Logo

तीन अर्थविद्लाई अर्थशास्त्रको नोबल

तीन अर्थविद्ले यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार पाउने भएका छन् । बैंक तथा वित्तीय संकटबारे अनुसन्धान गरेका कारण रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रतर्फको नोबल पुरस्कार अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका पूर्व अध्यक्ष बेन बर्नान्केसहित डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो । यी तीन अर्थविद्ले वित्तीय संकटमा बैंकको भूमिकाबारे निकै महत्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको नोबल एकेडेमीको भनाइ छ ।
उनीहरूले बैंक तथा वित्तीय संस्थाको पतनले राज्यको अर्थतन्त्र कसरी धराशायी हुन्छ, बचतकर्ताको लगानीलाई कसरी सदुपयोग गर्ने, ऋणको व्यवस्थापन कसरी गर्ने, ऋणी डुबेको अवस्थामा के गर्ने, बैंकको सामाजिक कार्य के हुने लगायतका कैयौं अनुसन्धान गरेका थिए । बैंक तथा वित्तीय संस्था र आर्थिक मन्दीमा उनीहरुले गरेको कामलाई मूल्यांकन गर्दै सोमबार अर्थशास्त्रतर्फको नोबल पुरस्कारले सम्मान गर्ने घोषणा गरिएको हो ।
सन् १९८० को सुरुआतमा यी तीन विद्वानको समूहले गरेको कामलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले पहिचान गर्दै स्वीकार गरेको थियो । एकेडेमीका अनुसार यो समूहले गरेको कामले बैंकहरुको आवश्यक किन छ भन्नेबारे आधुनिक बुझाइको धरातल स्थापित गर्न सफल भएको छ ।
बेन बर्नान्केले सन् २००८ को आर्थिक मन्दीमा अमेरिकाको केन्द्रीय बैंकको नेतृत्व गरेका थिए । तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले नियुक्त गरेका बर्नान्केलाई त्यसपछि आएका राष्ट्रपति बाराक ओबामाले समेत निरन्तरता दिएका थिए ।
यसका साथै डग्लस युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्री हुन् भने फिलिप वासिङ्टन युनिभर्सिटीमा छन् । डग्लसलाई वित्तीय मध्यस्तता, वित्तीय संकट र तरलताको विशेषज्ञ मानिन्छ भने उनले १९८० मा येल युनिभर्सिटीबाट अर्थशास्त्रमै पीएचडी गरेका थिए ।
साथै, फिलिपले पनि येल युनिभर्सिटीबाटै अर्थशास्त्रमा स्नातकोत्तर र एमफिल गरेका थिए । उनले १९७९ मा येल युनभर्सिटिबाटै अर्थशास्त्रमा पिएचडी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्