जीर्ण भौतिक संरचनामा अध्ययन गर्न विद्यार्थी बाध्य

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनीय बनेको छ ।
बाँकेको वैजनाथ गाउँपालिका–८ गुरदयालपुरको लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो छ । भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन् । वि.सं २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसके पछि विद्यालयको भौतिक अवस्था हेर्न लायक छैन । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाति चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भए पनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरू वर्षेनी घटिरहेका छन् । विद्यार्थीहरू भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयको गुनासो छ ।
अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरू नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरू नै बताउँछन् । गुणस्तरीय शिक्षा र सेवा सुविधा खोज्दै अभिभावकले नै निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बताउँछन् वैजनाथ गाउँपालिका–८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावत । उनका अनुसार पाँच वर्षमा विद्यालयमा एक लाखमात्र बजेट विनियोजित भएको छ । विद्यालयको फर्निचरका लागि वडा कार्यालयले पाँच वर्षमा मात्र एक लाख रुपैयाँ दिएको उनले बताए ।
विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रधानाध्यापक सुरेशकुमार थारुले बताए । उनका अनुसार विद्यालयमा पाँच कक्षासम्म पढाइ भए पनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी छन् । स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उनको भनाइ छ ।
विद्यालय विकास समितिका सदस्य राधेश्याम थारुले विद्यालय विकास समितिले विद्यालयको मर्मतसम्भारका लागि वडाबाट अहिलेसम्म एक लाख रुपैयाँमात्र उपलब्ध भएको बताए । यसअघिको विकास समितिले केही नगरे पनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको उनको दाबी छ ।
उनले विद्यालय स्थापना भएको चार दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको बताए । विद्यालयका सबै भवन भत्केर जीर्ण छन् तर मर्मत हुने छाँटकाँट देखिँदैन । आवश्यक सामग्री पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरूको भनाइ छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानो नै उडाउने जस्ता समस्या रहेको उनीहरू बताउँछन् । विद्यालयको पूर्वाधार जीर्ण भएको छ भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्यजस्तै छ ।