पर्यटकीय गन्तव्यमा लगानी बढ्दो «

पर्यटकीय गन्तव्यमा लगानी बढ्दो

कोरोना कहरका कारण पर्यटन क्षेत्र लयमा फिर्ता हुने क्रममा रहेको भए पनि पर्यटन पूर्वाधारमा भने लगानी थपिने क्रम जारी छ । नेपाल पर्यटकीय मुलुक भएर पनि दीर्घकालमा नेपालमा पर्यटन उद्योगको सम्भावना देखेर यो क्षेत्रमा लगानी र भएका पूर्वाधारको स्तरोन्नति थपिने क्रममा रहेको छ । कोभिड–१९ को महामारीबाट पर्यटक आगमन र आन्तरिक पर्यटकको चहलपहल नभए पनि सबैजसो पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासको काम भने भइरहेको छ । प्रकृतिक सौन्दर्यताले गर्दा पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृंखला, प्राकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन अभिप्रेरित गर्छ । नयाँ प्रडक्ट थप गर्ने र पर्यटन उद्योगलाई दीर्घकालीन गन्तव्यमा रूपान्तरण गर्ने काम लगानीकर्ताहरूले गरिरहेका छन् । पछिल्लो समय होटलका अतिरिक्त नेपालको साहसिक पर्यटन विकासमा विभिन्न गतिविधि विकास हुँदै आएका छन् । नेपालको साहसिक पर्यटन विकासमा पछिल्लो समय विभिन्न पर्यटकीय गन्तव्यको विकासले गति लिँदै आएको छ । कोभिड–१९ को महामारीबाट पर्यटन आगमन र आन्तरिक पर्यटनको चहलपहल नहुँदा सबैजसो पर्यटकीय गन्तव्य पूर्वाधार विकासमा लागेका थिए । फलस्वरूप हाल देशभरि नै बन्जी र जिपलाइनको बहार नै आएको छ । पर्यटकीय सम्भावना बोकेका डाँडाकाँडा तथा पौराणिक क्षेत्रमा जिपलाइन बनिरहेका छन् भने कुनै सञ्चालनमा आएका छन् । साथै, कतै पर्यटन क्षेत्रका व्यवसायी भएका पूर्वाधारको संरचना निर्माणमा लागिपरेका छन् । केही पर्यटकीय सम्भावना देखेर लगानी विस्तार र पूर्वाधार निर्माणमा जुटेको अवस्था छ । कोभिड–१९ को असर पर्यटन क्षेत्रमा परेसँगै धेरै खाली समयको सदुपयोग गर्दै व्यवसायीहरूले भएका पूर्वाधारको विस्तार र स्तरोन्नति गरेका थिए भने भावी दिनमा नेपालमा पर्यटनको सम्भावना देखेर नयाँ पर्यटकीय गन्तव्य विकास पनि भइरहेको छ । विगतमा माउन्टेन साइक्लिङ, र्‍याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ र केही बन्जीमा मात्र सीमित नेपालको साहसिक पर्यटन क्षेत्र अब भने थप जिपलाइन, बन्जीमा समेत विस्तार हुँदै गएको छ । पछिल्लो समय युवादेखि अन्य वर्गको रोजाइमा साहसिक पर्यटन क्षेत्र बढी रुचाउने भएसँगै यस क्षेत्रको लगानी थपिँदो मात्रामा छ । कोभिड–१९ पछिका समयमा नेपालको साहसिक पर्यटन क्षेत्र जिपलाइन, बन्जी तथा पर्यटकीय गन्तव्यको विस्तारमा केन्द्रित रहेर यस क्षेत्रमा लगानी विस्तार गरेका व्यवसायीहरूसँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

