Logo

शर्तसहित खुल्यो प्याराग्लाइडिङ, एकल उडानमा भने प्रतिबन्ध कायमै

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो ।
प्राधिकरणले बुधबार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानबिन समिति गठन गरेको थियो । समितिले शुक्रबार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो । सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, “शुक्रबार नै प्राधिकरणले तोकेको मापदण्ड कार्यान्वयनका लागि आठ विमानस्थल कार्यालयलाई परिपत्र गरेर उडान सुचारु गर्न भनेको छ ।”
प्राधिकरणले प्याराग्लाइडिङ सेवा सुचारु गर्न प्राधिकरणले व्यावसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र उडान गर्नुपर्ने, उडान भर्ने पाइलटले प्राधिकरणले तोकेको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका पाइलटले मात्र उडान भर्न पाउने, व्यावसायिक उडानमा समान पाइलटले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोशाक लगाउनुपर्ने र उक्त पोशाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनुपर्ने भनेको छ । साथै व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरुको १५ दिनभित्रमा प्राधिकरणले प्राविधिक परीक्षण गरेर उडान भर्न योग्य ग्लाइडरहरुलाई मात्र व्यावसायिक उडान अनुमति दिने, उडान भर्ने पाइलटको आपतकालिन उद्धारको वर्षमा एक पटक प्रयोगात्मक तालिम लिनुपर्ने प्राधिकरणले भनेको छ ।
प्राधिकरणले मुलुकभरका प्याराग्लाइडिङ सेवामा असोज ३० गतेदेखि प्रतिबन्ध लगाएको थियो । प्राधिकरणले प्याराग्लाइडिङ उडानलाई थप व्यवस्थित र सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निशिम थापाको प्याराग्लाइडिङ उडान भर्ने क्रममा निधन भएको थियो ।
खेलका क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकारका प्याराग्लाइडिङ खेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा उडान भर्ने क्रममा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा थापाको मृत्यु भएको थियो । थापाको मृत्यु भएसँगै प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको थियो ।
शुक्रबार उडान सुचारु गर्नको लागि प्राधिकरणले मातहतका विमानस्थल कार्यालयलाई परिपत्र गरेपछि सरोकारवाला निकायसँग शनिबार छलफल गरेको छ । पोखरामा उडान भर्ने प्याराग्लाइडिङले प्राधिकरणका प्राविधिकसँग शनिबार छलफल गरी प्राधिकरणले जारी गरेको मापदण्ड लागू गर्न छलफल गरेको छ । कतिपय शर्त पूरा गरिसकेको र केही गर्नको लागि बाँकी रहेको नेपाल हवाई खेलकुद संघले जनाएको छ । शनिबार नै संघले प्राधिकरणका प्राविधिकहरुलाई प्याराग्लाइडिङ उडान सञ्चालनको लागि अपनाउने सुरक्षाको विषयमा जानकारी गराएको नेपाल हवाई खेलकुद संघका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले बताए । “हामीले उडान सुरक्षाका लागि अपनाउने विधिप्रति प्राधिकरण सकारात्मक छ,” उनले भने, “पोखराको सराङकोट क्षेत्रबाट हुने व्यावसायिक उडान र परीक्षण उडान हुने हुँदा विभिन्न दुर्घटना निम्तिएकाले संघले एकल उडान बन्द गरेको छ । अर्काे क्षेत्रमा एयर स्पेस खोज्नको लागि प्राधिकरणसँग माग गरेको छ ।” संघले एकल उडानमा पनि प्रतिबन्ध लगाएको छ ।
पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी दर्ता रहेकोमा ५२ कम्पनीले उडान भरिरहेका छन् । मौसम राम्रो भएको समयमा दैनिक ७ सय जनाले सराङकोटबाट पोखरा आसपासमा उडान भर्ने गरेको संघले जनाएको छ । उडानबाट दैनिक करिब ३० देखि ३२ लाखको कारोबार हुने गरेको छ र ३ सय पाइलट रहेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष गरेर ५ सय बढीले रोजगारी प्राप्त गरेको संघले भनेको छ । संघलाई उडान सुचारु गर्नको लागि पत्र प्राप्त गरेको भण्डारीको भनाइ छ । शनिबार संघ र प्राधिकरणका प्राविधिकहरुले तोकिएको सर्त पूरा गरेको विषयमा लिखित जानकारी सहितको सुरक्षा प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाएको भण्डारीले बताए । उनले भने, “संघले रिपोर्ट प्राधिकरणलाई पठाएको छ । प्राधिकरणले स्वीकृत गरेसँगै प्याराग्लाइडिङ सेवा पुन: सुरु हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्