डेंगु फैलिने कारण नदीको प्रदूषण पनि «

डेंगु फैलिने कारण नदीको प्रदूषण पनि

नदीको बढ्दो प्रदूषणका कारण पनि नेपालमा डेंगु फैलिरहेको विज्ञहरुले बताएका छन् । नदी प्रदूषण नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको भन्दै विज्ञहरुले आपत्ति पनि जनाएका छन् । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ । एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु रोग नेपालमा पहिलो पटक २०६१ मा देखिएको थियो । वातावरणीय प्रदूषण, नदीको प्रदूषण, जनचेतनाको अभावका कारण पनि डेंगु महामारीको रुपमा फैलिरहेको विज्ञको तर्क छ । जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको तापक्रमका कारण पनि डेंगु जस्ता रोगहरु लाग्ने जलवायुविद्को भनाइ छ । जलवायुविद् डा. माधव कार्कीले नदीमा दूषित पानी जम्मा भइरहँदा पनि डेंगु संक्रमण फैलिने बताएका छन् । “डेंगु फैलनुको मुख्य कारण नै यहाँको फोहोर र दूषित पानी हो जुन हाम्रा नदीहरुमा जम्मा भइरहेको छ,” उनले भने, “नदी प्रदूषण नियन्त्रण गर्न नसके यस्ता महामारीहरु फैलिने छ । यसकारण सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ ।”
त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका सहप्राध्यापक मेघराज बञ्जाराले तापक्रम १८ डिग्री सेल्सियसमा नझरेसम्म डेंगु गराउने लामखुट्टेलाई उपयुक्त मौसम रहिरहने बताएका छन् । उनका अनुसार चिसो मौसममा मात्रै डेंगुको प्रकोप नियन्त्रण हुने छ ।
बक्स
मृतकको संख्या ४८ पुग्यो
हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ वटै जिल्लामा डेंगु फैलिएको छ ।
त्यसैगरी कोरोना भाइरस संक्रमणबाट हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कुल संक्रमितको संख्या भने १० लाख एक सय ९१ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या सात सय ११ छ । सोमबार २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्