Logo

कुल भूमिको जम्मा २१ प्रतिशत मात्र भूमिमा कृषि उब्जनी हुने तथ्यांकले हाम्रो देशमा अझै धेरै उत्पादन बढाउन सकिने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

कृषि व्यवस्थापनमा विश्लेषणात्मक अवधारणा

Tractor spraying soybean field at spring

दसैं तथा तिहार हामी नेपालीलाई मात्र नभई विश्वका लगभग सबै हिन्दू जातिहरूका लागि एउटा महत्वपूर्ण चाड तथा उत्सवका रूपमा रहेको छ । वर्षभरि काम तथा व्यवसाय गरेर यसै अवसरमा परिवारका सम्पूर्ण सदस्यहरू एकै ठाउँमा जम्मा भई ठूलाबडाबाट आशीर्वाद ग्रहण गरी नयाँ पहिरनका साथ मीठामीठा भोजनहरू खाई अत्यन्तै हर्षोल्लासका साथ यो चाड मनाउने प्रचलन रहँदै आएको छ । तर, यस वर्षको दसैं भने आर्थिक कारणले गर्दा सबैको रमाइलो र सहज भयो भन्न सक्ने अवस्था छैन ।
आर्थिक पक्षको सन्दर्भमा कुराकानी गर्नुपर्दा कोभिड महामारीले विश्वव्यापी रूपमा सिर्जना गरेको आपूर्ति श्रृंखला अवरोधका कारण संसारभरका व्यापार–व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । असहजताबाट सहजतातर्फ उन्मुख हुँदै गएको परिस्थिति, जब रसिया–युक्रेनको युद्ध सुरु भयो, त्यसपछि झनै प्रतिकूल बन्न पुग्यो । यसले दैनिक उपभोग्य वस्तु (खानेकुरा) तथा रसायनिक मलको मूल्य मात्र बढाएन, अत्यावश्यक सामानहरूको उपलब्धतामा पनि कमी ल्याएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार अहिले विश्वभर करिब ८२ करोड ८० लाख मानिसले एक छाकको भरमा पूरा एक दिन गुजारा चलाउनुपर्ने अवस्था सिर्जना भएको छ । यसमा पनि करिब ४८ वटा निम्न आय भएका तथा आयातमा निर्भर राष्ट्रहरूलाई अत्यन्तै असहज अवस्था रहेको आईएमएफको अध्ययनले पुष्टि गरेको छ ।
तसर्थ कोभिड महामारी, आपूर्ति श्रृंखला अवरोध, रसिया–युक्रेनको युद्ध, तेल र खाद्यान्नको मूल्यवृद्धि र त्यसपछि संसारभरि बढेको मुद्रास्फीतिलाई रोक्न केन्द्रीय बैंकबाट गरिएको नीतिगत ब्याजदरको वृद्धि तथा फलस्वरूप बैंकिङ प्रणालीको ब्याजदरमा भएको वृद्धिले गर्दा समग्र आर्थिक तथा वित्तीय गतिविधिमा आएको मन्दीले नेपालजस्तो आयातमा निर्भर रहेको देशलाई निकै असहज हुने आकलन गरिएको छ । यस्तो असहज समयमा प्रतिकूलताबाट अनकूलतातिर उन्मुख गराउन अहिलेको समय चुनौतीपूर्ण भए पनि असम्भव भने छैन । कुनै पनि समृद्ध राष्ट्र तथा संस्थाको सफलताको पछाडि तीनवटा कारक तŒवहरू रहेका हुन्छन्, त्यो हो— किन, कसरी र के ? सबैभन्दा भित्री तहमा त्यस राष्ट्रको उद्देश्य रहेको हुन्छ, जसले त्यो राष्ट्रले सो उद्देश्य ‘किन’ राखिएको हो भनी व्याख्या गरिएको हुन्छ । त्यसपछि दोस्रो तहमा सो उद्देश्य ‘कसरी’ प्राप्त गर्न सकिन्छ भन्ने कुरा तय गरिन्छ । त्यसपछि सबैभन्दा बाहिरको तहमा ‘के’ वा कुन वस्तुहरू र सेवाहरूको प्रयोग गर्दा तय गरिएको उद्देश्य प्राप्त हुन सक्छ भन्ने कुरा निहित हुन्छ ।
अब नेपाल पनि यस्तो विषम आर्थिक प्रतिकूलताबाट अनुकूलतातर्फ लैजान निकै सम्भावना बोकेको कृषिक्षेत्रलाई मनन गर्दा कृषिले हाम्रो देशमा कम्तीमा हरेक नेपालीलाई दुई छाकका लागि आत्मनिर्भर बनाउन सक्नेमा विश्वस्त हुने आधारहरू निकै रहेका छन् । तर, यसका लागि माथि उल्लेख गरिएको आधारभूत तथ्यांक किन, कसरी र केलाई राम्रो नियतका साथ पहिल्याउन जरुरी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेका विभिन्न तथ्यांक तथा कृषिसँग सम्बन्धित अरू सूचनाहरूबाट किन, कसरी र के गर्ने भन्ने कुरामा निकै परिणाममुखी मार्गदर्शन प्राप्त हुन सक्छ ।