अन्नपूर्ण केबलकार सञ्चालनमा आएसँगै सराङकोटमा चहलपहल बढेको छ
केदार थापा
सञ्चालक, उडी एडभेन्चर
पोखरा पर्यटकीय नगरी भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने गर्छ । अन्नपूर्ण केबलकार सञ्चालनमा आएसँगै सराङकोटमा भने पर्यटकीय गन्तव्य विकास गर्नुपर्छ । केबलकार चढेर गएका यात्रुले सराङकोट दशकौंदेखि सूर्योदय अवलोकनका अतिरिक्त साहसिक गतिविधि गर्न सकून् भनेर नै पर्यटकीय गन्तव्यमा विकास गरिएको हो । सराङकोटमा अन्नपूर्ण केबलकार सञ्चालनमा आएसँगै यहाँको चहलपहल बढेको छ । केबलकारमा आउने यात्रुलाई लक्षित गर्दै उडी एडभेन्चर प्रालिले केबलकारको टप स्टेसनमा सय मिटरको जिपलाइन, ६० मिटरको साइक्लिङ र इलेक्ट्रिक पिङ (जायन्ट स्विङ) सञ्चालन गरेका छौं ।
हाल सय मिटरको जिपलाइन, ६० मिटर लामो स्काई साइक्लिङ र जायन्ट स्विङ पूर्ण सञ्चालनमा आएका छन् । औसतमा ५ देखि ७ सयले यो पर्यटकीय गतीविधिमा सहभागी रहँदै आउनुभएको छ ।
केबलकारमार्फत सराङकोट पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई थप मनोरञ्जन दिनका लागि जिपलाइन सञ्चालनमा ल्याइएको हो । यसले गर्दा पर्यटकले मनोरञ्जनको अलावा यहाँ थप समय बिताउन पाएका छन् । यसले गर्दा सो क्षेत्रमा पर्यटकले बढी समय व्यतीत गर्न पाएका छन् । सो टप स्टेसनको माथि टावर निर्माण गरिएको छ । जहाँ फुड कोड सञ्चालनमा छ । त्यहाँ पर्यटकले विभिन्न खाजा तथा पेय पदार्थ सेवन गर्दै सराङकोटबाट मनोरम दृश्य अवलोकन गर्न पाउने छन् । यहाँ लाइभ म्युजिक पनि सञ्चालन हुने भएकाले गर्दा दिनभरि नै विभिन्न गतिविधिमा सहभागी भएर मनोरञ्जन लिन सकिने पर्यटकीय गन्तव्यको विकास भएको छ । जिपलाइन खेल्न ३ सय, स्काई साइक्लिङको ५ सय र स्विङ (पिङ) खेल्न ५ सय शुल्क निर्धारण गरिएको छ । करिब एक करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको सो पर्यटकीय गतिविधिले १० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साहसिक गतिविधिमा दैनिक करिब ५ देखि ८ सयले सेवा लिन सक्नेछन् । सूर्योदय अवलोकनका लागि हाल केबलकार बिहान ५ बजेदेखि सञ्चालनमा रहेको छ ।

उच्चस्तरको सेवा दिने लक्ष्यका साथ पार्क सञ्चालनमा ल्याएका हौं
हीरा केसी
सञ्चालक, फिस्टेल ड्रिम पार्क
पछिल्लो समय नेपालमा वाटर स्पोर्ट्स पार्क ग्राहकहरूको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिम पार्क सञ्चालनमा आएको छ । फिस्टेल ड्रिम पार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रूपमा निर्माण गरिएको छ । यसअघि पोखरामा यति ठूलो लगानी तथा प्रविधिको प्रयोग गरेर पार्क बनेको थिएन । पर्यटकीय नगरी भएकाले गर्दा पनि यहाँ पर्यटकको चाप हुने हुँदा पर्यटकलाई उच्चस्तरको सेवा दिने लक्ष्यका साथ पार्क सञ्चालनमा आएको हो । पारिवारिक वातावरण भएकाले गर्दा यहाँ आएर पूरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारका इभेन्ट्सहरू विकास गरिएको छ । इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्री फल, ट्रोनाडो बावल, वेभ पुल, रेललगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिनेछ ।
पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ, जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार २ सय र ड्राई पार्क प्याकेज ४ सय ५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रतिखेलको १ सय ५० देखि ३ सय रुपैयाँसम्म लाग्नेछ । पानीमा खेलिने वा भनौं गर्मीमा खेलिने खेलहरू मात्र नभई पानी नचाहिने खेलहरू पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिसहरू आएर रमाइलो गर्न सकिने गरी व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राई पार्कको परिकल्पना गरिएको हो । धेरै पार्क सिजनअनुसार मात्र सञ्चालनमा आउने गरेको पाइएको छ । तर, हामीले बच्चाहरूका लागि छुट्टै इन्डोर गेमहरू राखेका छौँ । यस पार्कमा जडान गरिएका प्रविधि एवं सामग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ । यसले हामीले दिने सेवामा कुनै समझदारी गरेका छैनौं । ६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर पाँच हजार मानिस एकैपटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दूरीमा रहेको छ । पार्कमा जान निजी मात्र नभई एयरपोर्टबाट ढुंगेसाँगुु, सीतापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

