केयरगिभरमा भने एक हजारभन्दा बढी इजरायल प्रवेश
इजरायलको कृषि क्षेत्रमा नेपाली लैजान अध्ययन टोली गठन

इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा श्रमिक लैजाने जनाएपछि नेपाल सरकारले त्यसका लागि अध्ययन कार्यदल गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारको तर्पmबाट नेपाली कृषि कामदार लैजाने भएपछि त्यसबारे अध्ययन गरी कार्यान्वयनको कार्ययोजना बनाउन टोली गठन गरेको हो ।
श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिनको कार्यप्रगति प्रस्तुत गर्दै केयरगिभर बाहेक कृषि क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर दिने बताए । इजरायलले हाल नेपालबाट १ हजार केयरगिभर लैजाने क्रम जारी राखिरहेका बेला कृषि क्षेत्रमा समेत थप १ हजार नेपाली लैजाने प्रतिबद्धता जनाएको छ ।
नेपालबाट १ हजारभन्दा बढी केयरगिभर माग गरिसकेको इजरायलले पछिल्लो समय नेपालबाट कृषि क्षेत्रका लागि समेत श्रमिक लैजाने भएको हो । हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत रहेका छन् । यसअघि केयरगिभरमा माग गरिएका मध्ये १ हजारभन्दा बढी नेपाली इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ ।
गत महिना श्रममन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच भएको भेटवार्तामा राजदूतले कृषि क्षेत्रमा समेत नेपालीलाई लैजाने तयारी भएको बताएका थिए । सो भेटघाटमा राजदूत गोदेर र मन्त्री कुँवरबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल समेत भएको थियो । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा चाँडै टुंगोमा पुगिने बताएका थिए ।
भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका रोजगारीका अवसरसहित अन्य प्रकारका सहयोगका लागि धन्यवाद दिएका थिए । साथै मन्त्री कुँवरले आगामी दिनमा इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए । मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुन: एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरेका थिए । अहिले धेरैभन्दा धेरै नेपाली रोजगारीका लागि इजरायल जान चाहेकाले छिटोभन्दा छिटो इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई मन्त्रीले अनुरोध गरेका थिए ।
यसअघि श्रम मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्य समूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको थियो । इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने प्रयोजनका लागि इजरायलले यसअघि नै द्विपक्षीय वार्ता र छलफलका लागि वार्ता टोली गठन गरिसकेको छ । टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिकजस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्ने जनाइएको छ ।