कृषिक्षेत्रको विकास किन गर्ने ?
नेपालको कुल भूमिमध्ये जम्मा २१ प्रतिशत भूमिमा मात्र खेती गरिएको छ । यस तथ्यांकलाई हेर्दा कृषिप्रति आमनेपालीको आकर्षण अत्यन्तै कम रहेको देखिन्छ । विगतको नेपाली समाजलाई फर्केर हेर्दा र आमनेपालीको पेसाप्रतिको धारणलाई बुझ्दा पहिलो प्राथमिकतामा नोकरी, दोस्रोमा व्यापार–व्यवसाय र अन्तिम विकल्पका रूपमा मात्र कृषि पेसालाई रोज्ने गरेको पाइन्छ । ग्रामीण क्षेत्रका बासिन्दाहरूसमेत अन्य पेसाहरू खोजी गरेर निर्विकल्प भएर मात्र कृषि पेसालाई रोज्ने गरेको देखिन्छ । आमनेपाली नागरिकले गर्वका साथ कृषि पेसा मेरो पेसा हो भनी भन्न सक्ने अबस्था देखिँदैन । कृषि पेसा नै किन ? भन्ने सवालमा भन्नुपर्दा पहिलो कारण कुल भूमिको २१ प्रतिशत भूमिमा मात्र खेती भएको हुँदा यसमा प्रचुर सम्भावना देखिन्छ । दोस्रो, नेपालमा अहिले पनि वार्षिक करिब ४७ अर्बको धानचामल, १७ अर्बको तरकारी र ११ अर्बको फलफूल भारतबाट मात्र आयत हुने गरेको छ । तसर्थ हाम्रो देशभित्र नै कृषिको उत्पादन बढाउन सक्यौं भने उत्पादनले सहज रूपमा बजार पाउने र कुल आयातमा १८ प्रतिशत हिस्सा ओगटेको कृषिसम्बन्धीको आयातलाई घटाउन पनि सहयोग गर्छ । तेस्रो, कृषिक्षेत्रको विकासले घरघरमा स्वरोजगार सिर्जना हुनेछ, जसको कारण बर्सेनि ५ लाखको हाराहारीमा श्रमका लागि विदेश पलायन हुने दक्ष जनशक्ति आफ्नै देशमा परिचालन हुनेछन् । फलस्वरूप नेपालजस्तो अत्यन्तै कम गार्हस्थ्य उत्पादन भएको देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । यी समग्र कुराहरूलाई हेर्दा हाम्रो देशमा कृषिको विकास गर्नु अत्यन्तै अपरिहार्य रहेको छ ।

कृषिक्षेत्रको विकास कसरी गर्ने ?
सम्भावना रहेको कुनै पनि क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्नका लागि सो क्षेत्रको विकासको प्रक्रिया वा मार्गमा रहेका अवरोध तथा समस्याहरू र सोको समाधानका लागि राम्रो अध्ययन तथा विश्लेषण हुन जरुरी रहन्छ । यसरी गरिएको अनुसन्धनात्मक अध्ययनले कृषिक्षेत्रको विकासमा देखिने निम्न अवरोधहरू र सोका समाधानहरू निकाल्न सकिन्छ :
१. कृषि पेसालाई साधारण र मजबुरीको पेसाका रूपमा नभई सम्मानित पेसाको रूपमा परिणत हुन सक्ने मानसिकताको विकास गर्नुपर्छ, जसका कारण विदेश पलायन हुने युवापुस्ताले यो पेसालाई गर्वका साथ स्वीकार गर्ने वातावरण सिर्जना हुनेछ र युवापुस्ताले आफूलाई सफल कृषि उद्यमीको रूपमा स्थापित गर्न सक्नेछन् ।
२. कृषिक्षेत्रमा मुख्य तीन किसिमका समस्याहरू रहेका छन्— क) कृषिमा संस्थागत मूल्य श्रृंखलाको अभाव, ख) स्थानीय सम्भाव्यताका परियोजनाको अभाव र ग) बजारको माग तथा आपूर्तिबीच असन्तुलन ।
यी समस्याहरूको समाधानका लागि क्रमश: कृषि चक्रको विकास गर्नुपर्छ । स्थानीय निकाय, समुदाय तथा निजी क्षेत्रको बीचमा समन्वय तथा समझदारी हुनुपर्छ र बजारको मागअनुसार उत्पादन, भण्डारण तथा बजारीकरण व्यवस्था गर्नुपर्छ ।
यसरी माथि उल्लेख गरिएका उपायहरूलाई अवलम्बन गर्नका लागि पुँजीको आवश्यकता रहन्छ । यसका लागि हाल बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा लगानी भएको पुँजी पर्याप्त छैन । त्यसैले निजी क्षेत्रबाट पारदर्शी, मर्यादित, व्यवस्थित तथा व्यावसायिक लगानी भिœयाउन जरुरी देखिन्छ । तसर्थ, सोका लागि राज्यले यस्ता लगानीमैत्री नीति, प्रक्रिया तथा समन्वयका लागि इमानदार पहल गर्नुपर्छ । साथै, सहर केन्द्रित पुँजीलाई गाउँमा लैजाने र गाउँका उत्पादन सहरमा पुर्‍याउने पूर्वाधारको विकास गर्नु जरुरी छ ।

