स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ ।
शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरूले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार नि:शुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण नि:शुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडो भन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए ।
उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिबार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरू र फोहोर भएका ठाउँहरू नष्ट गर्ने काममा लागेको बताए । उनले यसमा स्थनीय तह बढी क्रियाशील हुनुपर्ने बताए । मन्त्री खापुङले काठमाडौंमा महानगरलाई यसको जिम्मा दिए पनि अपेक्षाअनुसार काम नभएको जस्तो पाइएको बताए । उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे । संकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको बताए ।
त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभूति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने बताए । उनले डेंगुको महामारी अहिले बढिरहेकाले सरकारले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको बताए । उनले डेंगुको उपचार भइरहेको अस्पतालहरूमा डेंगुसम्बन्धी सम्पूर्ण उपचार नि:शुल्क हुनुपर्ने बताए ।
उहाँले जनतालाई प्रत्यक्ष रूपमा सरकार साथमा रहेको छ भन्ने भान दिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले सरकार विभिन्न बहानामा डेंगु नियन्त्रणबाट भाग्न नमिल्ने जिकिर गरे ।