पर्यटकलाई साहसिक गतिविधिमा सहभागी गराउने हाम्रो लक्ष्य हो
विक्रम बाडे
सञ्चालक, बेलुन नेपाल
नेपाल हट एयर बेलुनको माध्यमबाट पर्यटकीय गतिविधिको विकास गर्नका लागि बेलुन नेपालको स्थापना गरेका हौं । कोभिड–१९ का कारण बन्द भएको पोखरामा हट एयर बेलुन १५ गतेदेखि सञ्चालनमा ल्याएका छौं । हाल दैनिक तीन उडान गर्दै आएका छौं, जसमा एक पटकमा ५ सय ६० केजीको भार बहन गर्न सक्नेछ । करिब आठ जनाले एक पटकमा सयर गर्न पाउनेछन् । करिब चार करोडको लगानीमा स्थापना गरेको बेलुन नेपालमा हामीले १४ जनालाई रोजगारी दिएका छौं । आगामी दिनमा चितवनको सौराहमा पनि सञ्चालन गर्ने योजनासहित तयारी भइरहेको छ । चाँडै सञ्चालनमा ल्याउने र आन्तरिक तथा बाह्य पर्यटकलाई साहसिक पर्यटकीय गतिविधिमा सहभागी गराउने हाम्रो लक्ष्य हो । यसले गर्दा पर्यटकले फरक साहसिक गतिविधि तथा दृश्यावलोकन गर्न पाएका छन् । विदेशबाट प्राप्त गरेको जनकारीका आधारमा मैले नेपालमा हट एयर बेलुन सञ्चालनमा ल्याएको हो । कोभिड–१९ महामारीपछि बन्द रहेको बेलुन उडान पुन: सुचारु गर्न युरोपबाट पाइलटसमेत नेपाल ल्याएर बेलुन नेपालका सञ्चालकमा ल्याएका हौं । हट एयर बेलुन सञ्चालनका लागि नेपालमा हट एयरको पाइलट नभएकाले हामीले युरोपबाट पाइलट ल्याएर सञ्चालनमा ल्याएका हौं । कम तौल भएका व्यक्ति भएमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ । उडान अवधि ३० देखि ४० मिनेटको हुनेछ । यसका लागि नेपालीलाई आठ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको छ । हट एयर बेलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान भरिने गरिएको छ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बेलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अद्भूत दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा हट एयर बेलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलो पटक नेपालमै प्राविधिक जनशक्तिमार्फत सञ्चालनमा आएको हो ।
हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधीर श्रेष्ठले हट एयर बेलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् । सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रालाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रूपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् । सुधीर पनि अल्ट्रालाइटका पाइलटसमेत हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बेलुन उड्ने भएपछि यहीं नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए । एड्भान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म लिए र प्राधिकरणको परीक्षा दिएका थिए ।
अहिले नेपालमा हट एयर बेलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधीर र सन्तमात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बेलुनको प्राविधिकका लागि पाँचवटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ । लामिछाने र श्रेष्ठ हट एयर बेलुनको प्राविधिक हुनुअघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो, तर अब भने समयमै प्राविधिक उपलब्ध नहुँदा एक–दुई महिना नै अपरेसन बन्द गर्नुपर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने विश्वास लिएका छौं । बर्खाका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ । यो एडभेन्चरका सहभागीलाई प्रतिव्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्ससमेत गरेका छौं । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ ।

प्रतिक्रिया दिनुहोस्