नागरिकतासम्बन्धी ऐन संशोधन गराउने प्रतिबद्धता
एनआरएनलाई लगानी र प्रतिफल लिन सहजीकरण गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीले सहज रूपमा लगानी गर्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार गैरआवासीय नेपाली संघ दिवस (एनआरएनए डे)लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न समेत गैरआवासीय नेपालीहरुलाई आह्वान गरे ।
उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी समेत गराए । उनले हरेक गैरआवासीय नेपालीले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीले आफू रहेको देशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पुर्याउन अनुरोध गरे ।
प्रधानमन्त्री देउवाले नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको पुँजी, सीप, ज्ञान र प्रविधिलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न अनुरोध गरे । देउवाले एनआरएनको अनुरोधबमोजिम यस आर्थिक वर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड रुपैयाँ कायम गरेको जानकारी गराए । त्यस्तै, १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख छ । यसरी नै धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उनले बताए । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था पनि गरेको छ । यसबाट गैरआवासीय नेपालीलाई नेपालमा विभिन्न माध्यमले लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा लिइएको छ । सो अवसरमा गैरआवासीय नेपालीको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै संघले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा नागरिकता सम्बन्धी ऐनमा संशोधन गरेर समाधान गरिने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “तपाईंहरुले उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा ऐनमा समेटेर लैजानेछौं ।” प्रधानमन्त्री देउवाले सरकारले गैरआवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्ति सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे । सो अवसरमा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत आवश्यक रहेको जिकिर गरे । गृहमन्त्री खाणले विदेशमा रहेका हरेक नेपालीको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि दोहोर्याए ।