हुलाक बचत बैंक पीडितले पाए जम्मा गरेको रकम

बझाङका हुलाक बचत बैंकबाट पीडितहरुले ३ वर्ष पछि आफ्नो जम्मा गरेको रकम पाउने भएका छन् । तत्कालिन जिल्ला हुलाक कार्यालयका प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताहरुमा साँवा नै गुम्ने चिन्ता थियो ।
आर्थिक वर्ष २०७०/०७१ बाट आफ्नो सेवा सुरु गरेको बचत बैंकमा बझाङ जिल्लाका होटल व्यवसायी, महिला समूह, विभिन्न सहकारी, विद्यालय र व्यक्तिगत गरी १ हजार ७ सय जना बचतकर्ताहरुले झण्डै ५ करोड बढी जम्मा गरेका थिए । तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको थियो । रकम हिनामिना भएपछि बचतकर्तामा साँवा गुम्छ कि भन्ने चिन्ता थियो ।
बचतकर्ताको बचत गरेको पैसा हुलाकको खातामा आइसकेको र केही दिनमै उनीहरुको खातामा जम्मा गरिने जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए । आर्थिक वर्ष २०७५/०७६ हिनामिना भएको साँवा ४ करोड ९५ लाख र हालसम्मको व्याजसहित ५ करोड ५९ लाख १४ हजार रुपैयाँ हुलाक कार्यालयमा आइसकेकोले दसंैपछि वितरण गरिने बोहराको भनाइ छ । हुलाक कार्यालयले एक सुचना जारी गर्दै बचतकर्तालाई चेकबुक, पासबुक, र खातावालाको नागरिकताको प्रतिलिपिसहित आउन अनुरोध गरेको छ ।
लामो समयपछि आफ्नो गुमेको रकम पाउने भएपछि बचतकर्ता खुसी भएका छन् । डडेलधुराको अमरगडी नगरपालिका–५ का शिवराज पन्त लामो समयदेखि बझाङ सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका छन् । होटलबाट भएको आम्दानीबाट बेलाबेला गरि ११ लाख बढी रकम हुलाक बचत बैंकमा जम्मा छ । पैसा पाउने खबर सुन्दा आफूलाई सपना जस्तै लागेको पन्तले बताए ।
जयपृथ्वी नगरपालिका–१० चैनपुरकी जानकी रोकाया पनि रकम पाउने भएपछि खुसी भएकी छन् । “दूध बेचेर जम्मा गरेको पैसा धन्न डुबेको । चेकबुक लिएर पैसा लैजान आउनु भन्ने खबर पाएकी छु” उनले भनिन् । उनी मात्र हैन बचत गरेको रकम पाउने भएपछि बचतकर्ताहरु परिश्रमको पैसा खेर जाँदैन भन्नेमा विश्वस्त छन् । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेको थियो । साथै बैंकमा जम्मा भएको रकम खातासहित बाणिज्य बैंकमा सारिने निर्णय गरेको थियो । तर बझाङ हुलाक बचत बैंकका बचतकर्ता भने बचत रकम नभएपछि साँवा गुम्ने चिन्तामा थिए ।
के हो रकम हिनामिना प्रकरण ?
आर्थिक वर्ष २०७०/०७१ मा हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेको थियो । तत्कालिन समयमा जिल्लामा कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकबाहेक अन्य बैंकहरु नभएको र आकर्षक ब्याज पाउने भएपछि बचतकर्ता हुलाक बचत बैंकतर्फ आकर्षित भए । सेवा सुचारु भएसँगै बचत बैंकमा बचतकर्ताको भीड लाग्न थाल्यो । हुलाक बचत बैंकले बझाङमा आफ्नो सेवा सुरु गरेकै वर्ष करिब एक करोड भन्दा बढी रकम जम्मा भयो । बचतकर्ताहरु बढेसँगै तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायको नजर बचतकर्ताको बचतमा पर्न थाल्यो ।
दुवै जना मिलेर कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको हो । बैंकले सेवा सुरु गरेकै पहिलो वर्षमा उनीहरुले झण्डै ७५ लाख रुपैयाँ अपचलन गरेको देखिन्छ । बचतकर्ताले जम्मा गरेको रकम हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने भएपनि दुवै जना मिलेर बाहिरका मानिसहरुसँग चर्को ब्याजमा लगाउने, घरजग्गा खरिद बिक्री गर्ने र बचतकर्ताहरु बचत फिर्ता वा ऋण माग्न बैंकमा आए व्यक्तिगत रुपमा खल्तीबाटै दिएर बैंक चलाउने गर्दै आएका थिए ।
कार्यालय प्रमुख र खरिदारको गैरकानुनी धन्दा थाहा पाएपछि बचतकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारमा उजुरी परेपछि अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले हुलाकका कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायमाथि प्रारम्भिक छानबिन गर्यो ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले हुलाक कार्यालयका प्रमुख र खरिदार दुबै जनाले बचतकर्ताले जम्मा रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने ठाउँमा कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले व्यापक अनियमितता भएको प्रतिवेदन अख्तियारमा पेस गरी सो सम्बन्धमा थप छानबिन गरी कारबाहीे अघि बढाउन पत्र पठायो ।
अख्तियारको टोलीले छानबिन गर्दा दुबै जनाले बचतकर्ताकोे ४ करोड ९५ लाख अनियमितता गरेको ठहर गरी कडायत र उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्यो । मुद्दा दर्ता भएपछि विशेष अदालतले २४ माघ २०७६ मा दुवै जनालाई नियन्त्रणमा लियो । तर अदालतले एक महिना नपुग्दै १२ फागुनमा गते कडायतसँग १५ लाख र उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो । अहिले दुवै जनाको मुद्दा अदालतमा विचाराधीन छ । आरोपित धरौटीमा छुटेको एक वर्षभन्दा बढी भयो । पाँच करोड भ्रष्टाचार गर्नेलाई २७ लाख धरौटी लिएर छोडेकोे विशेष अदालतको निर्णयप्रति बचतकर्ताहरु सन्तुष्ट छैनन् ।