कृषिक्षेत्र विकासका लागि के गर्ने ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राज्यको वार्षिक बजेटअनुसार कार्ययोजना बनाएर विभिन्न नीति, कार्यविधि तथा कार्यक्रमअनुसार कार्यहरू सम्पादन भइरहेको अवस्था छ । यसैअनुरूप सो मन्त्रालयको सन् २०२०/०२१ को तथ्यांकअनुसार नेपालमा निम्नबमोजिमका कृषि उत्पादनहरू अद्यावधिक रहेको छ :
सि.नं. कृषि उत्पादनका प्रकार मेट्रिक टन
१. अनाज बाली (धान, मकै, गहुँ, जौ इत्यादि) ११.११ मिलियन
२. नगदे बाली (तेलहन, आलु, उखु, जुट इत्यादि) ६.८ मिलियन
३. दाल ३.९४ लाख
४. फलफूल तथा तरकारी ५.३ मिलियन
५. दूध उत्पादन २.४ मिलियन
६. मासु उत्पादन ५.२ लाख
७. अन्डा उत्पादन १.४ अर्ब गोटामा
माथिको तथ्यांकलाई नेपालको जनसंख्यासँग दाँज्दा नेपालमा खाद्यान्य संकट हुनुपर्ने अवस्था छैन । त्यस्तै कुल भूमिको जम्मा २१ प्रतिशत मात्र भूमिमा कृषि उब्जनी हुने तथ्यांकले हाम्रो देशमा अझै धेरै उत्पादन बढाउन सकिने सम्भावनालाई पनि नकार्न सकिँदैन । यसरी कृषिमा प्रचुर सम्भावनालाई यथार्थमा परिणत गर्न निम्नअनुसारका कार्ययोजना बनाई सम्पादन गर्नुपर्छ :
१. भूमिको वैज्ञानिक तथा इमानदार वर्गीकरण गरी प्रत्येक स्थानीय क्षेत्रमा सो क्षेत्रको प्रमुख कृषिबालीको थोक उत्पादन गर्नुपर्छ ।
२. कृषिमा उत्पादनपछिको व्यवस्थापन (पोस्ट हार्वेस्ट म्यानेजमेन्ट) का लागि संकलन, प्रशोधन, प्याकेजिङ तथा वेयरहाउजिङसम्बन्धी व्यवस्था गर्नुपर्छ ।
३. कृषि उत्पादनको उचित भण्डारण तथा बजारीकरणका लागि संस्थागत कृषि बजारको सञ्चालन गर्नुपर्छ ।
४. स्थानीय क्षेत्रमा माथि भनिएका कार्यहरू गर्न सार्वजनिक, निजी तथा समुदायिक साझेदारीको व्यावसायिक अभ्यास सुरु गर्नुपर्छ ।
५. कृषिमा बजारको मागअनुसार उत्पादन हुने प्रणालीको विकास गर्नुपर्छ ।
६. कृषकहरूको ग्रामीण समूह, व्यावसायिक फर्महरू तथा सोसँग सम्बन्धित सहकारी संस्थाहरूलाई कृषिसँग सम्बन्धित नयाँ दुई प्रविधि तथा अभ्यासहरूका बारेमा नियमित अभिमुखीमूलक तालिमहरू सञ्चालन गर्नुपर्छ ।
७. कृषिको उत्पादनलाई आवश्यकताका आधारमा उद्योगसँग जोड्ने व्यवस्था गर्र्र्नुपर्छ ।
८. कृषिमा युवालाई आकर्षित गर्न प्रविधिको उपयोग गर्ने तथा उद्यम केन्द्रहरूको स्थापना गरी कृषिमा युवा उद्यमीहरूको विकास गर्नुपर्छ ।
माथि उल्लिखित कार्यहरू सम्पादन गर्दा मुख्यत: (क) कृषकसँग जोडिएको उत्पादन र उत्पादकत्व वृद्धि, प्राविधिक प्रसार, कृषि उद्योग तथा बजारीकरण, (ख) उपभोक्तासँग जोडिएको गुणस्तरीय खाद्यान्न प्रवद्र्धन, खाद्य साक्षरता, बजार सूचना प्रणाली तथा उपभोक्ता हित संरक्षणका कार्यहरू सँगसँगै गर्न सकियो भने साँचो अर्थमा हाम्रो देश कृषिमा अत्मनिर्भर बन्न सक्नेछ ।
(लेखक मुक्तिनाथ विकास बैंकका सिइओ हुन् । यो लेख उनको व्यक्तिगत विचार हो ।)

प्रतिक्रिया दिनुहोस्