एनआरएनएका दुई माग तत्काल पूरा हुने ओलीको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीले राखेका नागरिकता र नेपालमा लगानी गर्ने माग तत्काल पूरा हुने बताएका छन् । गैरआवासीय नेपाली संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधबार पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राखेका माग सबै जायज भएको भन्दै केही माग तत्काल पूरा हुने बताए ।
“गैरआवासीय नेपाली नागरिकताको माग नाजायज छैन । नागरिकताका विषयमा म प्रधानमन्त्री हुँदा समेत पटकपटक दफावार छलफल भएका थिए,” उनले भने । एनआरएनएले राखेका ३ वटा माग मध्ये २ वटा तत्काल पूरा हुने आश्वासन उनले दिए । उनले नागरिकता र लगानीका विषयमा देखिएको विवाद तत्काल हल हुने खालका रहेको तर्क गरे । विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने अधिकार स्थापित हुनुपर्ने भए पनि तत्काल सुरक्षा तथा प्रशासनिक स्थिति कमजोर रहेको बेला केही समय पर्खनुपर्ने उनले बताए । गैरआवासीय नागरिकताको टुंगो लगाएर मात्र मताधिकारको विषय आउने उनले प्रष्ट पारे । उनले विदेशमा आर्जन गरेको पँुजी, सीप, ज्ञान र प्रविधि लगानी गर्ने सम्बन्धमा सहजिकरण हुनेमा विश्वस्त रहन आग्रह गरे ।
सो अवसरमा गैरआवासीय नेपालीको आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने जनाउँदै संघले लामो समयदेखि उठाउँदै आएको नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा ऐनमा संशोधन गरेर समाधान गरिने जानकारी दिइएको थियो । पूर्वप्रधानमन्त्री ओलीले एनआरएनए समयको मागअनुसार आकर्षक संस्था बन्दै गर्दा परिपक्व हुने बेलामा आएका विवाद क्रमश: हल हुँदै जाने विश्वास रहेको समेत बताए ।
सो अवसरमा एनआरएनएका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीले आर्जन गरेको पँुजी, सीप, ज्ञान र प्रविधिलाई नेपालको समृद्धिमा लगाउन नै विदेशमा रहेका नेपालीले रगत पसिना बगाइरहेको बताए । अध्यक्ष केसीले सरकार तथा राजनीतिक दलले गैरआवासीय नेपालीलाई दिने नागरिकताका सम्बन्धमा गम्भिर हुन अनुरोध गरे । संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनए र यसभित्र रहेका विश्वभरका नेपालीलाई सकारात्मक रुपमा हेरिदिन अनुरोध गर्दै देशलाई समृद्ध बनाउन विदेशमा रहेका नेपाली सधैं प्रयत्नरत रहेको बताए । एनआरएनएका प्रवक्ता सोम सापकोटाले घोषणापत्र प्रस्तुत गर्दै लामो समयदेखि अल्झिएको गैरआवासीय नागरिकताको विषयलाई अघि बढाउन अनुरोध गरे । संघले सार्वजनिक गरेको घोषणापत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षाको व्यवस्थाका लागि तत्काल गृहकार्य गर्न सरकारसँग अनुरोध गरिएको छ । विदेशबाट पठाएको रेमिट्यान्स उपयुक्त क्षेत्रमा लगानी गर्ने सरल वातावरण बनाउन समेत अनुरोध गरिएको छ । युद्धग्रस्त श्रम गन्तव्यमा काम गरिरहेका नेपाली श्रमिकको उचित व्यवस्थापन गर्न सम्बन्धित देशको कूटनीतिक नियोगलाई सक्रिय बनाउन पनि एनआरएनएले अनुरोध गरेको छ ।