शीतभण्डार सञ्चालनमा नआउँदा समस्या

‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेझंै भएको छ इलामको शीतभण्डार । निर्माण त भयो तर सञ्चालन भएन । किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गर्न नपाउँदा कागलाई बेलझैं भएको हो यो शीतभण्डार ।
इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु पर्दैन । तर, इलाममा निर्माण भएको शीतभण्डार प्रयोगविहीन हुँदा समस्या भएको हो । सदरमुकामनजिकै करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्ड स्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलपूmल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी मर्काका परेका हुन् ।
१० वर्षअघि निर्माण भएको शीतभण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा फलफूल तथा तरकारी बेच्नुपर्दा व्यावसायिक बन्नसमेत समस्या भएको किसानहरूको भनाइ छ ।
जिल्लामा निर्माण भएको एकमात्र शीतभण्डार सञ्चालनमा नआउँदा यहाँका किसान तथा व्यापारीलाई समस्या भएको हो । जिल्लामा उत्पादन भएका वस्तु भण्डारणका लागि जिल्लाबाहिर नै लैजानुपर्ने समस्या रहेको व्यवसायीहरूको भनाइ छ ।
जिल्लामा उत्पादन हुने सुन्तला, किबी, आलुलगायत धेरै खालका कृषि उपज उत्पादन भएकै समयमा मात्र कारोबार हुने गरेको छ । यसलाई सुरक्षित भण्डारण गरेर बेमौसममा बेच्न सके राम्रो मूल्य पाइने भए पनि भण्डारणको सुविधा नहुँदा समस्या भएको किसानहरूको भनाइ छ ।
इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम नगरपालिका–९ स्थित सेरामा १० वर्षअघि निर्माण भएको शीतभण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित नगदे बाली भण्डारणमा समस्या भएको हो । २ हजार टन क्षमताको कोल्डस्टोर निर्माण गरिए पनि प्रयोगविहीन हुँदा किसानका लागि सो शीतभण्डार हुनु र नहुनु एउटै भएको छ ।
इलाम बजारदेखि मुनि निर्माण भएको सो शीतभण्डार उचित स्थानमा निर्माण नभएको किसान दुर्योधन खत्रीको भनाइ छ । उनले धेरै तरकारी उब्जनी गरे पनि उचित स्थानमा भण्डारण गर्न नपाउँदा छिटो बिग्रिएर जाने समस्या भएको बताए ।
शीतभण्डार निर्माणका लागि भारत सरकारबाट ४ करोड ३९ लाख ३ हजार, नेपाल सरकारबाट ६७ लाख ५८ हजार र इलाम नगरपालिकाले ४३ लाख ५ हजार रुपैयाँ लगानी गरेको थियो । तर, कोल्डस्टोर निर्माण भएर सञ्चालनमा नआउँदा कृषकले उत्पादन गरेको अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको किसान उमाकान्त रिजालको भनाइ छ ।
यतिबेला इलामेलीहरू भारत र तराईका बजारबाट आयातित फलफूल तथा तरकारी उपभोग गर्न बाध्य भएका छन् । इलाममा किबीसहित विभिन्न किसिमका फलफूल र तरकारी उत्पादन हुने गरेको छ । तर, निर्माण सम्पन्न कोल्ड भण्डार अहिलेसम्म प्रयोगविहीन अवस्थामै छ । शीतभण्डारको रेखदेखका लागि नगरपालिकाले एक जना चौकीदार राखेको छ ।
नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि पटक–पटक ठेक्का आवाह्न गरेको थियो । तर, अझै सञ्चालनमा आउन सकेको छैन । अहिले यो सञ्चालनमा नआउँदा त्यहाँ जडान गरिएका उपकरणमा समेत खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । इलाम नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामकुमार साहले पटक–पटक नगरपालिकाले पहल गरे पनि सञ्चालन हुन नसकेको बताए । उनले माथिल्लो निकायमा सञ्चालनका लागि पहल गरेको भए पनि सञ्चालन हुन नसकेको स्वीकार गरे ।
संरचना निर्माण हुँदै सञ्चालन नहुने हो भने विदेशी सहयोग नै किन नहोस्, बालुवामा पानीजस्तै हुने गरेको छ । सो शीतभण्डार सञ्चालन हुन सके किसानहरूले उत्पादन गर्ने वस्तुहरूले समेत राम्रो मूल्य पाउने थिए । तर, भण्डारणमा बाहरी जिल्ला लैजाँदा ढुवानीसमेत बढ्ने भएकाले पछिल्लो समय व्यवसायीले समेत बाहिर लैजान छोडेका छन् । बढी झन्झट भएका कारण बाहिर लैजान छोडिएको व्यवसायीहरूको भनाइ छ ।
यसरी राज्यको करोडौं रुपैयाँ लगानी गरेर निर्माण भएका यस्ता संरचना सञ्चालनमा नल्याउनु दुर्भाग्य हो । राजनीतिक स्वार्थका लागि संरचना बनाउन उद्घाटन, शिलान्यास गर्न तँछाडमछाड गर्ने तर फेरि यस्ता संरचनाको बारेमा चासो नराख्दा कैयौं संरचना अलपत्र पर्ने गरेका छन् । यसको सम्भाव्यता अध्ययन नगरी प्राविधिक रूपमा र उचित स्थानको छनोट नगरी ठूला योजना फसाएर पनि सञ्चालन नगर्नु कमजोरी हो । यस्तो कार्य किन र केका लागि हुन्छन् । यस शीतभण्डारलाई सञ्चालनका लागि राज्यका आँखा जान जरुरी भएको जिल्लाका किसान तथा व्यापारीहरूको भनाइ छ ।