्थिक सहयोग, गरिब तथा विपन्नलाई जस्तापाता वितरण, बसाइँ सरी आउनेलाई व्यावसायिक अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । ज्येष्ठ एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । मासिक १ हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ ।
त्यस्तै गाउँपालिका क्षेत्रमा मृत्यृ भएका परिवारलाई मलामी खाजा सहयोगको रूपमा ५ हजार दिने भएको छ । जन्मदेखि मृत्युसम्म नागरिकको सेवा स्थानीय सरकारको भएको प्रत्याभूति दिलाउन जन्मदर्ता उपहार, विवाह उपहार, कानुनी सन्देशलगायतका कार्यक्रमहरू गाउँपालिकाले अघि सारेको जनाएको छ । बिरामी उद्धार कार्यक्रम सञ्चालन गरी आर्थिक विपन्न तथा गरिब नागरिकहरूलाई नि:शुल्क रूपमा सवारी साधनमार्फत अस्पताल पुर्याउनेलगायतका कामहरू गर्दै आएको छ ।
प्रस्तुति : प्रकाश पाक्साँवा