Logo

शंखरापुरमा नि:शुल्क स्वास्थ्य शिक्षा

काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिको एक सय दिने उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका हुन् ।
सय दिनको अवधिमा नगरवासीलाई नि:शुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनको भनाइ छ । गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि नि:शुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी सात प्रकारका उपचार सेवा नि:शुल्क तथा ११ वटा उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको जानकारी गराएका छन् । इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रम लागू गरिएको र मेयरसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरिएको उनले जानकारी गराए ।
यस्तै शिक्षातर्फ कक्षा ११ को शिक्षा नि:शुल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।
सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतको सामूहिक प्रयासबाट मात्रै शंखरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास सम्भव रहेको बताए ।
यस्तै नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिकालाई फोहोरमुक्त सफा स्वच्छ नगरपालिका बनाउन, पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरबासीको जीवनयापन सहज बनाउन लागिपरेको बताए । उनले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार नि:शुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम कार्यान्वयनमा लगिसकेको जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्